राजनेताको छवी छाडेर गए ओली

oli
हुन त व्यक्तिका अनेकौं कमजोरी हुन्छन् तैपनि कमजोरीका वाबजुद निवर्तमान प्रधानमन्त्रीको राष्ट्रवादी गुणलाई आजसम्मका अन्य प्रधानमन्त्रीको भन्दा अब्बल मान्नु पर्छ । कमजोरी कसको हुंदैन । हुंदाहुंदै पनि मैले लोकतान्त्रिक शक्ति त यस्तो हुनुपर्छ भनेर अमुक पार्टीले अंगालेको पद्धतिमा अलिक बढि विश्वास 
गर्ने गर्थें । अमुक पार्टी तुलनात्मक रुपमा बढि प्रजातान्त्रिक छ भन्ने गर्थें । कांग्रेस, कम्युनिस्टहरु, 
राजावादी जस्ता वादमा मुलुक र मुलुकवासी बांडिएको मन नपर्दा नपर्दै पनि कहीं कतै पार्टी र ब्यक्तिका बारेमा वहस गर्नु पर्दा अमुक पार्टीकै पक्षमा वहस गर्ने गर्छु अझै पनि । किनभने उसले विगतदेखि आगत सम्म अंगाल्ने लोकतान्त्रिक पद्धतिमा कहीं कतै पनि शंका गर्ने ठाउं छैन् भन्ने विश्वास म मा छ र उ त्यसका लागि लडेको पनि छ । यति हुंदा हुंदै पनि किन किन केपी ओलीले लिएका अडान र देखेका सपना मन पर्न थालेको थियो मलाई । उनको उखान टुक्का र विपक्षीलाई कटाक्ष गरेर बोल्ने बानी भने पटक्कै मन परेन । 
प्रधानमन्त्री हुन, भएपछि टिकिरहन, अन्तिमसम्म राज्य 
संयन्त्रको कति दुरुपयोग गरे त्यो छुट्टै वहसको विषय छ । सत्तामा टिक्न कसले कति के के गरे विगतमा भन्ने विषयले पनि प्रवेश पाउला, तर त्यो भन्दा पनि मुलुकप्रति को कत्तिको इमान्दार रहेछ त भन्ने कुरा मुख्य हुन्छ ।

सपना देख्नु पर्छ भन्नेमा म पनि सहमत छु । सपना देख्नै पर्छ, नदेखि विपनामा यसो गर्ने उसो गर्ने भन्न सकिंदैन । 
सम्भव सपना देख्नु पर्छ र ओलीले देखेका सपना सम्भव थिए । त्यही सपना यस भन्दा अघिका प्रधानमन्त्रीले पनि त देख्न हुन्थ्यो नि, खै त देखेको ? कमसे कम सपना देखेर, यति चाहिं गर्न सकिन्छ है भनेर त गए के पी ओली । आफ्नै भूमिभित्र यूरेनियम जस्तो बहुमूल्य धातुको अनमोल खजाना नदेख्ने हामी, भलै ढिलो देखिन्थ्यो होला तर देखाएर गए ओली । बेवास्ता र बेपर्वाहको टालोले आंखा छोपेर बसेका हामी, कमसेकम दक्षिणको हावा नलाग्दै रहेका हाम्रै आंखा अघि युरेनियमको खानी रहेछ है हेर सबै जनाले भनेर बताएर गए । महाभारत पर्वत श्रृंखलामा फलाम खानी पनि रहेछ, अब हामी हाम्रा कुटा कोदाला, हलो, फाली हाम्रै देशको फलामबाट बनाउन सक्छौ, अरुको भर पर्नु नपर्ने भो भनेर फलाम उत्खनन हुने भो भनेको सुनेर मन फुरुङ्ग भएको थियो । सियोमा समेत परजिवी हामीलाई यस्तो समाचारले खुशी बनाएको थियो । त्यति मात्र हैन झन्डै आधा शताब्दी अगाडि नै छिमेकीको दवावमा पूर्वी पहाडमा पेट्रोल उत्खनन गर्दा गर्दै यूरोप देखि गएका उत्खननकर्ताहरु बन्द गरेर हिंडे रे भन्दा कंसरी तातेका थिए । तर, अब शुरू हुन लाग्यो आफैं खोज गर्छौं, हामी पनि यूरोपमा जस्तै घरघरमा पाइपबाटै खाना पकाउने ग्यांस किन नजोडने ? यी र यस्ता पेट्रोल खानीका समाचारले, सपनाहरु देख्न थालेका थियौं, तर अब थाहा छैन, यस्तो सपना देख्ने सपनालाई पूरा गर्ने कोही नायक अब मुलुकमा छन् कि छैनन् । अब त यी सपनाहरु पनि टुट्छ कि भन्ने पिर लाग्न थालेको छ ।

माधव रेग्मी

माधव रेग्मी

के पी ओली आंफैमा मान्छे लहडी हुन् तर भए पनि मुलुकलाई यस्तो बनाउनु पर्छ भनेर राम्रो सपना देख्ने नेता भने रहेछन् । गर्न सक्नु नसक्नु त्यो त्यसपछिको कुरा हो । मैले छिमेकी दूतलाई उसको हैसियत सम्झाएको र नेपालको समस्या आफंै समाधान गर्छौं, मधेस नेपाल हो त्यहांका जनता नेपाली हुन् र उनीहरुसंग कसरी के गर्न सकिन्छ हामी आफंै गर्न सक्छौं भनेर सिंहदरबारबाट खबर पठाउने हिम्मत गरेको पनि देखें । ओली भन्दा पहिले पहिलेका (सुशील कोइराला बाहेक) कसरी प्रभु शरणम गर्थे त्यो पनि देखियो । त्यस्ता विस्तारबादीहरुलाई कडा आवाजमा तिमी तिम्रो काम गर हामीलाई हाम्रो काम गर्न देऊ भनेको सुन्दा मेरो यो छाती ढक्क फुलेको थियो । पहिलो पटक म पनि सार्वभौम देशको नागरिक हुं भन्ने लागेको थियो । गर्वले शीर ठाडो भएको थियो ।

तर, खै अब यो ठडिएको शिरलाई झुक्न नदिने कोही नेता छन् कि छैनन् भन्ने लाग्न थालेको छ ।
हामी सबै नेपालीले नाकाबन्दी सहेर भए पनि साथ दिएका थियौं । बरु भोकै बस्यौं तर बिस्तारवादीहरुका अगाडि घुंडा नटेक, आफ्नो स्वाभिमानलाई बन्धकी नराख भन्यौं । तिमीले भनेको मान्यौं । त्यतिबेला हिम्मत आएको थियो तिम्रा धेरै कुराहरु, तिम्रो पार्टीका विचारहरु मन नपरे पनि तिम्रा सपना र कल्पनाहरु मन पर्न थालेका थिए । तर, आज अफसोच तिमी त अब गयौं रे भनेको सुन्दा, बिस्तारबादीहरुको शिकंजा फेरी मातृभूमिमा गड्न लागेको छ भन्ने सुन्दा लाजले र पिरले मेरो शिर झुकेको छ । थाहा छैन फेरी ठाडो हुने हो कि होइन । अरु केहि नभए पनि तिमीले अब आउनेहरुलाई एउटा पाठ सिकाएर भने गएका छौ । तिम्रो सरकार ढाल्दै गर्दा ढाल्नेहरुलाई भनेर गएका छौ ।

खबरदार अब फेरि देश लिलाम नगर, मुलुकलाई आत्म निर्भर गराउन सकिंदो रहेछ कमसे कम सपना त देख, अनि हेर कत्तिको सकिन्छ, सपना नदेखिकन कहां हुन्छ ? परनिर्भरताको एक्लो हुकुमी रवाफमा रमाउनेहरुलाई, बिदेशीको चौकीदारीमा मात्र आफ्नो हैसियत देख्ने, त्यो भन्दा माथिको नदेख्नेहरुलाई, एउटा पाठ उनीहरुकै अघि पढाएर गएका छौ । केही समय तिमीलाई मुलुक हांक्न दिएको भए खै अरु के के गर्थेउ । आफ्ना आसेपासेलाई पक्कै गतिलै ठाउंमा लान्थेउ होला । पैसा अरूले पनि बांडेका हुन् तिमीले यो भन्दा अझ धेरै बांड्थेउ होला । मन नपर्ने के के गर्थेउ तर जे जे गरे पनि कमसे कम हिमालका यी हिउंमाथि रेल दगुराएर विश्व बजारमा सामान किनबेच गरेर देखाउने सपना लिएका थियौ । धोको पुरा होला कि भन्ने लागेको थियो तर अफसोच त्यो धोको पुरा नहुने भो भन्ने पिर लाग्न थालेको छ ।

तुइनमा झुन्डिरहेका जिन्दगीहरु, झोलुङ्गे पुलमा हिंड्दै गर्दा, उनीहरुसंगै हिंडेर सेल्फी खिच्ने रहर पालेको थिएं । फास्ट ट्रयाकमा आफैंले लगानी गरेर सरर एउटा भटभटे नै भए पनि गुडाउंला भन्ने रहर थियो । तर, आज सबै रहरहरुमा पारीबाट जहर घोलिन आएको छ भन्ने सुनेको छु । कर्मवीर हुं जहां गए पनि कर्म गरेर खाने मान्छे । जन्मभूमिमा कर्मको आंगन खोज्दा खोज्दै, कर्मको उदाहरण प्रस्तुत गर्न नपाउंदै तिमी ओझेल भएछौ । खै अब फेरी के हुने हो भन्ने पिर पर्न थालेको छ मलाई ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री