
चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर केन्द्रका रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
उहाँको सम्मानमा आज अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
अस्पतालको समस्याका बारेमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूलाई अवगत गराइसकेको भन्दै प्रधानमन्त्री दाहालले जनताको सेवामा कति पनि विचलित नभई काम गर्न निर्देशन दिनुभयो ।
क्यान्सर उपचारका लागि केन्द्रीय अस्पतालका रुपमा रहेको यस अस्पतालले नेपाल, भारत र भुटानका बिरामीलाई सेवा दिँदै आएको सुन्दा आफू खुसी भएको भन्दै उहाँले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिइनुपर्ने बताउनुभयो ।
अस्पतालको व्यवस्थापनमा कमीकमजोरी भएको भए पनि बिग्रिनसकेको भन्दै उहाँले सबैले मिलेर सङ्कल्प र मिहनत गरी अस्पताललाई उचाइमा पुरयाउनुपर्ने बताउनुभयो । नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्ने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
अस्पतालमा उपकरण पुराना हुँदा उपचारमा समस्या आएको भन्दै यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिदिन उहाँले आग्रह गर्नुभयो ।
क्यान्सर अस्पतालमा हाल ५२ जना विशेषज्ञसहित ५७९ जना कर्मचारी कार्यरत रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
प्रधानमन्त्री दाहालले अस्पतालका सम्पूर्ण विभागमा पुगी त्यहाँ रहेका बिरामी र तिनका आफन्तसँग कुराकानी गर्नुभएको थियो । उनीहरूले प्रधानमन्त्रीसँग अस्पतालको उपचार सेवामा ढिलासुस्ती हुने गरेको गुनासो गरेका थिए ।
क्यान्सर उपचारका लागि केन्द्रीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा भारत र भुटानका बिरामी समेत उपचारका लागि आउने गर्दछन् ।
प्रधानमन्त्रीद्वारा कार्यालय प्रमुखहरूलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका काम छिटो छरितो ढङ्गबाट सम्पादन गर्न जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । ‘‘नेपालमा अपारदर्शी, ढिलासुस्तीको प्रवृत्ति बढेकाले यसलाई सुधार गर्नु आवश्यक छ’’ उहाँले भन्नुभयो ।
पुँजीगत खर्च बढाउनु पर्ने बताउँदै आयोजना समयमै सम्पन्न गर्न पनि उहाँको निर्देशन थियो । प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्य र जनतालाई सेवा सुविधा दिन कर्मचारी इमान्दारीपूर्वक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “जनता र विकासका पक्षमा उदाहरणीय काम गर्नुहोस्, त्यसबाट जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् ।” राजनीतिले निर्देशन गर्ने र प्रशासनले कार्यान्वयन गर्ने हो भने देश र जनताको पक्षमा उल्लेखनीय काम हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले कर्मचारीतन्त्रमा दण्ड र पुरस्कारको व्यवस्था लागू गरी राम्रो काम गर्नेलाई प्रोत्साहन र खराब गर्नेलाई कारबाही गर्ने प्रथाको विकास गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?