इमिग्रेशनको विरोधले जितेको इयू जनमत संग्रह

लेखक आचार्य

लेखक आचार्य

जनमत संग्रहमा बेलायत इयूबाट बाहिरिने भएपछि यसले बेलायतको अर्थतन्त्रमा प्रतिकुल असर पर्न सक्नेछ । यसको शुरुवात नतिजा आए लगत्तै बेलायती मुद्रा पाउण्ड स्टर्लिंग तथा स्टक मार्केटको भारी गिरावट अन्दाज गर्न सकिन्छ । इयूको मुख्य अबधारणा कमन मार्केट भएकोले यसबाट बाहिरिनुको मतलब बेलायती निर्यात गर्न गाह्रो तथा आयातमा अरु कर तिर्नुपर्ने हुन्छ । जसले गर्दा सामानको मूल्य बढ्ने लक्षण देखिन्छ । बेलायती ब्यापारको ४४% निर्यातको बजार रहेको इयुमा यसबाट बाहिरिनुको भएको अर्थतन्त्र माथि जोखिम मोल्नु नै देखिन्छ । अर्थतन्त्र भन्दा इमिग्रेशनको बहसले बढी जितेको यस जनमत संग्रहमा दीर्घकालीन रुपमा बेलायत युरोपमा एक्लिने छ , जसको असर सुरक्षा तथा आतंककारी गतिविधिमा पर्न सक्छ । ऊग्र राष्ट्रबादको कुराले नै बढी महत्व पाई क्षणिक आवेगमा गरिएको इयू छोड्ने जनमत संग्रहको निर्णयले बेलायतलाइ दुरगामी असर पार्न सक्छ ।

इमिग्रेशनको कारणले मात्रै बेलायत इयु छोड्नु पर्छ भन्ने तर्कले जितेको जनमत संग्रह पछि बेलायत युरोपमा एक्लो हुनुको साथै आप्रवासीको हितमा के कस्तो दृष्टिकोण बनाउने छ, भविष्यले बताउने छ । तर, इतिहासलाइ हेर्दा यसको संकेत राम्रो देखिदैन । साठीको दशकवाट खासगरी बेलायतमा आएका नपालीहरुले त्यसबेलामा भोग्नुपरेको असमानताको कुरा सुन्दा पौराणिक कथा जस्तो लाग्छ । आजभन्दा करिब २४ बर्ष बेलायतमा पढ्न आउदा म स्वयमले गर्नु परेको कानुनी कुरा सम्झदा अहिले पत्यार लाग्न गाह्रो हुन्छ । हरेक विद्यार्थीले यहाको पुलिस अफिसमा गइ एलियन्स विभागमा गएर दर्ता हुनुपर्ने थियो । एलियन्सको अर्थ अर्को ग्रहबाट आएको प्राणी भन्ने हुन्छ । यसबाट त्यसबेलामा बाहिरी देशबाट आउने मानिसलाई बेलायती कानुनले हेर्ने दृष्टिकोण बुझिन्छ । वर्क परमिटबाट बेलायत आउने झन्डै असम्भव थियो । विद्यार्थीको लागि पार्ट टाइम काम गर्न पनि वर्क परमिट लिनुपर्ने अनेक झमेला थियो । सन् १९९७ मा टोनी ब्लेयरको जितपछि मात्र धेरै सुधार गरेका हुन् ।

आप्रवासीको नियमलाई लागि टोनी ब्लेयर सत्तामा आएपछि निकै नै सुधार गरि अर्थतन्त्रलाइ बढाउँन गरेको भूमिका उल्लेख्य छ । इराक युद्दले उनको अरु राम्रो कार्यको छायाँ परेको मात्र हो । यिनको पालामा बेलायतको अर्थतन्त्र झन्डै तीनगुणा बृदि भएको थियो ।

के छ बेलायतमा इमिग्रेशनको इतिहास

रोमोनहरुले बेलायत जित्दा करिब बीस हजार सैन्य शक्ति भएको र बेलायतमा दस देखि बीस लाख जनसंख्या थियो । जर्मन तथा भाइकिंग (डेनमार्क र नर्बेका मानिस ) आप्रवासीहरु पछि नर्मंनको पालामा दस लाख जनसंख्या इंग्ल्यान्डमा थियो ।

क्रिस्चियन बाहेक बेलायतमा पहिलो आप्रवासी यहुदीहरू हुन् । सन् १०६६ देखि १६५६, १८८१-१९१४ र १९३३ देखि १९३९ बिचमा यहुदीहरू बेलायतमा बसोबास गरेका हुन । १६८५ मा ४०० यहुदी भएको बेलायतमा सन् १८१५ मा आइपुग्दा करिब तीस हजार पुगेको थियो ।

जिप्सिहरु बेलायत सन् १५०० देखि आउन थाले भने करिब असी हजार फ्रान्सका प्रोटूस्टन्टहरु इंग्ल्यान्ड र आयरल्याण्डमा सन् १५६० देखि १७२० को समयमा आएका थिए ।  सन् १५५८ मा करिब पच्चीस लाख जनसंख्या भएको बेलायतमा सन् १७५० सम्म आइपुग्दा सत्तरीलाख पुगेको थियो ।

सन् १६९३ देखि १७०९ मा करिब तेह्र हजार गरिब जर्मनहरु आएका थिए । करिब तीस लाख जनसंख्या  भएको बेलायतकी महारानी एलिजावेथ प्रथमले ११ जुलाई १५९६ मा खुला पत्र जारि गरि अफ्रिका र वेस्ट इन्डियन दासहरुलाइ आउन (ल्याउन) आह्वान गरेकी थिइन् । सन् १८३३ सम्म दासहरु ल्याउने क्रम चल्यो । अठारौं शताब्दीसम्म आइपुग्दामा दास ब्यापारको कारणले करिब बीस हजार काला अफ्रिकनहरु बेलायतमा थिए भने इंग्ल्यान्ड र वयल्सको जनसंख्या नब्बेलाख पुगेको थियो ।

सन् १७०० पछि भारतीय र चिनियाँहरु आउन थाले । यिनीहरु मुख्यतः विद्यार्थी, पेशागत मान्छेहरु, माझीहरु नै थिए । सन् १८७१ मा २०७ जना चिनियाँहरु बेलायतमा भएका सन् १९९१ को जनगणनामा एक लाख छपन्न हजार भन्दा बढी थिए । केहि सयको संख्यामा रहेका भारतीय कामदारलाइ दोश्रो बिश्वयुद्द पछि योजना अनुरुप बेलायतमा ल्याइयो । सन् १९९१ को जनगणना अनुरुप भारत, पाकिस्तान, बंगलादेशका गरि पन्ध्र लाख भन्दा बढी मानिसहरु बेलायतमा रहेको तथ्यांक छ ।

पहिलो विश्वयुद्दमा दुईलाख पचास हजार बेल्जियमका नागरिकहरु आएका थिए । यसपछि पोल्याण्ड, जर्मन, इटालियनहरु पनि दोश्रो विश्वयुद्द सम्ममा आएका थिए । १९६०को दशकमा अफ्रिकाबाट भारतीय मुलका मानिसहरुलाई बेलायती सरकारले ल्याएको थियो भने सन् २००४ मा पुर्बी युरोपका देशहरु इयुमा आएपछि सन् २०१५ मा करिब १५ लाख आप्रबासी हरु आएको तथ्यांक छ ।

इतिहास हेर्ने हो मानिस निरन्तर रुपले एक ठाँउबाट अन्त सरि नै रहेको छ । त्यसैले मानिसहरु  सबै आप्रवासी नै हुन भन्ने हुन्छ । बेलायतको इतिहास अध्यन गर्दामा यहाँ आदिबासी भन्ने कोहि छैनन् । अनकन्टार यस ठाउमा इतिहास थाह भए देखि नै युरोपका बिभिन्न ठाउबाट मानिसहरु आइ बसोबास गर्न थालेका देखिन्छ । करिब ४००० बि.सी. पहिले बेलायतमा जम्मा तीनहजार जनसंख्या रहेको जनाइएको छ । २५०० बि.सी. अघि बीसहजार र १०००-७०० बि.सी. अघि एक लाख जनसंख्या भएको अन्दाज गरिएको छ ।

हेर्ने दृष्टिकोण 

बर्ल्ड भ्यालु सर्भेले असी देशका मानिसहरुलाई आफ्नो छिमेकी कस्तो खाले मन पर्छ भन्ने सोधिएको थियो । जसमा चालिस प्रतिशत भन्दा बढीले भारत, जोर्डन र हंगकंगका मानिसहरुले आफ्नो छिमेकी फरक वर्ण (race) नचाहेको बताएका थिए । यसमा बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्डका मानिसहरुले आफ्नो छिमेकी फरक वर्ण (race) संग बस्न सकिने कुरा बताएका थिए ।

समानता र अवसरको लागि बेलायतका आप्रबासीहरुले अनबरत संघर्ष गरेर नै आएको दिनमा आएका कुरालाई स्मरण गर्नु वान्छनीय हुन्छ । आर्थिक सम्पन्नता संगै बेलायती साम्राज्यको इतिहास, शिक्षा तथा संस्कारले गर्दा युरोपका धेरै देशहरु मध्ये बेलायतमा आप्रबासीको अवस्था अन्यत्र भन्दा राम्रो छ ।

इयु छोडेपछि इमिग्रेशन कम हुने तथा इयु बाहेकका देशबाट बेलायत आउन सजिलो हुने भन्ने त्यति सहज हुदैन । “नजिक भएको तिर्थ हेलाँ” भन्ने नेपाली उखान अनुसार आर्थिक अबनतीले पोल्न थाले पछि केहि बर्ष पछि पुनः युरोपियन यूनियनको सदस्यतामा बेलायतले लिनुपर्छ भन्ने आवाज ससक्त हुन थाल्यो भने आश्चर्य मान्नुपर्ने छैन ।

सन् २०१४ मा भएको एउटा अनुसन्धानमा बेलायत भित्र आइसकेका करिब ६० प्रतिशत  आप्रबासीहरुले नयाँ आउने आप्रबासीलाइ प्रतिस्पर्धीको रुपमा हेरेर इमिग्रेशन नियम अरु कडाइ हुनुपर्छ भन्ने बिचार पोखेका थिए । आफ्नो क्षमता, दक्षता तथा सीपलाई मजबुत बनाए कोहिसंग डराउनुपर्ने भन्ने हुदैन ।

आप्रबासीबाट पार पाउन इयू छोडेको बेलायतमा यसको राष्ट्रियता अरु कतिको मजबुद हुदो रहेछ, अर्थतन्त्र लगायत सुरक्षाको बिबिध पक्षमा के कस्तो असर हुन्छ , त्यो समयले बताउने छ । जे भएपनि यस जनमत संग्रह पछि बेलायतले कुन मोड लिने हो, त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री