लन्डन । मनोरन्जनका क्षेत्रमा बेलायती समुदायमाझ परिचित सपन इन्टरटेन्मेन्ट लिमिटेडले यस पटक विल्कुल पृथक कार्यक्रम गर्ने तयारी गरेको छ । उक्त कम्पनीले आगामी २७ नोभेम्बरका दिन ग्रुप डान्स कम्पिटिसन ‘यूके डान्स अफ’ गर्न लागेको हो । शनिबार लन्डनस्थित गोर्खा स्पाइस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सपन इन्टरटेन्मेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईले उक्त जानकारी दिएका हुन् । उक्त कम्पनीले सन् २००८ मा यस्तै नाच प्रतियोगिता ‘ट्यालेन्ट हट’ आयोजना गरेको थियो । झण्डै ८ वर्षपछि अझ परिष्कृत, परिमार्जित र तयारीका साथ वृहत स्तरमा प्रतियोगिता गर्न लागिएको राईले बताए । यस पटक उनलाई साथ दिएकी छन् नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राईले । राई उक्त प्रतियोगिताको निर्णायक र इभेन्ट एम्बासडर हुनेछिन् ।
प्रतियोगितामा भाग लिन ग्रुपमा कम्तीमा ३ जना हुनुपर्ने, केटा वा केटी मिक्स हुन सक्ने, दुईटा नाच अनिवार्य प्रस्तुत गर्नुपर्ने र त्यसमध्ये एउटा ट्रेडिसनल र अर्को मोर्डन नाच अनिवार्य गरिएको इभेन्ट एम्बासडर रिनासा राईले पत्रकार सम्मेलनमा जनाइन् । सन् २००७ देखि म्यूजिक भिडियो र त्यसको एकवर्षपछि ००८ देखि नेपाली चलचित्रमा निरन्तर कोरियोग्राफी गर्न थालेकी राईले प्रतियोगिता डान्समै करिअर बनाउनेका लागि कोशेढुंगा हुने बताइन् । उनका भनाइमा बेलायतमा रहेका नेपाली युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य प्रतियोगिताको छ ।
आयोजकले अक्टोबर ३० सम्म नाम दर्ताको समयसीमा तोकेका छन् । नोभेम्बर १३ मा अडिसन र फिनाले २७ नोभेम्बर सांझ सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने सपन राईले जानकारी दिए ।
प्रतियोगिताको संयोजन निशा गुरुङले गर्नेछिन् भने प्रमुख सल्लाहकारहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ र डा. कपिल रिजाल रहने छन् । कानुनी सल्लाहकारमा सोलिसिटर राजु थापालाई तोकिएको छ । प्रमुख प्रायोजक रहनेछन् गोर्खा सेफका कमल गुरुङ र पुनम गुरुङ तथा प्रायोजकमा बिरा केयर होम्सका वी पी खनाल, माइकल युसर, ज्ञाम गुरुङ र किशोर थापा छन् । औपचारिक घोषणा अघि नै धेरैले प्रतियोगिताप्रति चासो देखाएका र प्रायोजक भेटिएकाले बडो उत्साहित छन् सपन ।
प्रतियोगितामा विजयी हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ । सपन राईले प्रथम हुने टिमलाई एकहजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुने टिमलाई ५ सय पाउण्ड पुरस्कार साथै म्यूजिक भिडियो वा चलचित्रमा अवसर दिइने जनाए । प्रायोजक बढि आए पुरस्कारको राशी अरु बढ्ने बताइएको छ । विजेतालाई डान्स परफर्मरका रुपमा नेपाल वा युरोप लैजान सकिने पनि राईले बताए । १८ वर्ष उमेर माथिका पुरुष वा महिलाले प्रतियोगितामा भाग लिन सक्ने क्राइटेरिया छ । आयोजकले दर्ता शुल्क जम्मा ५० पाउण्ड तोकेका छन् ।
वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले स्वागत गरेको उक्त कार्यक्रममा प्रतियोगिताका प्रमुख सल्लाहकार सूर्य गुरुङले यसमा सफलताका लागि सबैको साथ जरुरी रहेको बताए ।
सबै तस्विरः वीरेन्द्र श्रेष्ठ
इच्छुक नृत्यांगनाले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन्ः
Sapan Entertainment Ltd,
Contact no: 07428765997
or drop us an email into : [email protected]
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण