
काठमाडौँ, १८ असार । बागमती सफाइको १६४ औँ हप्तामा आज त्रिपुरेश्वरस्थित विश्वनिकेतन उच्च मावि पछाडिको नदीमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
सफाइका क्रममा त्रिपुरेश्वर आसपास क्षेत्रका घर घरमा पसी बागमतीमा फोहर नफालौँ, फाल्न नदिऔँ र सफाइमा सहभागी बनौँ भनी लेखिएका जनचेतनामूलक पर्चा बाँडिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
‘बागमतीमा फोहर फाल्नेलाई तीन महिना कैद र रु एक लाखसम्म जरिवाना हुने भएकाले फोहर नफालौँ’ लेखिएको ब्यानर ठाउँ ठाउँमा टाँगिएको छ । यसको अटेर गरी नदीमा फोहर फाल्नेलाई काठमाडौँ महानगरपालिकाबाट खटिएका कर्मचारीले समातेर कानुनी कारबाहीका लागि लैजान पाउने भएका छन् ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, रेडियन्ट कलेजलगायतका सङ्घ संस्थाको सहभागिता थियो । सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवम् पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलगायतका व्यक्तित्वको सफाइमा सहभागिता रहेको थियो ।
आजै गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज, उपत्यकाका रुद्रमती, विष्णुमती, इच्छुमती, नख्खु खोलालगायत नदी किनारमा पनि सफाइ गरिएको छ ।
आगामी शनिबार १६५ औँ हप्ताको बागमती सफाइको मूल कार्यक्रम विष्णुमती सफाइ सुरु भएको १०० औँ हप्ता पुगेको अवसरमा शोभाभगवती मन्दिर किनारमा गरिने अभियानकर्मी श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु भएको सफाइ महाअभियानले अहिले देशव्यापी नदी सरसफाइमा जनचेतनाको काम गरेको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान