बेलायतका नेपाली के भन्छन् इयू जनमत संग्रहबारे ?

EU-You-Decide-logo
लन्डन । बेलायत युरोपियन युनियन (इयू) सदस्य रहिरहने वा छाड्ने भन्नेबारेको जनमतसंग्रह आउन करिब दुई साता बांकी छ । आगामी २३ जुन बिहीबार बेलायतमा हुन लागेको उक्त जनमत संग्रहले बेलायती राजनीतिमात्र तातेको छैन्, बेलायतवासी नेपालीको समेत ध्यान आकृष्ट गरेको छ ।

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले इयू जनमत 
संग्रहबारे बेलायतवासी नेपालीलाई अवगत गराउन यही सोमबार अल्डरसटमा एउटा वहस कार्यक्रम नै राखेको छ । कार्यक्रम संयोजक डमर घलेले बेलायतमा करिब डेढ लाख नेपाली रहेका र ति मध्ये झण्डै ५० हजार मत दिन योग्य भएकाले उनीहरुलाई इयूमा रहंदा वा छोड्दाका फाइदा बेफाइदाबारे वीज्ञहरुबाट सुसूचित गराउन कार्यक्रम गरिएको जानकारी दिए ।

बेलायत इयू सदस्य रहिरहने वा नरहने भन्नेप्रति यहांका नेपालीहरुको भिन्न भिन्न धारणा छ । संसारको पांचौं तथा युरोपको दोश्रो ठूलो अर्थतन्त्र भएको शक्तिशाली देश बेलायत इयूबाट बाहिरिए यसको भविष्य अन्धकार हुने चिन्ताबीच कतिपयले परिमार्जनसहितको इयू आवश्यक ठान्दै इयू छोड्नु बेलायतको हित विपरीत हुने बताएका छन् । तर, कतिपयले इयू बजेटलाई गर्नुपर्ने योगदान ८ दशमलव ५ बिलियन पाउण्ड बेलायतभित्रै शिक्षा, स्वास्थ्य, विश्वविद्यालय आदिमा लगानी गरे राष्ट्रिय आय वृद्धि गर्न सकिन्छ भन्ने तर्क राखिरहेका छन् ।

अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी बेलायत सुधारसहितको इयूमा रहनुपर्ने धारणा राख्छन् । तर, उनले ब्रसेल्समा बस्ने अनिर्वाचित प्रशासकहरुसंग धेरै अधिकार रहन नहुने, इयूले आफ्ना सदस्य राष्ट्रहरुका साना तथा मझौला व्यवसायहरुलाई निकै बढी नियम कानुनमा बांध्न नहुने, पूर्वी युरोपका केही भूतपूर्व समाजवादी मुलुकहरुमा देखिएजस्तो इयूले आफ्ना सदस्य मुलुकहरुमा राज्यलाई प्रमुख ठहराउनुको सट्टा व्यक्तिलाई महत्व दिई वैयक्तिक स्वतन्त्रताको महत्वलाई सम्मान गर्नुपर्ने तथा युरोपेली संघले आफूलाई एउटा राजनीतिक संघको रुपमा नहेरिकन एउटा व्यापारिक वा आर्थिक संघको रुपमा सीमित गर्नुपर्ने मत राखे ।

बेलायत युरोपियन यूनियनमा रहिरहनुपर्ने जोड नेप्लिज हार्ट फाउण्डेशन यूकेका अध्यक्ष बिकलचन्द्र आचार्यको पनि छ । उनी बेलायती व्यापारको ४४ प्रतिशत भन्दा बढी यस यूनियनमा हुने भएकाले इयू छोड्दा देशको अर्थतन्त्रमा नकारात्मक असर (रोजगार, आय तथा यहांको स्वास्थ्य, यातायात र सुविधामा) पर्ने बताउंछन् । पचास करोड भन्दा बढि जनसंख्या भएको इयूलाई आर्थिक हिसाबमा सबल देश बेलायतले नेतृत्व गर्न सक्नुपर्छ भन्ने आचार्य देशको राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा अहिले युरोप महादेशमा बेलायत एक्लो हुनु भनेको अनेक चुनौतीसंग एक्लो सामना गर्नु हो र यो बेलायतको राष्ट्रिय हित विपरित हुने ठान्छन् ।

