लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी (आरजिएनएस), नेपलिज नर्सिङ एसोसिएसन यूके र नेपलिज डक्टर्स एसोसिएसन यूकेको संयुक्त आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम भएको छ ।
आवासीय अधिकार लिएका विशेष गरि अंग्रेजी राम्ररी बोल्न नजान्ने नेपाली वृद्धवृद्धाको स्वास्थ्य जांच र उनीहरुलाई सूसुचित गराउने उद्देश्यले उलवीच टाउन हलमा शिविर गरिएको हो । शिविरमा नेपालबाट घुम्न आएका वृद्धवृद्धालाई पनि जांचिएको थियो ।
बिहान दश देखि अपरान्ह ४ बजेसम्म गरिएको शिविरमा १५ जना नेपाली नर्स र त्यति नै संख्यामा चिकित्सक सहभागी थिए । चिकित्सकहरुको संयोजन डा. एन्जल मगरले गरेका थिए ।
एसोसिएसन आवद्ध नर्सहरुले बीएमआइ, डेन्टल चेकअप, ब्लडप्रेसर, ब्लड सुगर लगायत स्वास्थ्य जांच गरे । शिविरमा अल्ट्रासाउण्ड मेसिन समेत ल्याएर जांच गरिएको थियो । बाहिर स्वास्थ्य जांच भइरहंदा हलमा जनचेतना कार्यक्रम पनि भइरहेको थियो । शिविरमा युवा र वृद्धवृद्धा गरि झण्डै साढे तीन सय सहभागी भएको आयोजकमध्ये एक आरजिएनएस अध्यक्ष कुमार श्रेष्ठले जनाए ।
नर्सहरुको संयोजन गरेकी एसोसिएसन अध्यक्ष सुशिला कार्कीले उपचार नगरि बसेका वृद्धवृद्धाको दयनीय अवस्था देखेर उनीहरु लन्डन होइन हुम्ला जुम्लातिरबाट आएका जस्तो अनुभव भएको बताइन् । ‘शिविर धेरै प्रभावकारी भयो’, कार्कीले भनिन्, ‘लन्डनमा निशुल्क स्वास्थ्योपचार हुने ठाउंमा पनि नेपाली वृद्ध बा आमा रोग पालेर बसेको पाउंदा मेरो मनै पग्लियो ।’
शिविरमा डक्टर्स एसोसिएसन अध्यक्ष डा. बीना सुब्बाले पाठेघर क्यान्सर र महिला रोगबारे, डा. निश्चल बैद्य र डा. रचयिता लामिछानेले दन्त स्वास्थ्य र दन्त सेवा कसरी लिने भन्नेबारे, डा. लक्ष्मण पौडेलले वृद्धवृद्धाहरुमा ह्दयरोग र यसको रोकथाम, डा. मोहन थापाले पेट, डा. सुधीर लोहनीले दम रोग तथा डा. चुडा कार्कीले मानसिक स्वास्थ्यबारे जानकारी दिए । कार्डियोलोजिष्ट डा. लक्ष्मण पौडेल, फिजिसियन डा. सुधीर लोहनी, जिपी डक्टर डा. सुमिन्द्रा पुन, डा. मोहन पुनका साथै दन्त चिकित्सकले पनि विभिन्न रोग र रोकथामसम्वन्धि पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए । शिविरका अवसरमा रेखा खरेल, बासु लामिछाने लगायतले विभिन्न रोगसम्वन्धि जानकारी दिए । वृद्धवृद्धालाई एनएचएस सेवा र फार्मेसीबाट कसरी औषधि उपलव्ध हुन्छ भन्ने समेत अवगत गराइएको थियो ।
कार्यक्रममा काउन्सिलकी एसोसिएट डाइरेक्टर (पब्लिक हेल्थ) ज्याकी डेभिडसनले स्वास्थ्य क्षेत्रमा नेपालीलाई कसरी सहयोग गर्न सक्छ र काउन्सिलको दायित्व के भन्नेबारे बताएकी थिइन् । उनको अंग्रेजी भाषणलाई फत्त थापाले अनुवाद गरेका थिए । कार्यक्रममा काउन्सिलर म्याथू म्यारो, आरजिएनएस अध्यक्ष कुमार श्रेष्ठ, कार्यक्रम संयोजक एवं आरजिएनएसका उपाध्यक्ष देबेन्द्र श्रेष्ठ, आरजिएनएसका प्रमुख सल्लाहकार एलएन पाण्डेले सोसाइटीका गतिविधिबारे बताए ।
कार्यक्रममा हरि गोविन्द गुरुङले धन्यवाद मन्तव्य र हेल्थ एण्ड सेफ्टीबारे कोषाध्यक्ष ह्यारी गुरुङले अवगत गराएका थिए । अर्क तिमिल्सना र सेविका जिसीले सञ्चालन गरेको उक्त कार्यक्रमलाई आफ्नो, स्किल्स एण्ड केयर लगायत संस्थाले पनि सहयोग गरेका थिए ।
शिविरमा ग्रीनवीच मेयर, काउन्सिलर र स्थानीय जनप्रतिनिधि समेत उपस्थित थिए । अन्त्यमा ग्रीनवीच मेयरले चिकित्सक, नर्सहरुलाई योगदानको कदर गर्दै सर्टिफिकेट प्रदान गरेका थिए ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा