लण्डनमा स्वर्गीय अम्बर गुरुङकाे श्रद्धाञ्जलीसभा

group
लण्डन । नेपाली राष्ट्रिय गानका संगीतकार स्वर्गीय अम्बर गुरूङकाे सम्झनामा विश्व नेपाली साहित्य महासङ्घ र नेपाली दूतावासले संयुक्त आयोजनामा एक श्रद्धान्जलि सभा अायाेजना गरे ।
दूतावासको सभाकक्षमा बिहीबार अायाेजित साे कार्यक्रममा स्वर्गीय गुरुङको फोटोमा माल्यार्पण गरी कार्यक्रम शुरु भएको थियाे  । कार्यक्रममा उपस्थित सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागी गुरूङकाे तस्वीरमा माल्यार्पण गरेपछि एक मिनेट मौन धारणा गरिएको थियो । वहाँकाे सम्मान र सम्झनामा स्वर्गीय गुरुङद्धारा संगीतबद्ध राष्ट्र गान र वहाकै स्वर र संगीत रहेको देशभक्ति गानहरु पनि बजाइएको थियो ।
गुरुङको जीवनीबारे टेक बहादुर थापा राजेशले बोल्नु भयो भने त्यस्तैगरी एक दर्जन कविहरुले गुरुङमा समर्पण गरी लेखिएका कविता तथा मुक्तकहरु वाचन गरे । गायक थीर थापामगरले गुरुङद्धारा संगीतबद्ध रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो र ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो गीत गिटारसंगै गाए । प्रोफेसर तथा कवि सुमाया राई, डा चन्द्र बहादुर गुरुङ, विजय हितान, भोज बराल, राजेन्द्र क्षेत्री, कर्मा पहाडी शेर्पा, क्षेत्रकला राई, सईन्द्र थापा, दिप गिरी, निश्चल दाहाल, शंकर दाहाल लगायतले सिर्जना वाचन साथै श्रद्धाञ्जली मन्तब्य राखेका थिए । सभामा विभिन्न १० संस्थाका प्रतिनिधि सहभागी थिए ।
सन् २६ फेब्रुवरी १९३८, दार्जिलिङ्गमा जन्मनु भएका गुरुङको गत ७ जुन २०१६ का दिन काठमाडौमा निधन भएको हो । वहालाई राष्ट्रिय सम्मानका साथ अत्येष्ठि गरिएको थियो । हाल प्रचलनमा रहेका राष्ट्रिय गानका संगीतकार साथै नौ लाख तारा उदायो गाना गाए वापत जेल समेत परेका कारण वहाँलाई राष्ट्रिय गायक भनी सम्मान ब्यक्त गर्ने गरिन्छ । वहाँलाई महासंगीतकारको सम्मान समेत प्रदान गरिएको छ । गुरुङ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति समेत बन्नु भएको थियो । तत्कालिन राजाले सहयोग गर्न चाहँदा पनि केही सहयोग लिन नमान्ने गुरुङले आजीवन काठमाडौंको डेरामै जीवन बिताउनु भयो । त्यसैले वहाँलाई स्वाभिमानका स्वाभिमान भनी सम्मान गर्ने गरिन्छ । गुरुङको पुख्यौली थलो गोर्खाको रिसिङ हो भने वहा विस २०२६ मा दार्जिलिङ्गबाट काठमाडौं आउनु भएको हो । वहाका गीति सङ्ग्रह र संस्मरण गरी २ पुस्तक कृति र हजारौ गीत संगीत रहेका छन् ।
साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र अतिथि एनआरएन युरोप संयोजक कुल आचार्य लगायत थिए । कार्यक्रम शशि थापा सुब्बा र जानुका राईले रोचकपूर्ण ढङ्गले संचालन गरेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री