एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिको शपथग्रहण
कार्डिफ, वेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ ।
कार्डिफमा ३१ अगस्ट आइतबारमा योजित समारोहमा दिपक सुब्बा इङ्देन अध्यक्षसहित नयाँ कार्यसमितिले पद तथा गोपनियताको शपथग्रहण गरेको हो । कार्यसमिति उपाध्यक्षमा सीता गुरुङ राई, सचिवमा पवन राना मगर, सहसचिव श्रीराम थापा मगर, कोषाध्यक्ष रत्ना राई र सहकोषाध्यक्ष प्रदीप गुरुङ रहनुभएको छ ।
यस्तै सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र लिम्बु इङ्देन, सुवास राई, उवराज पुन र प्रशान्त गौतम हुनुहुन्छ ।
दिउँसो १ बजेतिर सुरु भएको उद्घाटन कार्यक्रमको सुरुमा केन्द्रीय सचिव कृष्णप्रसाद खतिवडाले सुरक्षासम्बन्धी जानकारी दिनुभयो । एनआरएनए आईसीसी उपाध्यक्ष विश्वासदीप तिगेला र एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभयो । त्यसपछि नेपाल र वेल्स दुवैको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो, जसको संयोजन श्रीराम थापामगरले गर्नुभएको थियो ।
एनआरएनए यूकेका उपाध्यक्ष झलक पुनले स्वागत मन्तव्य दिँदै वेल्समा नयाँ कार्यसमिति गठन हुनु समुदायलाई सबल बनाउन ठूलो कदम भएको बताउनुभयो । उहाँले समितिले प्रवासी नेपालीहरुको हकहितमा ठोस काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आइसीसी सदस्यहरु ओमप्रसाद थापा काउचा, शारदा गुरुङ र अमृत घले; एनआरएनए यूके प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए यूके संरक्षक डेभिट गुरुङ र क्याप्टेन बिरबहादुर थापा; एनआरएनए सल्लाहकार थर्क सेन लगायतले संघलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
कार्यक्रमको विशेष सम्बोधनमा महासचिव जुरेन्द्र खजुमले त्रिपक्षीय सन्धिअनुसार नेपाली नागरिक भएर सेवा पूरा गरी नेपाली नागरिकको हैसियतमा अवकाश लिने व्यवस्था रहेको तर अवकाशपछि नेपाली नागरिकता त्यागी आइएलआर वा ब्रिटिश पासपोर्ट लिएका भूतपूर्व र कार्यरत गोरखा सैनिकहरुलाई समेत नेपाल सरकारले नागरिकता ऐन र गैरआवासीय नेपाली ऐनमार्फत एनआरएनएको परिधिमा समेटेको कुरा प्रस्ट पार्नुभयो ।
त्यस्तै एनआरएनए यूके महिला सचिव मणिकला राई गुरुङले महिलाको सशक्तिकरणका लागि वेल्स राज्य परिषद्ले महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली समाज कार्डिफका पूर्वअध्यक्ष निरलाल मोक्तानले समुदायलाई अझ एकजुट बनाउन नयाँ समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले दोहोरो नागरिकता, वंशजको नेपाली नागरिकता निरन्तरता र गोर्खाहरु एनआरएनए सदस्य हुने-नहुनेबारे अद्यावधिक जानकारी दिनुभयो । आइसीसी उपाध्यक्ष विश्वासदिप तिगेलाले अन्तर्राष्ट्रिय परिस्थिति र संघको हालको गतिविधिबारे जानकारी दिनुभयो ।
वेल्स राज्य समन्वय परिषद् अध्यक्ष दिपक सुब्बा इङ्देनले मन्तव्यसहित समापन गर्नुभएको थियो । औपचारिक कार्यक्रमपछि सांगीतिक सत्रमा लोकप्रिय लोकगायिका जुनुश्री मगर र कलिका रोका मगरले धमाकेदार प्रस्तुति दिनुभयो । उहाँहरुको गीतमा उपस्थित अतिथिहरु नाचगानमा सहभागी भएर रमाइलो गरे ।
सो अवसरमा राज्य समन्वय परिषद् वेल्सका मूख्य संरक्षक दिपप्रसाद पुन र बद्री योङया लिम्बु तथा सल्लाहकार नेपाली समाज कार्डिफका पूर्वअध्यक्ष निरलाल मोक्तानलाई सम्मान गरिएको थियो ।