हालै मेरो नेपाल भ्रमणको बेला देशको अवस्था प्रत्यक्ष नियाल्ने अवसर अरु पाएँ । आफ्नो देशमा रहंदा स्वभाबिकरुपमा उत्साह बढेपनि देशको वास्तविक परिबेशमा डुबुल्की मारी हेर्दा अनिश्चिता तथा गरिबीको रापले झन् बढी धेरैलाई पोलेको देख्दा मन हतोत्साहित नै भयो । आकासिदो मुल्यबृद्धि, कालोबजारी, भ्रष्टाचार, स्वार्थको राजनीति, कानुनको बेथिति, पहुँचवालाको लागि मात्र अवसर आदिले गर्दा नेपाल एक असफल राष्ट्र तर्फ धकलिदै गएको हो कि भन्ने जस्तो भान लाग्दछ ।
भौतिक संरचनामा खास बिकास हुन नसकेको, शिक्षा र स्वास्थ्यमा धेरै बिकृति तथा अबिश्वास र महंगी, राजनीतिले मन्त्रि बनाउने फ्याक्ट्रीको बिकास मात्र गरेको, चुलिदो ब्यापार घाटा, युवा बर्गको विदेश भासिनु पर्ने बाध्यता आदिले अधिकांश मानिसको जनजीबन बाँच्नको लागि नै संघर्ष गर्नुपरेको छदैछ । यतिका बर्ष सुन्दै आएको माक्स्रवाद र समाजवादको रटानले सामान्य मानिसलाई गरिबीबाद र पलायनबादमा धकलेको यथार्थता कसैको सामु लुकेको छैन । तैपनि मानिसमा आशाको बिउ जागृत छ, विस्मृतिको बिचमा पनि खुशी भेटिन्छन् ।
निजी क्षेत्रमा जति बिकास सह्रानीय रुपमा भएको छ, त्यसले नै अहिले सम्म जेनतेन धानिरहेको छ । रेमिटेन्सले धन्न नेपालको अर्थतन्त्रको ढुकढुकी बचाइराखेको छ । तर, यहि रेमिटेन्सको भरमा मात्रै परेर देशको आर्थिक उन्नति चाहे अनुसार हुन सक्ने नसक्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
रेमिटेन्सको कुरा
रेमिटेन्सको अर्थ आप्रबासीहरुले आफ्नो देशमा आफ्ना परिवारजनहरुलाई पठाउने सामान या पैसा हो । धेरै गरिब मुलुकहरुमा रेमिटेन्सले अर्थतन्त्रको मेरुदण्डको रुपमा योगदान पुर्याइरहेको छ । रेमिटेन्सको रकमले दैनिक खर्च लगायत बालबच्चाको पढाइ, स्वास्थ्य लगायत सानोतिनो ब्यापार ब्यबसाय गरि आफ्ना आवश्यकता परिपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
बिश्व बैंकको तथ्यांक अनुसार सन् १९९६ देखि २००४ सालको अबधिमा गरिबी ४२ प्रतिशतबाट घटेर ३१ प्रतिशतमा झार्नुको मुख्य कारण रेमिटेन्स हो । त्यसैले रेमिटेन्सले कुल घरको आम्दानी बढाएपछि उपभोग पनि बढ्ने हुनाले रेमिटेन्सले गरिबी कम गर्नुको साथै जीवनस्तरमा पनि सुधार हुने बिश्वाश धेरैको छ ।
धेरै बैंक तथा वित्तीय सँस्थाहरुले बिदेशी पूंजी बढाउनको लागि रेमिटेन्सको भर पर्दछन् । रेमिटेन्स अरु भन्दा स्थायी पूंजी प्रबाह हुने मानिन्छ । बिदेशी मुद्राको ठुलो श्रोत, राष्ट्रिय आम्दानी बढाउने, वित्तीय आयात र भुक्तानीमा सन्तुलन राख्न रेमिटेन्सले अहम भूमिका खेल्दछ । जसलेगर्दा कुल ग्रहास्थ उत्पादनको (जीडीपी) वृद्धि हुन्छ ।
रेमिटेन्सको इतिहास
रेमिटेन्स भनेको कुनै नौलो कुरा होइन । धेरै युरोपियन देशहरु जस्तै स्पेन, इटाली, आयरल्याण्ड आदि उन्नाइसौं तथा बिसौ शताब्दीमा आफ्ना आप्रबासीहरुले पठाएको रेमिटेन्समा धेरै निर्भर हुन्थे । सन् १९४६ मा स्पेनको २१ प्रतिशत आम्दानि रेमिटेन्सबाट थियो । यी देशहरुले रेमिटेन्स सम्बन्धि नीतिहरूको बिकास प्रारम्भ गरे । रेमिटेन्सको सम्रक्षणको लागि संसारमा पहिलो नियम सन् १९०१ मा बनाउने देश इटाली हो भने सन् १९६० मा अर्जेन्टिनासंग रेमिटेन्स पाउने खर्च कम गरि सन्धि गर्ने देश स्पेन हो । सन् २००० देखि संसारभर रेमिटेन्स धेरै बढेको छ । सन् २०१२ मा ५२९ अरब अमेरिकी डलर रेमिटेन्सको भएकोमा १३० अरब अमेरिको डलर चीन तथा भारतमा मात्रै पठाईएको तथ्यांक छ ।
सेप्टेम्बर २००८ मा विश्व बैंकले पहिलो अन्तर्राष्ट्रिय रेमिटेन्स मूल्यको तथ्यांक राख्न शुरु गरको हो । यसले संसारका दुइसय भन्दा बढी मुलुकमा पठाइने र लिइने रेमिटेन्सको आंकडा राख्छ ।
रेमिटेन्सको नकारात्मक प्रभाब
कामदार बाहिरिदा देशभित्र श्रमिकको कमि हुन्छ । खास विनिमय दरमा अभिमुल्यन हुन्छ । जसलेगर्दा अर्थतन्त्र अन्तर्राष्ट्रिय रुपमा कम प्रतिष्पर्धि हुन्छ । रेमिटेन्सको कारणले पर निर्भरता बढेपछि रेमिटेन्स पाउनेलाइ काम गर्ने उत्साह कम हुनुको साथै देशको समग्र आर्थिक वृद्धि दरको कम हुन्छ । यसको अलावा परिवारसंगको बिछोड, शोषण, काममा जोखिम जस्ता मानवीय मूल्य र मान्यतामा पनि विदेशिने कामदारले मूल्य चुकाउनुपर्ने हुनसक्छ ।
खासमा रेमिटेन्सबाट ठूलो लगानी नहुने हुदा प्रतिपुरक (क्षतिपुरक) स्वभावको हुन्छ । रेमिटेन्सको धेरै रकम अबैध रुपबाट पठाइने हुनाले तथ्यांकहरु सहि नहुने पनि हुन्छ ।
रेमिटेन्सले अर्थतन्त्रमा सहयोग गर्न असफल हुने र अर्थतन्त्रको सुधार गर्ने कार्यलाई घटाउछ भन्ने बिश्वाश केहि अर्थशास्त्रीहरूको छ । आश्रितको लागि पठाइने रकमको प्रबाह भ्रामक हुने र कामगर्ने उमेरको जनसंख्या अरु पलायन हुन उत्साहित गर्दछ । धेरै श्रम देशबाट बाहिरिए पछि देशमा रहेका बाँकी अविश्वसनीय श्रमकोलागि सरकार या बिदेशी लगानीकर्ताहरुको लगानी कम हुन्छ ।
नेपालमा रेमिटेन्स
हाल नेपालमा करिब ६ खर्ब रुपैया रेमिटेन्स भित्रिने गरेको छ जुन देशको कुल ग्राहस्थ उत्पादनको (जीडीपी ) करिब २९ प्रतिशत हो । रेमिटेन्स पठाउने सबै कानुनी माध्यम नहुने हुनाले कुल रकम यो भन्दा धेरै हुने र साधारण नियम अनुसार अधिकारिक तथ्यांक भन्दा चालीस प्रतिशत थप्नु पर्ने हुन्छ ।
विश्व बैंकको तथ्यांक अनुसार नेपालमा चरम गरिबी प्रतिशत ७० बाट पच्चीसमा गत पन्ध्र बर्षमा घटेको छ । तर श्रमिकको द्रुत पलायनले सामाजिक रुममा खासगरी नेपालको ग्रामीणक्षेत्रमा ठुलो असर गरिरहेको छ ।
गर्न सकिने कुराहरु
नेपालमा रेमिटेन्स पठाउने माध्यम कानुनीरुपमा अरु ससक्त बनाउने कार्य गर्नुको साथै यसको लागि हुने कानुनी जटिलता सरल बनाउनु पर्दछ । नेपालमा नै देशमा रोजगार तथा उद्यमशिलता बढाउने कार्यहरुमा लगानी प्रबर्धन बढाउनु पर्छ । विदेश रोजगारीको लागि जाने श्रमिककोलागि उपयुक्त नियम कानुन बनाइ उनीहरुलाई शोषण हुनबाट बन्द गराउनु पर्छ । साना लगानीको अबसरहरुको सिर्जना गरि रेमिटेन्स पाउने मानिसहरुको निर्भरता कम गर्न पनि पहल गर्नु अत्यावश्यक हुन्छ ।
अन्तर्राष्ट्रिय कुल पूंजी प्रवाहमा रेमिटेन्सको बढ्दै आइरहेको अहिलेको परिबेशमा रेमिटेन्सले देशको अर्थतन्त्र बृद्दीको लागि प्रत्यक्ष या अप्रत्यक्षरुपमा पार्ने भूमिकाको बारे धेरै अध्ययन भएको खास छैन । जुन देशमा आर्थिक प्रणालीहरु कम बिकशित भइ पुंजी लगानी र तरलताको कमीलाई हटाउन सहयोग गर्ने विकल्पहरु हुनेमा रेमिटेन्सले वृद्धि बढाउने कार्य भएको कुरा सन् १९८० देखि २००४ सम्ममा ३७ वटा अफ्रिकी देशहरुमा गरिएको अध्ययनले देखाएको छ ।
रेमिटेन्स र आर्थिक वृद्धि
आधि शताब्दी अघि देखि कम बिकशित मुलुकहरुमा आर्थिक वृद्धिको श्रोत बारे धेरै बहस हुदै आएको छ । जनशक्ति देखि पूंजीको लगानी, प्रबिधि बिकास, बिदेशी सहयोग, बिदेशी सिधा लगानी, मानब पूंजीमा लगानी, लगानीको आम्दानी बढाउन नयाँ बिचारको साथै अनुसन्धान र बिकास आदि आर्थिक वृद्धि बढाउने उपायहरु मानिन्छ । यसको अलावा राजनीतिक स्वतन्त्रता, राजनीतिक अस्थिरता, आर्थिक वृद्धि र बिकासको लागि आवाज र उत्तरदायित्व जस्ता कुराहरु पनि अर्थतन्त्रको बिकासको लागि महत्वपूर्ण मानिन्छ ।
रेमिटेन्स र आर्थिक वृद्धिको कुरा गर्दा प्रायशः फिलिपिन्सको उदाहरण दिइन्छ । चीन र भारत पछि सबैभन्दा धेरै रेमिटेन्स पाउने देश फिलिपिन्स हो । सन् २०१५ करिब २९ अरब ६० करोड अमेरिकी डलर बराबरको रेमिटेन्स पुगेको तथ्यांक छ । चालीस बर्षभन्दा बढीको इतिहास रेमिटेन्सको भएको फिलिपिन्समा जुन अनुपातमा रेमिटेन्स जान्छ, त्यसले नै आर्थिक बिकास सोचेअनुसार हुन नसक्नुको तर्क धेरै विज्ञहरुको छ ।
राजनीतिक अस्तव्यस्तता, दुरदर्शी नेतृत्वको अभाब तथा उचित आर्थिक तथा बिकास नीति नभएर यसरी धेरै नेपालीको विदेश तर्फ लाग्नु बाध्यता भइ देश बिकास हुन नसकेको तथ्य हाम्रो सामु छदैछ ।
नेपालको सन्दर्भमा अहिले रेमिटेन्सले अर्थतन्त्र बचाइराखेको छ । तर, रेमिटेन्सको भरले मात्र बस्दा उही फिलिपिन्सको अवस्थामा पुगिने यथार्थता बुझ्नु जरुरी हुन्छ । नेपाल जस्तो विकासशील देशमा हरेक क्षेत्रमा बिकास हुनुपर्ने आवश्यकता छ । राजनीतिक स्थायीत्व, आ-आफ्नो उत्तरदायित्वको बोध, सबल नेतृत्व, दक्ष जनशक्तिको बिकास गरि देशमा नै रोजगारको सिर्जना गरेर श्रम पलायनलाई रोकी त्यसको सदुपयोग गर्न सके नेपालले सोचे अनुरुप आर्थिक उन्नति गर्न सक्नेछ ।
(लेखक आचार्य अर्थ व्यवस्थापनका जानकार हुन् )
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु