जननेता मदन भण्डारी देशभक्त नायक ः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा यो वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख, राससका पूर्व अध्यक्ष तथा प्राध्यापक पी खरेललाई प्रदान गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा यो वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख, राससका पूर्व अध्यक्ष तथा प्राध्यापक पी खरेललाई प्रदान गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताउनुभएको छ ।

मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्व जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो – “मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।”

शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उहाँले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।

नयाँपिँढीलाई आफ्नो विषयअनुसार क्षमता उजागर गर्ने वातावरणको सिर्जना गर्न सके धेरै राम्रा प्रतिभाहरु उजागर हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सो कलेज स्थापनाको सुरुको अवस्था स्मरण गर्दै भन्नुभयो – “कलेज सुरु गर्दा पैसा थिएन, पूर्वाधार थिएन, इच्छाशक्ति र सङ्कल्प मात्रै थियो, निकै कठिनाइ र सङ्घर्षले कलेज यहाँसम्म आएको हो ।”

सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु निकै प्रतिभावान् भएकामा खुसी व्यक्त गर्दै उहाँले मदन भण्डारी कलेजमा पढ्ने विद्यार्थी बोली, वचन र आचरणमा राम्रा र सद्गुणी हुनुपर्नेमा जोड दिनुभयो ।

कलेजका प्रमुख डम्बरबहादुर हमालले कलेजको प्रगति विवरण प्रस्तुत गर्दै प्रत्येक क्षेत्रमा विद्यार्थीले राम्रो गरिरहेको चर्चा गर्दै चीन सरकारको सहयोगमा छ जना विद्यार्थीलाई एमबिबिएस र इन्जिनियरिङ अध्ययनका लागि अवसर आएकोप्रति निकै हर्षित भएको सुनाउनुभयो ।

कलेजले यो वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख तथा प्राध्यापक पी खरेललाई प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा सम्मानपत्रसहित रु २५ हजार प्रा खरेललाई प्रदान गर्नुभयो ।

त्यस्तै, कलेजले उच्च माध्यमिक शिक्षातर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल छात्र सुदन लामिछाने र छात्रा रमा पराजुलीलाई प्रधानमन्त्री ओलीले स्वर्णपदक प्रदान गरी बधाई दिनुभएको थियो ।

सो अवसरमा कलेजका विद्यार्थीले क्यारिकेचर, गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री