ओली सरकारले ऐतिहासिक काम गरेको एमाले जिकिर

UML office

काठमाडौँ, ५ भदौ । नेकपा (एमाले) स्थायी समितिको बैठकले अत्यन्तै प्रतिकूल परिस्थितिमा पार्टीको नेतृत्वमा गठन भएको सरकारले संविधानको कार्यान्वयनसहित मुलुकको चौतर्फी समृद्धिका लागि ऐतिहासिक काम गरेको निष्कर्ष निकालेको छ ।

गत साउन ३० गतेदेखि निरन्तर चलिरहेको एमाले स्थायी कमिटीको पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीको नेतृत्वमा बनेको नौमहिने सरकारले संविधान कार्यान्वयनसहित लोकतान्त्रिक प्रक्रियाको कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण गर्ने काम गरेको निष्कर्ष निकालेको हो ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको पृष्ठभूमिदेखि नै आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार बन्न नदिन देशभित्र र बाहिरबाट अनेक षड्यन्त्र भएपनि त्यसलाइ चिर्दै अघि बढ्न सफल भएको बताउनुभयो ।

“नौ महिनाको अवधिभित्र नेपाली जनतामा सकारात्मक आशावादिता सिर्जना गर्न सरकार सफल रह्यो, नेपाल राष्ट्र र नेपाली जनताका हितमा दुरगामी महत्वका फैसला गरयौँ, नीति, कार्यक्रम र बजेटमार्फत राष्ट्रको दीर्घकालीन गन्तव्यको तस्बिर जनसमक्ष प्रस्तुत
गरयाँै”– अध्यक्ष ओलीले भन्नुभयो ।

राष्ट्रिय स्वाभिमान, मुलुकको आत्मनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनाउन निवर्तमान सरकार सफल भएको भन्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ शिराबाट माथि उठाउँदै नेपाल राष्ट्रलाई विश्वमा चौतर्फी सम्बन्ध कायम गर्नसक्ने हैसियतमा पु¥याउने काम गरेको बताउनुभयो ।

“एमाले नेतृत्वको सरकारले नेपाल राष्ट्र, नेपाली जनता र पार्टीको इज्जत र प्रतिष्ठालाई युगौँयुगसम्म सम्झन लायक हुने ढङ्गले माथि उठाएकोमा सिङ्गो पार्टी गर्वबोध गर्दछ”– अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले गत वैशाख महिनामा सरकारको समीकरण बदल्ने र मुलुकलाई अनिश्चयतिर धकेल्ने कोसिस भएको र सो समयमा पार्टीको एकताबद्ध प्रयत्नबाट असफल बनाई नेकपा (माओवादी केन्द्र) सँग ‘नौबुँदे समझदारी’ कायम गर्दै समीकरणलाई रणनीतिक महत्वकासाथ अघि बढाउने सामूहिक सङ्कल्प गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले देशभित्र र बाहिरका षड्यन्त्र समाप्त भने नभएको हुँदा उनीहरुले फेरि षड्यन्त्र र दाउपेचलाई निरन्तरता दिइरहेको भन्दै थप्नुभयो, “माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्र महत्वकाङ्क्षा, अवसरवादजस्ता पक्षले उक्त षड्यन्त्रलाई थप बल प्रदान गरयो ।”

बैठकमा पार्टी अध्यक्ष ओलीले आफ्नो नौमहिने सरकारको कार्यकालमा वैदेशिक सम्बन्ध, विशेषगरी छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्धलगायतका विषयमा ऐतिहासिक काम गरेको कुरा उल्लेख गर्नुभयो ।

बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका राजनीतिक दलको संलग्नतामा निर्माण भएको विगतको सत्ता समीकरण र अहिलेको नयाँ सत्ता समीकरणलगायतका विषयमा स्थायी कमिटीका सदस्यले विचार तथा जिज्ञासा राख्नुभएको थियो ।

बैठकमा विगत कामको समीक्षा, पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवन सुदृढ बनाउने विषयमा छलफल भएको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकले नयाँ सत्तासमीकरणको नेतृत्वकर्ता दलको गतिविधि र नियतले मुलुकमा राजनीतिक र संवैधानिक रिक्तता उत्पन्न हुने खतरा पैदा भइरहेकाप्रति सचेत हुँदै संविधानको कार्यान्वयन गर्दै लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन पूर्वसरकारले प्रस्तुत गरेको मिति र समयमा तहगत निर्वाचन सम्पन्न गर्न र यसका निम्ति आवश्यक कानुनी, प्रशासनिक तथा भौतिक तयारीमा जुट्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटको निरन्तरता र कार्यान्वयनका लागि वर्तमान सरकारको ध्यानाकर्षण गर्दै सरकारकातर्फबाट हुने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ताको दुरुपयोगप्रति कडा निगरानी गर्ने निर्णय गरेको छ । साथै, यिनै विषयवस्तुलाई अघि सार्दै देशव्यापी पार्टी परिचालनको कार्ययोजना अघि सार्ने निर्णयसमेत गरेको छ ।

मुलुकको वर्तमान विषम परिस्थितिलाई ख्याल गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधानको कार्यान्वयनलगायतका विषयमा एकताबद्ध पहलकदमीका निम्ति सबै राजनीतिक दल र सम्बद्ध सबैमा बैठकले आह्वान गरेको छ ।

पार्टीले सैद्धान्तिक रुपमा संविधानको संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्ने तर, राष्ट्र र जनताका विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने कुरा बैठकले स्पष्ट गरेको छ ।

पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित र चाहना तथा आकाङ्क्षालाई आत्मसात् गर्दै स्थायी कमिटीकोे बैठकले छबुँदे सङ्कल्प तथा निर्देशनसमेत जारी गरेको छ ।

त्यसमा पार्टीका संस्थागत निर्णयलाई कार्यान्वयन गर्दै वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिने, विधि, नीति र पद्धतिलाई अनुसरण गर्दै योग्यता, क्षमता र योगदानका आधारमा कामको जिम्मेवारी दिने रहेको छ ।

त्यस्तै, पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयको तदारुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा गर्ने एवम् पार्टीको प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र सङ्गठनका बैठकमा पार्टी विधान र नियमअनुरुप यथोचित रुपमा छलफल गर्ने रहेको छ ।

कुनै पनि नेता, कार्यकर्ता र सदस्यलाई कुनैपनि प्रकारको पूर्वाग्रह वा पक्षधरताका आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमान्दारिताका आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने, कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचन प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमान्दारिताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने सङ्कल्प तथा निर्देशन रहेको छ ।

साथै, सम्पूर्णरुपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानका पक्षमा दृढतापूर्वक उभिँदै पार्टीलाई गतिशील र सक्रिय बनाउने प्रतिबद्धतासहित बैठक सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री