आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: ०३:४२ | UK Time: 22:57

मेरो बुझाइमा विदेशको नेपाली समुदाय

वीनेपाली
२०७३ पुष १५ गते ११:४९

bhawan-bhatta

म त्यति लेख्ने मान्छे त होइन। तर, कहिलेकाँही घुम्दै गर्दा अनि बुझ्दै गर्दा मनमा केही कुरा खेल्छन् र लेखुँ लेखुँ लाग्छ।

गैर आवासीय नेपाली संघको सक्रिय परिवारका रुपमा देश बिदेश घुम्दै जाँदा देखिएका विषय बस्तुलाई यसो कोर्न खोज्छु तर समय अभावले दिदैन। गोरखाको तान्द्राङमा जन्मे पनि मेरो कर्मक्षेत्र यतिखेर जापान हो। हुन त नेपालीहरु रहरले विदेशिएका होइनन्, बाध्यता र मौकाको खोजीमा बिदेशिनु परेको तीतो यथार्थ हामीसामू छर्लङ्ग नै छ।

जन्मेको ठाउँ र हुर्केको गाउँ छाडेर बिदेशीने रहर कसैलाई हुँदैन। उच्च अध्ययन, गतिलो आम्दानी र ब्यवस्थित जीवनशैलीले पनि कतिपय युवालाई विदेशीन आकर्षित गरेको हामी पाउँछौं।

फरक ठाउँको फरक बिशेषता छन्, कमाइ र बसाइका पनि फरक पाटा छन् अनि प्रवासका पनि थुप्रै गाथा छन्। एनआरएन अभियानमा लाग्दै गर्दा केही यस्तै अनुभव बटुलेपछि यसो सेयर गर्न मन लागेको हो।

पछिल्लो भ्रमणका रूपमा अस्ट्रेलियाको सिड्नी, मेलवर्न, ब्रिसबेन अनि गोल्डकोस्ट घुम्ने मौका पाइयो। नेपाली समाज बाक्लिदै गर्दा अस्ट्रेलियामा लाखको हाराहारीमा नेपाली रहेको जानकारी पाउँदा अच्चमित लाग्यो। मेलवर्न महोत्सवमा मात्र दश हजारभन्दा बढी नेपालीको प्रत्यक्ष सहभागिताले मलाई थप उत्साहित बनायो।

प्रवासमा हाम्रो समाज

अस्ट्रेलिया र अमेरिकामा विद्यार्थीको जीवनशैली निकै संघर्षशिल देखेँ। काम, फी र पढाइले थिच्ने गरेको कारण पनि उनीहरु ब्यस्त रहने देखियो। पढाइ सकेर स्थायित्वतर्फ लम्केपछि भने उनीहरूको जीवनशैली हेर्न लायक रहने विश्वास गरिँदो रहेछ। अमेरिका, अस्ट्रेलिया, युरोप अनि जापान, कोरियामा रहेका नेपाली दाजुभाइहरुको स्थिति केही बलियो हुने गरेको मैले पाएको छु।

पेशाले ब्यापारी भएको कारण पनि मैले सम्भावना र मौकाहरूका बारेमा चासो राख्ने गरेको छु। जापानको रेस्टुरेन्ट ब्यवशायले सिकाएका कयैन पाठहरूले मलाई अनुभवी बनाएको हो की भन्ने भान गरेको छु। यतिखेर एनआरएन परिवारमा एकातिर विकसित र सभ्रान्त मुलुकमा पेशा गर्ने नेपाली दाजुभाइ र अर्कोतिर अरब र मलेसियामा राजेगारीमा पुगेका हाम्रा लाखौ नेपाली श्रमिक दाजुभाइहरु रहनुभएको छ।

यस पटक अस्ट्रेलिया भ्रमणमा मैले केही फरक अनुभूती बोकेर फर्केको छु। कुनै पनि देश विकास निमार्णमा राज्यको भूमिकासँगै नागरिकको दायित्व पनि कति महत्वपूर्ण हुन्छ भन्ने अनुभूती भयो। कानुनी राज्यको पालना, नीति निमार्णमा नागरिकको पहुँच अनि राजनीतिमा नैतिकता । यी सबै विकास निमार्णका आधार रहेछन्।

वातावरण र परिस्थितिबस कतिपय पौरखी हातहरू बिदेशीनु स्वभाविक होलान्। तर, प्रवासमा बसेर नेपाली राजनीति र नेतालाई धारे हात लाउने परम्पराले मात्र देश अगाडि बढ्दैन। होला केही गलत परिपाटी अनि खराब राजनीतिक निर्णयले मुलुक निमार्णमा ढिलाइ भयो । यसलाई सुधार गर्ने वा आफूले सिकेको र जानेको ज्ञानलाई मुलुकको विकासमा थोरै भए पनि समपर्ण गर्ने हाम्रो दायित्व बन्नुपर्छ जस्तो लागेको छ।

अहिले जापानसँगै नेपालमा फैलिएको मेरो ब्यापारले नेपाल सरकारलाई तीस करोड भन्दा माथि राजस्व तिरेको छ। यसलाई मैले मुलुकको कर्मका रूपमा लिएको छु।

राम्रा पढने, उच्च अंक ल्याउने, पहिलो रोजाइका सबै युवा बिदेशीन थालेपछि मुलुक थेग्ने चाहिं कसले। कर्मभूमी फेरिन सक्ला तर जन्मभूमी फेरिन सक्दैन, यस कारण पनि मुलुक निमार्णमा प्रवासी नेपालीको दायित्व महत्वपूर्ण रहन्छ कि भन्ने मैले ठानेको छु। मुलुक संकटमा पर्दा जुरुक्कै उठ्ने प्रवासी नेपाली समाज सांच्चिकै एकतामा बाधिएको छ।

अनेकताभित्र पनि मुलुकलाई पर्दा एकाकार हुने हाम्रो समाज लोभलाग्दो मात्र होइन, सांच्चिकै तारिफयोग्य छ।

सांच्चिकै अब प्रवासमा बसेर सिकेको ज्ञान र शिपलाई अलिकति भए पनि मुलुकको हितमा लगाउने दिन आएको महसुस मैले गरेको छुँ। हामीसँग डाक्टर, इन्जिनियर, प्राध्यापक, विशेषज्ञ अनि थुप्रै थुप्रै ज्ञाताहरु बिदेशमा छरिएर बसेको मैले देखेको छुँ। अफ्रिकामा उद्योग बसाउनेदेखि अस्ट्रेलियामा सडक बनाउनेसम्म, अमेरिकामा रकेट उडाउनेदेखि अरबको बगरमा फूल फुलाउनेसम्म हाम्रै दाजुभाइ
भेटेको, देखेको अनि सुनेको छु ।

अब एक पटक सबै मिलेर आफूले सिकेको ज्ञानलाई थोरै भए पनि मुलुकको हितमा लगाउने बेला आएको छ। यसो गर्दा प्रवासीको मन पनि जितिएला अनि नेपालीपन पनि कायमै रहला।

इमानदारीतासाथ समाजसेवामा अहोरात्र खट्ने हाम्रा प्रवासी अभियन्तालाई मनैदेखि सलाम गर्न चाहन्छु। प्रवासीको मनमा बसेमात्र स्वदेशी तनहरुमा सेवा गर्ने मौका पाइएला। पैसै ठूलो कुरो होइन, तपाईँले दिने समय र सदभाव अनि नेपाली र नेपालीको पहिचाननै हाम्रा लागि महत्वपूर्ण गहना हुन्।

(एनआरएनए उपाध्यक्ष भट्टको यस लेख सेतोपाटीबाट साभार गरिएको हो)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक