सानफ्रान्सिस्कोको प्रतिष्ठित वारफिल्ड थिएटरमा नेपथ्य

nepathya-in-sf-08

सानफ्रान्सिस्को । यो थिएटरको निर्माण सन् १९२० ताका गरिएको थियो । त्यो मुक सिनेमाको जमाना थियो र आवाज नआउने त्यस्ता फिल्महरु देखाउनका निम्ति यसलाई तयार पारिएको थियो । पछि त्यसै हललाई कला प्रस्तुतीको मञ्चका रुपमा विकास गरियो । चार्ली च्याप्लीनदेखि रविन विलियम्ससम्म थुप्रै विख्यात कलाकारहरुले यस मञ्चमा आफूलाई प्रस्तुत गरे । त्यसैगरि कार्लोस सान्तानाविल्ली आइडलडेभिड बवीदेखि लिएर गन्स एण्ड रोजेज्’ सम्मका एक से एक विश्वप्रसिद्ध नामहरुले यो मञ्चबाटै क्यालिफोर्नियाका दर्शकहरुको साँगीतिक तृष्णा मेट्दै आए । यस्ता अनेक हस्तीहरुको उपस्थितीले परिपक्व पहिचानमा उभिँदै आएको सहरकै यो पुरानो प्रेक्षालय आफैँमा संगीतप्रेमीहरुको तीर्थस्थल’ बन्दै आएको छ । त्यही ओजपूर्ण मञ्चमा नेपथ्यले अक्टोबर १ तारिखका दिन आफूलाई प्रस्तुत गर्दा यहाँ बसोबास गर्दैआएका नेपाली र वे एरियाका अन्य वासिन्दाका निम्ति फेरि एउटा अविष्मरणीय साँझ बन्न सफल भएको छ । स्थानका महत्वको हिसाबले स्वयं नेपाली संगीतकै निम्ति यो एउटा माइलस्टोन’ पनि बन्न पुगेको थियो ।

 ‘संगीत र थिएटरका विश्वमै अग्ला हस्तीहरु उभिएको यसै मञ्चमा मैले पनि टेक्ने अवसर पाउँदा अनुगृहित महशुस गरिरहेको छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘म यो महत्वलाई नेपथ्यका श्रोतादर्शक र सिंगो नेपाली साँगीतिक क्षेत्रप्रति समर्पित गर्दै आफुलाई प्रस्तुत गर्न गइरहेको छु ।’ गुरुङले यस किसिमको आयोजना र दर्शक सहभागीताका निम्ति सबैलाई धन्यवाद पनि दिएका थिए । कार्यक्रम थाल्नुअघि उनले सबैमा बडादशैंको शुभकामना प्रकट गरे । तपाइँहरु आआफ्ना जे उद्देश्य लिएर आउनुभएको छ त्यस उद्देश्यमा सफल हुनुहोस्,’ उनले थपे, ‘पुरा नभएका सपनाहरु छन् भने पनि माता दुर्गाले मार्ग प्रशस्त गरिदिउन् ।

गुरुङले यति भनिसक्नेबित्तिकै हलमा हिउँ पर्न थाल्यो । हिउँको वर्षासँगै चिरपरिचित धुन गुञ्जिएपछि दर्शक उत्तेजित भएका थिए । भेँडाको ऊनजस्तोभेँडाको ऊनजस्तो…’ मञ्चमा रहेका अमृत र मञ्चबाहिर रहेका दर्शकले एक स्वरमा यो गीत गाउन सुरुगरेका थिए ।

दशैं सुरुभइसकेको क्षण यति पर दर्शकसामु उपस्थित भइरहेका अमृत यस गीतको लगत्तै केहि समय मौन बसे र फेरि बोल्न थाले । तपाईहरुकै मायाले डो¥याएर ल्याएको हो नत्र म यतिबेला मेरो घरमेरी आमा र मेरो देसको साथमा हुने थिएँ,’ उनी भनिरहेका थिए, ‘तपाईहरु पनि जतासुकै पुगेपनि आफ्नो जरोआफ्नो थातथलो र देसलाई कहिल्यै नबिर्सिदिनु होला ।

वे एरियामा बस्दै आएका वासिन्दाहरुको निम्ति नेपथ्य कन्सर्ट आफैमा दशैंको अवसर पारेर भेटघाटको मौका पनि बनेको थियो । सानफ्रान्सिस्कोभन्दा पर परदेखि लामो यात्रा गरेर आएकाहरुको पनि त्यहाँ उल्लेख्य उपस्थिती थियो। त्यसैमध्येकी थिइन्सेक्रिमेन्टोदेखि दुइ घन्टा यात्रागरेर आइपुगेकी रोज श्रेष्ठ ।

यो मेरो पहिलो नेपाली कन्सर्ट थियो,’ रोजले भनिन्, ‘मैले आजसम्म हेरेका थुप्रै कन्सर्टहरु मध्ये सर्वाधिक प्रिय बनेको तीनवटामा आजको नेपथ्य कन्सर्ट पनि अटाउँछ ।

यति महत्वपूर्ण स्थानमा लगातार दुई घन्टासम्म दर्शकलाई एकतमासले बाँध्न अमृत र उनको नेपथ्य ब्याण्ड सफल भएको उनी बताइरहेकी थिइन् ।

रोजको मात्र के कुरा त्यहाँ त अझ लामो यात्रा अर्थात् १० घन्टा सान डिएगोदेखि कार चलाएर आएका गोपाल र मनिता योगीको जोडि पनि उपस्थित थियो ।

कार्यक्रम हेर्ने सहि अठोट लिएकोमा अहिले खुशी लागिरहेको छ,’ मनिता भनिरहेकी थिइन्, ‘हामी नेपालीहरुलाई संगीतका माध्यमले यस्तरी एकताको सुत्रमा बाँधिदिन्छ कि नेपथ्य ब्याण्डलाई एकपटक मात्र सुनेर धितै मर्दैन ।

कतिपय दर्शक परिवार लिएर आएका थिए भने कतिपय साथीभाइसँगको हुलै बाँधेर कार्यक्रमस्थलमा उपस्थित थिए । परिवारै लिएर आउनेमध्येका एक सुरेश ओझा पनि थिए ।

अमेरिकामा बसोबास गर्दैआएको दोश्रो पुस्ता र सिलिकन भ्यालीमा इन्जिनियर रहेका सुरेशले आफ्नो सम्पूर्ण परिवारलाई नेपथ्य कन्सर्टमा सहभागी गराएका थिए ।

नेपालीहरुमाझ एकताको आव्हान गर्ने गजब प्रस्तुती देख्न पायौं,’ सुरेश भनिरहेका थिए, ‘अमेरिकामा जन्मेहुर्केका केटाकेटीको निम्ति उनीहरुको मुलुकसँग सुलभ ढंगले जोडिदिने संभवतः यो पहिलो व्यवस्थित कन्सर्ट थियो ।

सुरेशले यति भन्दाभन्दै उनका १० वर्षे छोरा सुजय ओझाले पनि आफ्नो तर्फबाट केहि थप्न खोजे । अमृत अंकलले मनैबाट गाउनुभएको थियो,’ उनी भनिरहेका थिए, ‘हल भित्र साथमा गाउँदै र नाच्दै गर्दा को को नचिनिएका मानिस पनि आफ्नै परिवारको जस्तो लागिरहेको थियो।

तीनवटा फरक नेपाली पुस्ता एउटै हलभित्र अटाएर एक साथ गीत गाउँदै र नृत्य गर्दै रमाइरहेको दुर्लभ दृश्यले पनि कार्यक्रमलाई विशेष’ बनाएको सहभागीहरु बताइरहेका थिए । यसरी कार्यक्रमभरि रमाएका उनीहरु कन्सर्ट सकिएपछि हलबाट बाहिरिँदा पनि समूह समूहमा नेपथ्यका गीतहरु चर्को स्वरमा गाइरहेका देखिन्थे ।

नेपथ्यले कार्यक्रममा आफ्ना सर्वकालीक हिट गीतहरुका साथै पछिल्लो समय तयार पारिएका रामा रामा’, ‘कोशीको पानी’ र हामी नेपाली’ सुनाएको थियो । पुरै दुइघन्टासम्म दर्शकलाई बाँधेर राखेका अमृतले बीच बीचमा नेपालमा अहिले भइरहेका गतिविधिबाट आफूलाई पर नराख्न दर्शकलाई अनुरोध पनि गरेका थिए । एक सातादेखि फेरि अनशनमा बसेका डा. गोविन्द केसीको लडाईमा संसारभरि छरिएका नेपालीको साथ आवश्यक रहेको उनले औंल्याए ।

यो कन्सर्ट सफल पार्नु म र मेरो टिमको निम्ति सपना र चूनौति दुवै थियो,’ आयोजक मध्येका राजकुमार गुरुङले भने, ‘यो साँझलाई अविष्मरणीय बनाउनेगरि सहभागीता जनाइदिनुभएका बे एरियाका सम्पूर्ण श्रोता दर्शकलाई धन्यवाद दिन चाहन्छु ।

सानफ्रान्सिस्कोको प्रस्तुतीसँगै नेपथ्य अब घर फर्किँदैछ । मेरा साथीहरु छिट्टै घर पुगेर परिवारको साथ दशैं मनाउन आतुर छन्,’ अमृतले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री