
काठमाडौँ, १८ असार । बागमती सफाइको १६४ औँ हप्तामा आज त्रिपुरेश्वरस्थित विश्वनिकेतन उच्च मावि पछाडिको नदीमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
सफाइका क्रममा त्रिपुरेश्वर आसपास क्षेत्रका घर घरमा पसी बागमतीमा फोहर नफालौँ, फाल्न नदिऔँ र सफाइमा सहभागी बनौँ भनी लेखिएका जनचेतनामूलक पर्चा बाँडिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
‘बागमतीमा फोहर फाल्नेलाई तीन महिना कैद र रु एक लाखसम्म जरिवाना हुने भएकाले फोहर नफालौँ’ लेखिएको ब्यानर ठाउँ ठाउँमा टाँगिएको छ । यसको अटेर गरी नदीमा फोहर फाल्नेलाई काठमाडौँ महानगरपालिकाबाट खटिएका कर्मचारीले समातेर कानुनी कारबाहीका लागि लैजान पाउने भएका छन् ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, रेडियन्ट कलेजलगायतका सङ्घ संस्थाको सहभागिता थियो । सफाइ महाअभियानका प्रमुख अभियानकर्मी एवम् पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलगायतका व्यक्तित्वको सफाइमा सहभागिता रहेको थियो ।
आजै गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज, उपत्यकाका रुद्रमती, विष्णुमती, इच्छुमती, नख्खु खोलालगायत नदी किनारमा पनि सफाइ गरिएको छ ।
आगामी शनिबार १६५ औँ हप्ताको बागमती सफाइको मूल कार्यक्रम विष्णुमती सफाइ सुरु भएको १०० औँ हप्ता पुगेको अवसरमा शोभाभगवती मन्दिर किनारमा गरिने अभियानकर्मी श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु भएको सफाइ महाअभियानले अहिले देशव्यापी नदी सरसफाइमा जनचेतनाको काम गरेको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार