राजनीति भन्नाले सामान्यतया कुनै दर्शनअनुसार सरकार र देश संचालनको लागि नीति, रणनीति, नियम र कानून बनाउने र शासन संचालनको प्रक्रिया निर्धारण गर्ने भन्ने बुझिन्छ । यी कुराहरु राज्य संचालनको लागि मुलभूत कुरा हुन् । आज विश्वका हरेक मुलुकमा कुनै न कुनै रुपमा कुनै न कुनै दर्शन सरकार संचालन गर्ने राजनीतिक दलको दर्शनको रुपमा होस् वा अरु कुनै रुपमा जानी वा नजानी लागु भएका छन् ।
राजनीतिको कुरा गर्ने बित्तिकै शक्ति, श्रोत र साधनको बाँडफाँड, अधिकारको प्रत्यायोजन, उत्तरदायित्व, कर्तव्यको अनुभूति, निर्णय गर्ने क्षमता र पारदर्शिता जस्ता कुराहरुलाई बिशेष रुपमा जोड दिने गरिन्छ । तसर्थ, मैले यो लेखमा यी कुराहरु कसरी व्यक्ति, परिवार र समाजको लागि झन् महत्वपूर्ण रुपमा लागु हुन्छन् र हामी कसरी राजनीतिभन्दा टाढा भाग्न सक्दैनौ भन्ने कुराको चर्चा गर्ने जमर्को गर्दैछु ।
जसरी राज्य संचालनमा शक्ति, श्रोत र साधनको सही बाँडफाँड र उपयोग निकै महत्वपूर्ण मानिन्छ, त्यसरी नै घरपरिवार संचालनको लागि पनि यी कुराहरु सबैको लागि सही र उपयुक्त किसिमले गर्नु पर्ने हुन्छ । शासन संचालनमा जत्तिकै घर संचालनमा पनि घरमुली र हरेक परिवारले आफ्नो शक्ति, अधिकार, काम र कर्तव्यलाई राम्रोसँग बुझ्नु पर्छ र सोहीअनुरुप ब्यबहारमा उतार्नु पर्छ । हाम्रो अधिकारसँगै कर्तब्य पनि आउँछ र अधिकारको माग गर्दा आफ्नो कर्तब्य भुल्नु हुँदैन भन्ने साश्वत सत्यलाई सबैले पालना पनि गर्नुपर्छ ।
हामी व्यक्तिको रुपमा घर संचालनमा मात्रै हैन, एउटा राज्यको नागरिकको रुपमा सरकार वा राज्य संचालनको कुरामा पनि धेरैजसो अधिकारको कुरा गर्छौ तर आफ्नो कर्ताब्यपालनाको कुरा भने बिरलै गर्ने गर्छौ । कुनै पनि देश बनाउने जिम्मा सरकारको र जनप्रतिनिधिको त हुन्छ नै, तर कुनै न कुनै रुपमा त्यो देशका हरेक नागरिकको पनि केही न केही भूमिका हुन्छ । भोट दिने र सही जनप्रतिनिधि चुन्ने, समाजमा भईरहेका अन्याय, असमानता र हरेक समस्याको बारेमा आवाज उठाउने, आफ्नो परिवार र समाज बनाउनको लागि कुनै न कुनै योगदान दिने जिम्मा हरेक नागरिकको हो ।
जनप्रतिनिधिको कुरा मात्रै हैन, सबैको हकमा पहिला हरेक व्यक्ति आफू असल मानिस हुनु जरुरी छ । असल मानिसले नै आफ्नो घरपरिवार संचालन गर्न र समाज सुधार गर्न सकारात्मक रुपमा सहयोग गर्छ । जब हरेक परिवार र समाजमा समस्याहरु कम हुन्छन वा हरेक परिवार र समाज ठीक किसिमले संचालन हुन्छ, अनि रास्ट्र बिकास गर्ने कुरा पनि सहज हुन्छ ।
जसरी घरपरिवार संचालन गर्न पनि परिवारको जेष्ठ नागरिकको नेतृत्वदायी भूमिका, चुस्त व्यपस्थापन, सही समयमा सही निर्णय गर्ने क्षमता, सबैसँग सरसल्लाह तथा परामर्श र सबैको सहयोग उत्तिकै चाहिन्छ, त्यसरी नै सरकार र रास्ट्र पनि सही रुपमा संचालन हुने हो । आखिर परिवार चलाउने, समाज हाँक्ने र देश बनाउने कुराको मुलभूत आदर्श र सिद्धान्त उस्तै उस्तै हो । व्यक्ति, परिवार, समाज र देश सबै निकाय संचालनको लागि पनि कुशल नेतृत्व, श्रोत र साधनको सही उपयोग, पारदर्शिता, चुस्त ब्यबस्थापन आदि जस्ता कुरा जरुरी हुन्छ । व्यक्तिदेखि सरकारसम्म सबैको सफलताको मन्त्र कठोर परिश्रम, अनुशासन, नीति र नियमको पालना, सहकार्य, पारदर्शिता, उत्प्रेरणा आदि नै हुन् ।
पारदर्शिताको कुरा गर्ने हो भने सरकार र जनप्रतिनिधिले मात्रै हैन हरेक व्यक्ति र संघसंस्थाले आफ्नो ब्यबहार पारदर्शी बनाउन जरुरी छ । धेरै जसो मानिसको ब्यबहार आफू कसरी कम कर तिर्ने र राज्यबाट कसरी धेरैभन्दा धेरै सहुलियत लिने भन्नेमा केन्द्रित हुन्छ । त्यति मात्रै हैन जो मानिसहरु कसरी सकेसम्म कमभन्दा कम कर तिर्न अनेक उपाय लगाउँछन् तिनै व्यक्तिहरु जनप्रतिनिधि र सरकार पारदर्शी भएन भन्ने गुनासो राख्न पनि पछि पर्दैनन् । सबैले सरकार र जनप्रतिनिधिको ब्यबहार पारदर्शिता खोज्नु स्वभाविक हो । तर त्यसो भन्दैमा कोही पनि आफू अपारदर्शी हुन मिल्दैन र कुनै पनि व्यक्ति समाजमा आफ्नो कर्तब्यबाट बिमुख हुन मिल्दैन । कर अरुको लागि मात्रै हैन आफ्नो र समाजको लागि पनि तिर्ने गरिन्छ भन्ने कुरा हामी धेरैजसोले भुल्ने गर्छौ । देश विकासलाई एक्लो रुपमा हेर्न मिल्दैन र देश विकासको कुरा हरेक कुरा जस्तै व्यक्ति, परिवार र समाजसँग पनि जोडिएको हुन्छ ।
राजनीति राज्य संचालनको लागि सबैको लागि मार्गदर्शन हो । जनप्रतिनिधि जनताको मताधिकार मार्फत शक्ति र अधिकार प्राप्त गर्छन र देश संचालन गर्छन् । त्यसैले लोकतन्त्रमा राज्यको सबै अधिकार र शक्तिको श्रोत जनता नै हुन् । जनता भनेको म, तपाई र हामी सबै हो । हामी सबै असल र योग्य हुने हो भने मात्रै हामी असल जनप्रतिनिधि छान्न सक्छौ । आफू कत्तिको असल र योग्य हुने भन्ने कुरा हामी र हाम्रो ब्यबहारमा पनि फरक पर्ने कुरा हो । सबैभन्दा पहिला हरेक व्यक्तिमा राजनीतिक, सामाजिक र आर्थिक चेतना आउनु जरुरी छ । त्यसका लागि राज्यको भूमिका मात्रै हैन, व्यक्ति, परिवार र हाम्रो समाज सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । अन्त्यमा, आफू भलो त जगत भलो ।
अर्कोतर्फ, कुनै पनि देशको राजनीतिक ब्यबस्था र नेतृत्व सफल हुने हो भने त्यो देश सजिलै बिकास हुन्छ । आर्थिक बिकास हुन्छ । सामाजिक र राजनीतिक चेतनाको पनि बिकास हुन्छ । फलस्वरूप, हरेक व्यक्ति र समाजको पनि स्वत: उन्नति र प्रगति हुन्छ । व्यक्ति र समाजको उन्नतिको लागि राज्यको भूमिका निकै ठूलो हुन्छ । कोही आफू जति अग्रसर भए पनि देशमा राम्रो शिक्षा, स्वास्थ्य, पूर्वाधार, बाटोघाटो, यातायात आदिको ब्यबस्था छैन भने खासै ठूलो उन्नति र प्रगति गर्न सक्ने अवस्था हुँदैन । त्यसैले पनि कुनै व्यक्ति, परिवार र समाजको उन्नति र प्रगतिको लागि सफल राजनीतिक ब्यबस्था, कुशल राजनीतिक नेतृत्व र प्रभावकारी राज्यसंयन्त्रको जरुरत हुन्छ । अनि मात्रै हरेक व्यक्ति, परिवार र समाजलाई प्रगति र उन्नति गर्ने असवर दिन सकिन्छ ।
त्यसैले राजनीति भनेको माथिबाट लादिने कुरा मात्रै हैन । तलको जनस्तरदेखि माथि सरकारसम्म र माथि सरकारदेखि जनस्तरसम्म दोहोरो रुपमा हेर्नु पर्ने कुरा हो जस्तो लाग्छ मलाई । जसरी देश बिकासको लागि सरकार र राज्यको उल्लेखनीय भूमिका हुन्छ, त्यसरी नै हरेक व्यक्ति, परिवार र समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । अस्तु ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी