मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: १८:३९ | UK Time: 12:54

इयु जनमत संग्रह : मित्रता राखिराख्ने कि तोड्ने ?

वीनेपाली
२०७३ जेठ ३२ गते २०:३७

Shashi Poudel

प्रधानमन्त्री डेबिड क्यामरोनले २०१५ को आमनिर्वाचनमा युके इन्डिपेन्डेन्ट पार्टीको भोट तानेर टोरी पार्टीको भाग्य खुलाउने प्रयासस्वरुप जुवाको खालमा फालेको पासा युरोपियन युनियनबारे जनमतसंग्रह गरिने उनको चुनावी रणनीतिका सहकर्मीहरु अहिले उनको विपक्षमा घुँडा धसेर लागेका छन् । अघिल्लो कन–डेम सरकारले नै बेलायत युरोपियन युनियनभित्र सदस्य भैरहने कि अलग्गिने भन्ने बारे जनमत संग्रह गर्ने निर्णय गरेको हो र २३ जनवरी २०१४ का दिन प्रधानमन्त्री डेबिड क्यामरोनले २०१७ मा बेलायत युरोपियन युनियनभित्र सदस्य राष्ट्र रहिरहने कि नरहने भन्ने प्रश्न राखेर जनमत संग्रह गराउने औपचारिक घोषणा गरेका थिए । सन् २०१५ को आम निर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउनुमा उनको यो घोषणाले महत्वपूर्ण भूमिका खेलेको कुरा राजनैतिक पर्यवेक्षकहरुले तर्क समेत गरे । तर उनको त्यो घोषणालाई उनले एकवर्ष अघि नै निम्त्याएका छन् र यही २३ जुनमा मतदान हँुदैछ ।
यदि बेलायतबाट प्रकाशित ट्याबलोइटस्हरुमा प्रकाशित समाचार, रिपोर्टहरु र विभिन्न सर्भेक्षेणहरुलाई पछ्याउने हो भने बेलायत युरोपियन युनियनबाट बाहिरिनु पर्छ भन्ने पक्ष हल्का बहुमत देखिन्छ । तथापि युरोपियन युनियनभित्र बेलायतको भविष्यबारे अहिल्यै यसै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था भने छैन । प्रधानमन्त्री डेबिड क्यामरुन मात्र होइन लेबर पार्टी र लिबडेम पार्टीका नेताहरुले बेलायत युरोपियन युनियनभित्र रहनु पर्छ भन्ने तर्कसहित प्रचार प्रसारमा लागेका छन् र बहुसंख्यक कन्जरभेटिभ पार्टीका नेताहरु पनि यस मामिलामा लेबर र लिबडेमका नेताहरुको तर्कसंग सहमत छन् । तर कन्जरभेटिभ पार्टी भित्रका दक्षिणपन्थी खेमा र अन्य दक्षिणपन्थी पार्टीहरुबीच भने बेलायत युरोपियन युनियनबाट अलग हुनुपर्छ भन्ने मतैक्यता रहको छ । त्यस्तै थुप्रै बेरोजगारहरु, तल्लो तहका कामदारहरु एवं ६० को दशकभन्दा अघि जन्मिएका महिला पुस्तामध्ये चंचल मतदाताहरु पनि सायद दक्षिणपन्थी खेमाको प्रचार प्रसारबाट प्रभावित हुने छन् । किनभने सम्पूर्ण युरोपियन युनियनभित्र र बेलायतमा पनि अर्थ संचयको नाममा जुन बजेट कट्टा गरिएको छ, त्यो बेलायत युरोपियन युनियनभित्र रहेको कारणले गर्नु परेको हो भन्ने भ्रम सर्वसाधारण जनतासमक्ष फैलाइएको छ । त्यस्तै बेरोजगार वर्गभित्र अर्को भ्रम के पर्न गएको छ भने बेलायत युरोपियन युनियनभित्र रहेको कारणले पूर्व युरोपका कामदारहरु बेलायत आई बेलायतीहरुको काम खोसेका छन् र यदि बेलायत युरोपियन युनियनभित्र रहिरह्यो भने आगामी दिनमा युरोपियन युनियनभित्र प्रवेश गर्ने मुलुकबाट लाखौंको संख्यामा आप्रवासीहरु ओइरिने तर्क पनि गरेका छन् ।
यदि ७० को दशकमा बेलायतमा भएको राजनैतिक विकासलाई हेर्ने हो भने यसको उत्तर सहजै पाउन सकिने छ । १९७०÷७१ मा जब विश्वभर आर्थिक मन्दी सुरु भयो । त्यसले बेलायतमा पनि प्रभाव पार्नु स्वाभाविकै थियो । त्यतिबेला कन्जरभेटिभ पार्टी सरकारमा थियो । अहिलेका प्रधान मन्त्री डेबिड क्यामरोनजस्तै तत्कालिन प्रधानमन्त्री एडवार्ड हिथ बेलायती जनताबीच अप्रिय हँुदै गएका थिए त्यतिखेर पनि बेलायतका दक्षिणपन्थी खेमाले युरोपियन इकोनोमिक्स कम्युनिटीको विरोध गर्दै आइरहेको थियो, जसको नेतृत्व मार्गरेट थ्याचरले गरेकी थिइन् । यही मौका पारेर १९७४ मा हुने निर्वाचनमा बहुमत ल्याउने उद्देश्यस्वरुप १९७२ मा एडवार्ड हिथले बेलायत युरोपियन इकोनोमिक्स कम्युनिटीबाट बाहिर आउन १९७५ मा जनमत संग्रह गराउने भन्ने प्रस्ताव अगाडि सारे । उनले आफूले चाहेर वा नचाहेर भए पनि यो प्रस्ताव ल्याउनुको उद्देश्य १९७४ मा हुने निर्वाचनमा उग्रदक्षिण पन्थीहरुको भोट कन्जरभेटिभ पार्टीलाइ ल्याउने रहेको थियो । किनभने उनी यति अप्रिय हुँदै गएका थिएकी अन्य कुनै पनि हथकण्डा कामयाबी हुनेवाला थिएन । तर त्यतिखेरै लेबर पार्टीले बेलायत युरोपियन इकोनोमिक्स कम्युनिटीबाट बाहिर जान नहुने तर्क गर्दै बरु यसमा केही सुधार ल्याउने प्रस्तावसहित आफ्नो निर्वाचन घोषणा पत्र तयार पार्याे र १९७४ को आमनिर्वाचनमा लेबर पार्टीले बहुमत ल्याएर हारोल्ड विलसनको नेतृत्वमा सरकार गठन गर्यो । जनमत संग्रह गर्ने घोषणा भैसकेकाले ५ जुन १९७५ मा जनमत संग्रह भयो । उक्त जनमत संग्रहको पक्ष (बेलायत युरोपियन इकोनोमिक्स कम्युनिटीमा रहिरहने) मा ६७ प्रतिशत मत खस्यो ।
डेबिड क्यामरोनले पनि त्यतिखेर यही पासा जुवाको खालमा फालेका हुन् । जबजब उनी बेलायती जनताबीच अप्रिय हँुदै गए तबतब उनले बेरोजगार, तल्लो तहका कामदार र दक्षिणपन्थीहरुको सेन्टिमेन्ट बुझेर पासा फाल्ने गरेका छन् र २०१५को निर्वाचनमा उनले त्यो बाजी जिते । जे होस् बेलायतले भने एउटा प्रश्नको उत्तर भने खोज्नैपर्ने हुन्छ, त्यो प्रश्न के भने, यदि कथंकदाचित बेलायत युरोपियन युनियनबाट अलग भयो भने यसको आर्थिक र सामाजिक अवस्थामा कस्तो असर पर्ने छ भन्ने ।
केही कन्जरभेटिभ पार्टीका दक्षिणपन्थी समूहहरुले भने बेलायत युरोपियन युनियनबाट बाहिरिए पनि कुनै असर नपर्ने तर्क गरेका छन् । यद्यपि आधाभन्दा बढी बेलायतको ब्यापार युरोपसंग छ । बेलायतका ब्यापारी वर्गहरुले युरोपसंगको ब्यापारबाट प्रशस्त आर्थिक एवं राजनैतिक फाइदा लिइरहेका छन् । त्यसैले बेलायत युरोपबाट अलग्गिँदा बेलायतलाइ आर्थिक रुपमा मात्र होइन राजनैतिक रुपमा पनि र मोटर कार उद्योगमा समेत नकारात्मक असर पर्ने छ । त्यतिमात्र नभएर कमसेकम पनि चालिसदेखि पचासलाख मानिस बेरोजगार बन्ने छन् । त्यसैकारणले पनि डेबिड क्यारुन यतिखेर युरोपियन युनियनको पक्षमा खुलेका हुन् । अर्कोतिर उनका आफ्ना पार्टी भित्रका साथीहरु जसले उनलाई १० डाउनिङ्ग स्ट्रिटसम्म धकेलेर पुर्याए, अति दक्षिणपन्थी वर्ग, युरोपियन युनियनलाई घृणा गर्दछन् र अन्धो राष्ट्रियताको गीत गाउँछन् । उनीहरुसंग अहिले उनको राजनैतिक नाता तोडिएको छ ।
जब १९९० मा बर्लिनको पर्खाल भत्काइयो, १९९१मा रुसमा ७० वर्षसम्म राज्य गरेको समाजवादी ब्यवस्था ढल्यो । अनि जर्मनीका तत्कालिन चान्सलर हेल्मुट कोलले युरोपियन इकोनोमिक्स कम्युनिटीलाई अब बन्द ब्यापारका लागि मात्र होइन राजनैतिक रुपमा पनि युरोपको एकता गर्ने प्रस्ताव ल्याए । उक्त प्रस्तावलाई टोरी पार्टीका तत्कालिन प्रधानमन्त्री जोन मेजरले पनि स्वीकार गरे । १९९३ मा युरोपियन युनियनको गठन भयो । युरोपियन युनियनको गठन पश्चात तत्कालै युरोपभित्र एकल मुद्रा ल्याउने प्रस्ताव अघि सारियो । विभिन्न चरणका बहस र छलफलपछि २००२ देखि युरोपभर एउटै मुद्रा “युरो” प्रचलनमा आयो । तर बेलायतले यसबाट अलग्ग रहने निर्णय गर्याे । बेलायतमा युरो प्रचलनमा ल्याउने बाहेक अन्य सबैजसो राजनैतिक सवालमा टोरी प्रधानमन्त्री जोन मेजरले स्वीकार गरे । यद्यपि जोन मेजरको आफ्नै पार्टीको दक्षिणपन्थी हाँगा यसको विरोधमा थियो । यसैबीच १९९७ मा भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टी पराजय भयो र लेबर पार्टीका टोनी ब्लेयर प्रधानमन्त्री बने । १९९७ को आमनिर्वाचनमा टोरी पार्टी पराजय हुनुको एउटा कारण युरोपियन युनियनमा प्रवेश गर्नु पनि थियो भन्ने भ्रम आज पनि टोरी पार्टीको दक्षिणपन्थी हाँगाले पालेर बसेको छ । यस्तै, अर्को कारण १९७९ मा प्रधानमन्त्री पदमा निर्वाचित भएकी मार्गरेट थ्याचरले युरोपियन इकोनोमिक्स कम्युनिटीदेखि युरोपियन युनियनसम्मलाई आलोचनात्मक दृष्टिकोणले हेर्दै आइरहेकी हुन् । मार्गरेट थ्याचर युग सकिएपछि पनि बेलायतका विभिन्न राजनैतिक, आर्थिक एवं सामाजिक कामहरुबारे मार्गरेट थ्याचरको पालामा भएका निर्णयहरु अहिलेसम्म पनि लागू हँुदै आइरहेका छन् । जस्तै रेल सेवा, हुलाक सेवा एवं राष्ट्रिय स्वास्थ्य सेवाका नीजिकरणहरु । अर्कोतिर बेलायतमा महिलाहरुको एउटा यस्तो पुस्ता छ जो मार्गरेट थ्याचरको अन्धभक्त छ, दोस्रो विश्वयुद्ध समाप्ती र १९६० भन्दा अघि जन्मेको महिलाको पुस्ता र त्यो पुस्ता नै सबभन्दा बढी निर्वाचन बुथमा उपस्थित हुने गर्दछ ।
बेलायतका हरेक राजनैतिक पार्टी एवं नेताहरु पार्टीको सिद्धान्त र पार्टीको घोषणा पत्रबाट भन्दा नवउदारवादी सिद्धान्तबाट बढी प्रभाबित भएको सहजै अनुमान गर्न सकिन्छ । त्यसैले उनीहरु चाहे पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न उत्रिएका होउन् उनीहरुले युरोपियन युनियनभित्र देखिएको आर्थिक मन्दी, युरोपियन युनियनभित्र गरिएको जथाभावी नीजिकरण, कामदारहरुको अधिकारको सवालमा देखिएको अस्थिरता, युरोपियन युनियनको नाटो स्टाइलको मिलेट्री फोर्स ट्रान्सफरमेशन आदि आदि सवालहरुमा मौन छन् ।
अझ यीभन्दा बाहेक युरोपियन युनियनभित्र देखिएका अलोकतान्त्रिक सवालमा बेलायती राज्यपक्षले आफ्नो कुनै पोलिसी सार्वजनिक गर्न सकेका छैनन् । जसले गर्दा मतदातामा दोधार स्थिति पैदा हुन्छ र जनता मतदान केन्द्रमा उपस्थित हँुदैनन् । जब जनतामा राजनैतिक नैराश्यता छाउँछ अनि राजनैतिक अस्थिरता अरु बढ्दै जान्छ । राजनैतिक संजालको सम्बन्धबिच्छेद हँुदै जान्छ । जब राजनैतिक संजालको सम्बन्धबिच्छेद हुन थाल्छ तब जनता, राजनैतिक पार्टी, राजनैतिक नेताहरु र सरकारबीचको सम्बन्ध पनि बिच्छेद हुन थाल्दछ । जनता र सरकारबीचको सम्बन्ध बिच्छेद हुनु भनेको लोकतन्त्र असफल हुनु हो । लोकतन्त्र असफल भएपछि कुनै पनि पन्थी (उग्र दक्षिण वा उग्र वामपन्थी) मुलुकमा हाबी भएर आउने सम्भावना रहन्छ । यही परिदृश्य अहिले बेलायतमा देखिएको छ र नाइजल फाराजले बेलायती जनता नजिक पुग्ने प्रयास गरिरहेका छन् ।
सत्य के हो भने बेलायत युरोपियन युनियनबाट बाहिर निस्किनु भनेको २८ भागको एकभाग मात्र निस्किनु नभई युरोपियन युनियनको एउटा महत्वपूर्ण भाग बाहिरिनु हुने छ । यद्यपि युरोपियन युनियन बेलायत बिना टिक्न सक्ला तर बेलायत भने युरोपबाट अलग्गिने छ, युरोपियन युनियनबाट अलग्गिने मात्र नभएर बेलायतलाई राजनैतिक, आर्थिक र सामाजिक मान्यता र संस्कारका कारण पनि नोक्सानदायी हुनेछ । अरुबाट अलग हुनेछ । किनभने मानवीय गति आफ्नै ढंगको हुन्छ । चाहे त्यो एक ब्यक्तिको होस् चाहे एक समुदायको वा एक राज्यको ।
यदि डेबिड क्यामरुनले युरोपियन युनियन पक्षका दलका प्रमुखको हैसियतले विकल्पको खाका कोरी सैद्धान्तिक दृष्टिकोण दिन सक्दैनन् भने बेलायती मतदाताहरु मत खसाल्न अल्मलिने छन् र उनीहरुको मत गलत ठाउँमा खस्न सक्छ । त्यतिखेर बेलायतले युरोनियन युनियनसँग सम्बन्ध बिक्षेद गर्नुपर्ने भन्ने पक्षमा बढी मत खस्न पनि सक्छ । त्यसैले यतिखेर बेलायत युरोपियन युनियनको सदस्य रहेर बस्ने कि सदस्य नरहने भन्ने प्रश्न भन्दा पनि बेलायती जनताले कस्तो प्रकारको बेलायत चाहन्छन् अर्थात बेलायतको बागडोर कसले लिने त भन्ने कुराले बढी महत्व राख्ने छ । जस्तै बेलायतका वर्तमानका तीन ठूला पार्टीहरुको चाहना बेलायतको बागडोर ग्लोबल पँुजिपतिहरुले रिमोट कन्ट्रोलले सम्हाल्ने भन्ने रहेको बुझिन्छ र वर्तमानमा त्यस्तै पनि भैरहेको छ । किनभने यी तिनै ठूला पार्टीहरुमा ग्लोबल पुँजिपतिहरुको बोलवाला रहेको छ । अर्कोतिर कन्जरभेटिभ पार्टीको दक्षिणपन्थी समूह र युके इन्डिपेन्डेन्ट पार्टीका अनुसार बेलायतलाई बेलायतका पँुजिपतिहरुबाट सन्चालन होस् भन्ने चाहना रहेको बुझिन्छ ।
यी पंक्तिहरु लेखिरहँदा मलाइ एउटा नीति कथाको सारांश पनि थप्न मन लाग्यो । एउटा रमणीय गाँउमा एकजना संभ्रान्त ब्यक्ति बस्दा रहेछन् । उनको घर वरिपरि रमणीय करेंसाबारी पनि रहेछ । करेंसाबारीमा मीठा मीठा फलका रुखहरु र तरकारीका बिरुवा पनि रहेछन् । उक्त करेंसाबारीको खुल्ला भागमा छिमेकका बालबच्चाहरु खेल्ने रमाउने गर्दा रहेछन् । करेंसाबारीको छेउमा एउटा धुलोमाटो खेल्ने ठाउँ पनि रहेछ । जबजब उसको करेंसाबारीमा बालबच्चाहरु खेल्न आउँछन् तबतब घरमालिकलाई आफ्नो सम्पत्ति लुटिएको, आफूलाई नोक्सान भएको महशुस गर्दो रहेछ र बाल बच्चाहरुलाई आफ्नो बारीबाट भगाउने रहेछ । तैपनि बालबच्चाहरु खेल्न रमाइलो र भुइँमा खसेका फलहरु पनि खान पाइने भएकाले त्यहाँ खेल्न जान छोड्दा रहेनछन् । एकदिन घरमालिकलाई असाध्यै रिस उठेछ र बालबच्चाहलाई खेल्न आउन बन्द गराउन आफ्नो घर र करेंसाबारी वरिपरि मान्छेभन्दा अग्लो बार बनाउन लगाएछ । मान्छेभन्दा अग्लो बार भएपछि बालबच्चाहरु खेल्न जान सकेनन् र उसको घर र करेसाबारी शून्य हुन थाल्यो । उसको करेसाबारीमा भुइँमा खसेका फलहरु कुहिएर करेंसाबारी फोहोर हुँदै गन्हाउन थाल्यो । दिन महिना र वर्ष बित्ने क्रममा भुइँमा तरकारीका बिरुवा हुर्कन छाडे । फलका रुखहरुमा फूल लागे पनि फल फल्न छोडे, करेंसाबारीको हरियाली हराउदै जान थाल्यो किनभने घर र करेंसाबारीको बार धेरै अग्लो भएका कारणले बारीभित्र सूर्यको प्रकाश पर्न सकेन र सूर्यको प्रकाशबिना बारीमा सेप परेर बिरुवाहरु मर्न थाले । उ स्वयंले पनि आफू एक्लिएको महसुस गर्न थाल्यो अनि उभित्र पनि कुनै रमणीय प्रभाव पर्न बन्द भयो र आफू स्वयं निरास हँुदै गयो । आफ्नो घर र घर वरिपरि सूर्यको किरण पर्न छाडेकाले चिसोले हाड र जोर्नीहरु दुख्ने रोग लाग्न थाल्यो । यसरी उसले नितान्त सम्पत्तिको लोभ र बालबच्चाहरु उसको बारीमा आएर खेलेको डाहा गर्दा आफ्नो बारीको हरियाली, फलफूलका रुखहरु र तरकारीका बिरुवाहरु मात्र मारेन कि आफू स्वयं पनि शारिरीक र मानसिक रुपमा रोगी भयो । उक्त कुरा महसुस गरेपछि उसले लगाएको बार भत्काएर बालबच्चाहरुलाई फेरि आफ्नो बारीमा खेल्न दिन थाल्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक