आइतबार, कार्तिक १६ २०७७ | Sun, November 01, 2020
नेपालको समय: ०६:४२ | UK Time: 00:57

अभिमानी डा. बाबुरामलाई जीवनभर झेंक्रोको आवश्यकता

वीनेपाली
२०७३ असार २५ गते १४:१०

Shashi Poudel

अहिले उनी आफ्नो नयाँ भूमिकाबाट नितान्त खुुसी देखिन्छन् तर उनको खुसी निकट भविश्यमै बेखुसीमा परिणत हुने सम्भावना नरहेको भने होइन । डा. बाबुराम भट्टराई उनको राजनीतिका सबै चारदशक उनी अरुको आडमा उभिए । उनलाई अरुको बलियो खम्बाकोे आडमा उभिएर अर्थात अडेस लगाएर राजनीति गर्ने बानी परेको छ । उनले आड लिने गरेका खम्बाहरु अब हटेका छन् अथवा अहिले ती खम्बाहरु उनको पिठ्युँबाट टाढा छन् । पछिल्ला दिनमा उनले प्रधानमन्त्री केपी ओलीको खुलेर विरोध गरे । त्यति मात्र होइन उनले आफैँ संलग्न भएर बनाएको संविधानको विपक्षमा छन् उनी ।
केही दिनअघि अनलाइन खवरले उनीसंग यी कुराहरु र उनीमाथि लागेको आरोपबारे प्रश्न गर्यो । त्यतिबेला उनले न्युटन, आइन्स्टाइन र स्टिफन हकिंगको आड लिए । यदि उनलाई उनले भनेका कुराहरु दोहोर्याएर सोध्यो भने उनले आफूले नभनेको तर ती कुराहरु अन्तैबाट सापट लिएको भन्छन् । किनभने उनलाई ती कुराहरु असाध्यै मन पर्यो रे ? त्यसैले उनले त्यसको आड लिएका हुन रे ?
यसरी बाबुराम भट्टराई अर्को कुनै खम्बाको आड लिन मन पराउँछन् भन्ने प्रष्ट हुन्छ । कुनैबेला यस्तो समय थियो उनी अर्थमन्त्री थिए त्यतिबेला उनी सत्यताभन्दा पनि एंगलोफिल भएका थिए । उनी प्रचण्डको आडमा थिए । जब उनी प्रधानमन्त्री बने एकातिर उनी ससुराली परिवारको आडमा उभिए भने अर्कातिर प्रचण्डको । प्रधानमन्त्री भएका बेलामा पनि उनी अरुको आडबिना उभिन सक्तैनन् भन्ने साबित भयो । उनका केही कथनहरु उन्नाइसौं सताब्दीका जस्ता लाग्छन् यद्यपि उनी आफूलाई एक्काइसौं शताब्दीको मार्क्सवादी भन्न मन पराउँछन् । अनि यहाँ पनि उनी कसैको आड लागेकै हुन्छन् । कुनैबेला उनले अरुको आडमा कृषि क्रान्तिका कुरा गर्थे अहिले उनले ती कुराहरु गर्दैनन् किनभने त्यहाँ अहिले आड लिने बलियो खम्बा छैन । सर्वप्रथम उनी एस्डी मुनीको आड लागेर भारतमा विद्यार्थी राजनीति सुरु गरे त्यसपछि उनी मोहनविक्रम सिंहको आडमा आइपुगे । मोहनविक्रम सिंहको आड छोडेर उनी मोहन वैद्यको आडमा पुगे । त्यसपछि उनी प्रचण्ड अर्थात पुस्पकमल दाहालको आड लागे । नयाँ शक्ति नेपालमा पनि उनी मदन भण्डारी र बिपी कोइरालाको आडमा उएिका छन् । अनलाइन खबरसंगको पछिल्लो अन्तरबार्तामा उनी भन्छन् “वीपीपछि मदन भण्डारीले ९० को दशकमा थोरै प्रयत्न गर्नुभएको हो । अहिले नयाँ शक्तिले तिनै कडीलाई जोडेर अगाडि बढ्न खोजेको चाँहि हो । हामी उहाँहरुका कमी कमजोरी र सीमाभन्दा माथि उठेर नयाँ दिशा दिन चाहन्छौं ।’
केही वर्षअघि उनले एक अन्तर्वार्तामा भने उनलाई सबभन्दा बढी मनपरेको पुस्तक स्टिफन हकिंग लिखित अ ब्रिफ हिस्ट्री अफ टाइम हो रे । उनले धेरै ठाँउमा बेलायती र भारतीय राजनितिज्ञहरुको चर्चा मात्र गरेका छैनन् कि उनले त्यसमा अडेस समेत लगाएका छन् । कम्युनिष्ट राजनीतिको क्यारियर माथिसम्म उठ्न आर्किटेक्टका डाक्टर बाबुराम भट्टराईले मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य र प्रचण्डलाई आफ्नो झेंक्रो (झेक्रोलाई कुनै कुनै भागमा थाँक्रो पनि भन्ने गरिन्छ) बनाएका हुन् । बाबुराम भट्टराई यी माथि लिइएका नामहरुभन्दा शुक्ष्म ज्ञान भएका र औपचारिक पढाइ धेरै पढेका मानिन्छन् । तर प्रचण्ड भने बाबुरामभन्दा आँटिला वा साहसिला छन् भन्ने बाबुरामलाई थाहा छ । त्यसैले उनी धेरैपटक प्रचण्डसामू नतमस्तक भएका पनि थिए । प्रचण्ड आफ्नो पार्टीभित्र तानाशाही लगाउन सफल भए किनभने उनी पार्टीभित्र बाबुरामभन्दा सम्मानित र आशाका पात्र रहे । प्रचण्ड प्रधानमन्त्री र बाबुराम अर्थमन्त्री बने तर समग्रमा मन्त्रीमण्डल बाबुरामले प्रचण्डको आडमा चलाएको चर्चा हुन्थ्यो । माओवादीको अधिवेशनबाट उनी उपाध्यक्ष बने अनि उनले नै संविधान बनाउने प्रमुख जिम्मेवारी पाए । संबिधान लेखियो तर संबिधानको मसी सुक्न नपाउँदै बाबुराम त्यही संबिधानको टुप्पामा बसेर फेंद काटिरहेका छन् ।
विगत ६ महिनादेखि उनी फगत कुनै झेंक्रो बिना उभिएका थिए तर विगत जेठ ३० गतेदेखि उनी आफू झुण्डिने झेंक्रोको खोजीमा छन् । जनमुक्ति पार्टीका नेता उनको झेंक्रो हुनसक्ने अनुमान गरिएको थियो तर त्यो खम्बा पार्टी घोषणा गरेको चौबिस घण्टा नबित्दै ढलेको छ । उनले कतै झेंक्रो पाउन नसकेपछि आगामी पुस्ताको विकासको कुरा होइन कि अघिल्लो पुस्ताका महिलाहरुले अधिकार नपाएको मनको वह पोखे उनले । उनी आफू कुनै आड लिने बलियो खम्बा बिना अडिन नसक्ने कुरा यसरी स्वीकार गर्छन् । “नयाँ विचार सुनेको शुन्य आकाशबाट आउने पनि होइन र हिजोकै हुबहु नक्कल पनि होइन । यस अर्थमा नै यो नयाँ विचारको खोजी, वैकल्पिक विचारको खोजीलाई बुझ्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।
हामीले जुन उदारवादी विचार र समाजवादी विचारको प्रयोग बीसौं शताब्दीमा हेर्‍यौं र त्यसका सबल र दुर्बल दुबै पक्ष देख्यौं, त्योभन्दा माथि उठेको नयाँ विचारको निर्माण गर्ने प्रयत्न गरिँदैछ । त्यसैक्रममा हिजोका सामाजिक लोकतन्त्रवादीहरुले, डेमोक्रेटहरुले जुन प्रयत्न गरेका छन्, अन्त्यमा आएर कोही उदारवादतिर गए, कोही राज्य (समाजवादतिर गए । छुट्टै स्वतन्त्र धारको विकास हुन सकेन । त्यसैले हामीले उहाँहरुबाट सकारात्मक कुराहरु सिकेर उहाँहरुका सकारात्मक पक्षलाई लिएर नै अगाडि बढ्ने हो । ”
मुलुकका स्थापित राजनैतिक पार्टीहरुलाइ पुराना ढर्राका भनी खुलेर आरोप लगाउने बाबुरामले नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा नयाँ कुरा दिन भने सकेका छैनन् । पार्टी घोषणाको चौबिस घण्टा नबित्दै पुरानै ढर्राका पार्टीमा लागेको रोग उनमा लागिसकेको छ । बाबुराम भट्टराईले जतिसुकै नयाँ शिराबाट जाने भने पनि यथार्थ के हो भने मुलुकमा विद्यमान साँस्कृतिक र सामाजिक विकासले मुलुकको राजनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । कहाँ र कसरी असल राजनैतिक पार्टी निर्माण गर्ने र त्यो राजनैतिक पार्टीले असल सरकार गठन गर्ने भन्ने कुरा विद्यमान सामाजिक विकासमा भर पर्दछ । त्यसैले हाम्रा राजनैतिक पार्टीहरुले हाम्रो समाजको स्थायित्व र विकासमा ध्यान पुर्याउनु पर्दछ । असल राजनैतिक पार्टी र असल सरकार गठन गर्न सर्वप्रथम ग्रास रुट लेभलमा अनुशासित स्वतन्त्रता (यदि मैले सरकारबाट मेरो अधिकार मागिरहेको छु भने मलाई राज्यप्रतिको मेरो कर्तब्यबोध भएको हुनुपर्छ) जनस्वास्थ्यको ग्यारेन्टी, दैनिक प्रयोगात्मक शिक्षाको ग्यारेन्टी, दैनिक उपभोग्य वस्तुको ग्यारेन्टी दिन सक्नुपर्दछ ।
अर्कोतिर अहिलेसम्मको संसारको राजनैतिक, ऐतिहासिक विकासको अनुभवले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हाम्रोजस्तो अल्पविकसित मुलुकका लागि अझ महत्वपूर्ण कुरा के हो भने अठाराैँ शताब्दीमा भएका औद्योगिक क्रान्तिका कारकहरु के के थिए ? के त्यतिखेर पनि अहिलेको जस्तो नभए पनि वैज्ञानिक खोज पनि एउटा कारक थियो ?
आजभन्दा १५ लाख वर्ष पहिले मुड्कीले ढुंंगामा हानेर ढुंगा फुटाउने युगमा अवश्य पनि गाउँ विकास समिति पन्च भलाद्मी अथवा कुनै नेता थिएनन् होला । तर पनि ढुंगे युगको आफ्नै टेक्नोलजी हुँदो हो अर्थात् मानसिक विकासका तत्व र गुणहरु अवश्य थिए । त्यसैले त एक वा अर्कोले आगो पत्ता लगाउनेदेखि लिएर हातहतियारको विकासमा लागे ।
जब मानिस झुण्ड झुण्डमा बस्न थाले तबदेखि नै राजनैतिक प्लेटफर्म सुरु भयो । अनि राजनीतिमा समान आवश्यकता र विचार भएकाहरु एक गठ हुन थाल्यो भने भिन्न विचार र आवश्यकता हुनेहरुको भिन्न गठ हुन थाल्यो । यी दुवै कुराहरु नैसर्गिक हुन् र मानव सभ्यताको विकाससँगै विकास हुँदै आयो । यद्यपि बाबुराम भट्टराईले नेपाली काँग्रेस एमाले माओवादीहरुको औचित्यता सकिएको दाबी गर्छन् तर उनीसंग पनि मानवीय नैसर्गिक हकअधिकार (गाँस र बाँस) अनि ग्रासरुट लेभलको अनुशासित स्वतन्त्रता, जनस्वास्थ्यको ग्यारेन्टी, दैनिक प्रयोगात्मक शिक्षाको ग्यारेन्टी, दैनिक उपभोग्य वस्तुको ग्यारेन्टी दिने कुनै कार्यक्रम छैनन् । यस्तै खालको झुण्ड हाम्रो छिमेकी मुलुकमा आम आदमी पार्टीले पनि गरेको थियो तर उ पहिलो चरणमा राजनीतिमा सफल हुन सकेन । चुनाव जित्नु मात्र राजनीतिमा सफल हुनु होइन । आम आदमीका केजरीवाल र बाबुराममा भने एउटा भिन्नता छ त्यो के भने केजरीवाल ब्युरोक्रेसीबाट आएका र राजनीतिक अनुभव नभएका थिए भने बाबुराम प्रधानमन्त्री भैसकेका व्यक्ति हुन् तर दुर्भाग्य बाबुरामलाई अडेस लगाउन एउटा आँटिलो खम्बाको जरुरत पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक