अमेरिकन गन कल्चर र यसको त्रासदी

hemanta jii

जीवन जति सुन्दर र मुल्यमान छ, असामयिक मृत्यु त्यति नै कुरूप, दुःखदायी र घृणित छ । एउटा मानिसलाई जवान बनाउन तीस वर्ष लाग्छ, उसका आमा, बाबु, परिवार, नातागोता, समाज, देश सबैको सहयोगपछि बल्ल एउटा मानिस तयार हुन्छ । तर, बन्दुकको नालबाट निक्लेको गोलीले तीन सेकेन्ड मै जीवनलीला समाप्त पारिदिन्छ । जन्म र मृत्युबीचको यो दूरी घटाउने चिज घृणा नै हो । बन्दुक त एउटा क्रुर साधन मात्रै हो । यही क्रुर साधनसंग अमेरिकनहरुको बिचित्रलाग्दो माया, मोह छ । गोजीमा बन्दुक राखेपछि मात्र उ आफूलाई सुरक्षित, स्वतन्त्र, सार्वभौम र गौरवान्वित सम्झन्छ । यो बन्दुके मायाजालसंग अमेरिकनहरुको शताब्दीयौं लामो सम्बन्ध छ ।

अमेरिकी संविधानमा The Second Amendment (Amendment II) को नामले परिचित यो धारा  म्भअझदभच ज्ञछ, ज्ञठढज्ञ मा लागु गरिएको थियो जुन धाराले अमेरिकीलाई हतियार बोक्न र राख्नका लागि कानुनी अधिकार नै प्रदान गरेको छ । शताब्दी लामो यो प्रेम र घृणाको सम्बन्ध आज पनि उत्तिकै बर्करार छ । सामान्य जनता त यसका शिकार छंदै छन्, यो शक्तिशाली देशका चार जना बहालवाला राष्ट्रपतिहरुले आफ्नो ज्यान बन्दुकको गोलीबाट गुमाउनु परेको छ । अब्राहम लिंकन, जेम्स गार्फिल्ड, विलियम मकिन्ले र जोन अफ केनेडी यस्ता अभागी अमेरिकी राष्ट्रपतिहरु हुन् जसले आफ्नै देशमा आफ्नै जनाताबाट बन्दुकको गोली खाएर मर्नु पर्यो । बीसजना अमेरिकी राष्ट्रपतिहरुमाथि हमला गर्ने प्रयास भएको छ । महान मार्टिन लुथर किंग देखि विश्व प्रख्यात ब्रिटिश गायक जोन लेनन सम्मले अमेरिकी बन्दुकको घृणाको शिकार हुनु पर्यो । विभिन्न माध्यमबाट गरिएका सर्भेहरुले अमेरिकामा ३०० मिलियन बन्दुकहरु जनतासंग रहेको देखाउंछ र एकै वर्षमा धेरै स्कुल र युनिभर्सिटीहरुमा गन सुटिंग भएको छ । अनि २०१५ मा मात्रै अमेरिकामा १४ हजार भन्दा बढिको बन्दुकबाट मात्रै मृत्यु भएको देखाउंछ । हरेक वर्ष यो आंकडा बढ्ने क्रममा छ र संग संगै अमेरिकन गन कल्चर एउटा तातो वहस बनेर आएको छ ।

कति सजिलो छ अमेरिकामा बन्दुक किन्न ?
हरेक हप्ता जसो अमेरिकाका विभिन्न ठाउंमा पुस्तक मेला जसरी नै बन्दुक मेला पनि हुने गर्छ जहां ठूलो मात्रामा कानुनी रुपमा खुलेआम बन्दुकको किन बेच हुन्छ । वालमार्ट जस्ता ठूला चेन विजनेश र साना रिटेलरहरुले खुलेआम रुपमा साधारण मानिसले पनि खरिद गर्न सक्ने मुल्यमा बन्दुक बिक्री गरिरहेका छन् र बन्दुक कम्पनीहरु नाफाको व्यापार गरिरहेका छन् । अनलाइन मार्केट त छंदैछ, हरेक ग्राहकले आफूले रोजेको गन किनेर लान पनि सक्छ । किन्नु भन्दा अगाडि विक्रेताले एउटा फाराम भर्न लगाउंछ जसमा तपाईं अमेरिकी नागरिक हुनु पर्छ । अठार वर्ष उमेर पुगेको, क्रिमिनल रेकर्ड नभएको, आइडी, मानसिक समस्या नभएको, ड्रग्स सेवन नगर्ने जस्ता प्रश्नहरु फाराममा समावेश हुन्छ र एफबीआइमा फोन गरेर तपाईंको डेटा नेशनल इन्सटेन्ट क्रिमिनल ब्याकग्राउण्ड चेक सिस्टम मार्फत क्रस चेक गर्छन् । यदि यी माथि उल्लेखित कुराहरुमा तपाईं ठिक हुनुहुन्छ भने केही मिनेटमै उताबाट ग्रिन सिग्नल आउंछ र तपाई कांधमा बडेमानको बन्दुक र झोलामा बोक्नसक्ने गरि गोली बोकेर पसलबाट निक्लन सक्नुहुन्छ । यो रोमान्चकारी अमेरिकी बन्दुक यात्रा तपाईं हामीलाई अत्यासलाग्दो लाग्न सक्छ । यी किनिएका बन्दुकहरु पनि देखाएर बोक्न मिल्ने र लुकाएर बोक्न मिल्ने खालका हुन्छन् । हरेक राज्यका आफ्ना आफ्ना नियममा भर पर्छन यी कुराहरु । कुनै राज्यहरु खुकुला छन् भने कुनै फरक । विभिन्न सञ्चार माध्यमहरुले गरेका भित्री अनुसन्धान हेर्ने हो भने अमेरिकामा कुनै पृष्ठभूमि नहेरी कनै पनि शक्तिसाली बन्दुक किन्न सकिने कुराले अमेरिकीहरुलाई अलि धेरै चिन्तित बनाएको हुनुपर्छ ।

किन बोक्छन् अमेरिकीहरु बन्दुक ?
इतिहासका पाना पल्टाउने हो भने अमेरिकीहरुको बन्दुक मोह उनीहरुको तीन कुरासंग जोडिएर आएको छ । ति तीन महत्वपूर्ण कडीहरु हुन् ः अमेरिकी इतिहास, यसको संस्कृति र राजनीति । बाहिरबाट हेर्दा र देख्दा अमेरिका अग्ला घर, चौडा सडक अनि ठूला शहरहरु मात्रै हो जस्तो लाग्छ । तर, यथार्थ अलि फरक छ । अमेरिका एउटा विशाल देश हो जो सिंगै युरोप भन्दा एक्लै ठूलो छ र धेरै जनता महानगरमा बस्छन् । तर, शहर भन्दा टाढा पनि ठूलो संख्यामा मानिसहरु बस्ने गर्छन् जहां जिविकोपार्जनका माध्यम ठूला शहरमा जस्तो अफिस जाने र आउने मात्रै हुंदैन । त्यहां त कृषि, हन्टिंग जस्ता पेसाहरु पनि हुने गर्छन् । अमेरिकी इतिहास नियाल्ने हो भने शिकार गरेर जिबिकोपार्जन गर्नुपर्ने वाध्यता थियो कुनै बेला । शिकारलाई पेसाको रुपमा हेर्ने गरिन्थ्यो । जसले राम्रोसंग सुटिंग स्किल बनाउन सक्छ उसले अब जीवनमा आफैं गरि खान सक्छ भन्ने कुराको मापन हुन्थ्यो । यो बिस्तारै खेलको रुपमा पनि विकसित हुन थाल्यो । त्यति मात्र हैन उनीहरुसंग भएको बन्दुक, विरोधीहरुको आक्रमणबाट जोगिनका लागि पनि एउटा महत्वपूर्ण साधनका रुपमा हेर्ने गरिन्थ्यो । यसरी शिकार, खेल र सुरक्षा हुंदै बन्दुक उनीहरुको जीवन पद्दति नै हुन पुग्यो । अमेरिकन रिभोलुसन भन्दा अगाडि न त कुनै रेगुलर आर्म फोर्स नै थियो । त्यसैले तिनै हतियारधारीहरुले नै सुरक्षाको पनि काम गर्दथे । १७९० तिर नै तिनीहरु मिलिसिया थिए, पछि भोलुन्टियर आर्मी भए र अन्ततः तिनै रेगुलर आर्मीमा परिणत भए । यिनीहरुले 
फ्रनटिअर्स रुपमा काम गरे । जमिनको उपभोग गरे । बजारको बिकास गरे संगसंगै राज्यको स्थापना पनि गरे । अमेरिकन इतिहासवीदहरु यसलाई एउटा यस्तो कथा भन्छन् जसले अमेरिकाको विभिन्न संस्कृति, विचारलाई प्रतिनिधित्व गर्दै आज सम्म अमेरिकालाई जीवन्त राखेको छ । यसरी उनीहरुको हतियारसंगको सामिप्यता आज सम्म पनि जारी छ । तिनै आफूसंग भएका हतियारहरु प्रयोग गरेर अमेरिकाका १३ राज्यले ब्रिटेन विरुद्ध बिद्रोह छेडेका थिए जुन American War of Independence (१७७५१७८३) नामले चिनिन्छ । यस युद्धमा फ्रान्सले अमेरिकीहरुलाई साथ दिएको थियो र पछि स्पेनले पनि सघाउने निर्णय गर्यो र अमेरिकाले एउटा नयां राष्ट्रको रुपमा जन्म लियो ।

