क्लव फिफ्टी यूकेमा सल्लाहकारहरु चयन

Club 50
लन्डन । क्लव फिफ्टी यूकेले सल्लाहकारहरु चयन गरेको छ । रिगल स्पाइस रेष्टुरेन्टमा आयोजित बैठकले समाजका अगुवा ध्रुव केसी, हरि केसी, हरिसिंह थापा, हरि कार्की र मदन थापालाई सल्लाहकार चयन गरेको हो । संस्थाका अध्यक्ष उत्तम खड्काले सल्लाहकारहरुलाई खादाले सम्मान गरेका थिए ।

अध्यक्ष खड्काको अध्यक्षता र महासचिव भरत रोकाले सञ्चालन गरेको उक्त बैठकले नेपालमा शिक्षा क्षेत्र र आपतविपतका बेला सहयोग गर्ने निष्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष खड्काले संस्थाका गतिविधि र उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले संस्थाले सर्लाही जिल्लाको एक विद्यालयमा अध्ययनरत दश विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको जानकारी दिंदै भूकम्प लगत्तै पीडितलाई आर्थिक सहयोग गरेको समेत स्मरण गरे । उपाध्यक्षद्वय गुणमान सिंह कार्की र सुरज कार्कीले संस्थाको उद्देश्य अझ प्रष्ट्याएका थिए ।

क्लव फिफ्टी यूके नेपालको शाखाको रुपमा दुई वर्ष अघि यहां स्थापना भएको हो । यसले विशेषगरि ५० वर्ष नाघेका अवकासप्राप्त व्यक्तित्व समेट्दै यसलाई समाजसेवामा समर्पित गर्ने उद्देश्य राखेको छ । सदस्य भने युवा समेत हुन सक्ने संस्थाको प्रावधान छ ।

संस्थाले सदस्यता विस्तार र आगामी २४ सेप्टेम्बरमा दशैं पार्टी आयोजना गर्ने निर्णय समेत गरेको छ । साथै, उसले जुलाई १९ मा लर्डस्मा मैत्रीपूर्ण क्रिकेट खेल खेल्न आउन लागेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानमा एक रात्रीभोज समेत गर्ने भएको छ । सम्मान कार्यक्रम कहिले र कहां गर्ने भन्ने टुंगो पछि लगाइने जनाइएको छ ।

बैठकमा नियुक्त सल्लाहकारहरुले पनि आ आफ्ना सुझाव दिएका थिए । सो क्रममा समाजसेवी ध्रुव केसीले संस्थाको उद्देश्य प्रशंसनीय भएको उल्लेख गर्दै क्लव फिफ्टी यूकेले नेपाल सहित बेलायतमा रहेको समुदायलाई समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री