अमेरिकी कल्चरः अमेरिकीहरु आफ्ना पपुलर कल्चरहरुबाट एकदमै 
प्रभावित हुने गर्दछन् । नयां नयां प्रयोगसंग अमेरिकी जति परिचित को होला, जोधाहा प्रवृत्तिका अमेरिकीहरु । हफ्स्टेड कल्चरल 
स्टडीलाई मान्ने हो भने अमेरिकीहरु छिट्टै निर्णय गर्न मन पराउंछन् । यदि अमेरिकी गन कल्चर अध्ययन गर्ने शोधकर्ताहरुलाई मान्ने हो भने उन्नासौं शताब्दीका असाध्य मन पराइएका The winning of the West (1889-1895), The Virginia (1902) , The Great Train Robbery (1903). A California Hold Up (1906), St. Valentine’s Day Massacre (1929) जस्ता फिल्महरुले पनि अमेरिकीहरुको दिमागमा एउटा गहिरो बन्दुक मोह सिर्जना गरेको हुन सक्छ ।

अन्त्यमाः
जहिलेपनि गन कल्चर अमेरिकी राजनीतिमा एउटा तातो बहस हुने गर्छ । यसका पक्ष र बिपक्षमा जोडदार तर्कहरु पेस गरिएका छन् । 
राष्ट्रपति बाराक ओबामा आफैं बन्दुक नियन्त्रणमा कडा नियमहरु लगाउन उद्दत छन् तर उनको एकल प्रयासलाई अमेरिकी कंगे्रसले त्यति सजिलै पास हुन दिंदैन र त्यो त्यसै थन्किएर बसेको छ । ओरलान्डो सुटिंगपछि ओबामाले फेरी कंग्रेसमा उही कुरालाई जोडदार रुपमा उठाउन सक्छन् भनेर सञ्चार माध्यमहरुले बताउन थालेका छन् । अमेरिकी समाज, सरकार र सिंगो अमेरिकानै यो विषयमा विभाजित छ । इतिहासदेखि ओरलान्डो सुटिंगसम्म आइपुग्दा अमेरिका भित्र धेरै 
निर्दोषहरुले गन कल्चरको शिकार हुनुपरेको छ । अमेरिका एउटा ठूलो भूभागमा फैलिएको र विभिन्न संस्कृतिहरुले भरिपूर्ण देश हो । अब कसरी अमेरिकनहरुले आफ्नो कल्चरलाई पनि जोगाउंदै एउटा शान्त अमेरिकाको कल्पना गर्छन् यो नितान्त उनीहरुकै विवेकमा भर पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री