इयू सदस्यको हैसियतले बेलायतले इयू बजेटलाई गर्नुपर्ने योगदान हाल ८ दशमलव ५ बिलियन पाउण्ड छ । त्यसरी बेलायतको स्पेन्डिङ बढाउनुको सट्टा त्यो बजेटलाई बेलायतभित्रै शिक्षा, स्वास्थ्य, विश्वविद्यालय आदिमा लगानी गरे राष्ट्रिय आयमा वृद्धि गर्न सकिन्छ भन्ने केहीको तर्क छ । त्यस्तै ‘फ्रि लेबर मुभमेन्ट’ का कारण इयूबाट आउने सस्तो कामदारले बेलायतको लेबर मार्केट लिएको र त्यस संग संगै अध्यागमन समस्या भई स्वास्थ्य सेवा, शिक्षा जस्ता सामाजिक सुरक्षामा बढि खर्च भएर बजेट सन्तुलनमा नै नकारात्मक असर पर्न गएको ब्रिट एक्जिट (बाहिरिनुपर्ने) पक्षका अर्थशास्त्रीको भनाइ छ ।

तर, बहिगर्मनसंगै बेलायतले ‘इयू यूके फ्रि ट्रेड एग्रीमेन्ट’ बाट प्राप्त हुने फ्रि ट्यारिफ, कस्टम चेक जस्ता सुविधाहरु गुमाउनुपर्ने, निर्यातमा हुने ट्यारिफ, लेबीका कारण इयू बजारमा बेलायतको वस्तुको मुल्य वृद्धि हुन गइ प्रतिष्पर्धा गर्न नसक्ने र यसले यूके निर्यात व्यवसाय नै धरासायी हुन सक्ने धारणा राख्छन् शिक्षण पेशामा आवद्ध साउथ लन्डन एकेडेमीका निर्देशक यादव श्रेष्ठ । हाल ३० लाख भन्दा बढि रोजगारी निर्यात व्यापारसंग सम्वन्धित रहेकोले बेलायत बाहिरिए त्यो गुम्न सक्ने उनको चिन्ता छ ।

बेलायतमा वैदेशिक लगानी ४८ प्रतिशत (४९६ बिलियन पाउण्ड) इयू देशबाट मात्र छ । बाहिरिंदा यसले बेलायतको जिडिपीमा प्रत्यक्ष असर पार्ने देखिन्छ । इयूका कारण बेलायतको आप्रवासी नीतिमा उदारपन आएको र इयूबाट बाहिरिए आप्रवासीहरुले कडा नियमको सामना गर्नुपर्ने सम्भावना देख्छन् श्रेष्ठ ।

बेलायतमा केही रेष्टुरेन्ट सञ्चालन गरिरहेको एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारी भने छोड्दा बढि फाइदा देख्छन् । बेलायत इयूबाट बाहिरिए अर्थतन्त्रमा प्रत्यक्ष असर परेपनि युरोपबाट आउने आप्रवासी संख्या न्यून हुने र बेलायतले आफ्नो देशमा विश्वकै उत्कृष्ट सुरक्षा व्यवस्था कायम गर्न सक्ने धारणा भण्डारीको छ । रेष्टुरेन्ट व्यवसायीका नाताले इयूबाट बाहिरिए व्यवसायीले तेश्रो मुलुकबाट दक्ष कामदार झिकाउन सक्ने र अन्यत्र मुलुकबाट आएका यूके ग्रयाजुएट्सले बराबर अवसर पाउने विश्वास उनलाई छ ।

बेलायतले इयू छाडे राम्रो देख्छन् एकजना गैर आवासीय नेपाली अन्जान बगाले । इयूमा रहंदा आप्रवासी बढेर अहिले स्वास्थ्य र शिक्षा क्षेत्रमा भार, इयू कानुनले यहांका किसान, बिल्डर र व्यवसायीलाई सास्ती भएको, हाउजिङ समस्या एवं इयूमा रहिरहे बेलायतले केही वर्षभित्र आप्रवासी समस्या झन् बढि सामना गर्नुपर्ने तर्क बगालेको छ ।

ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलका महासचिव डा. कृष्ण अधिकारी यूकेले इयू छाड्न नहुने धारणा राख्छन् । दूरगामी महत्वको यो जनमत संग्रहलाई तात्कालिक केही समस्या भन्दा माथि उठेर समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई आंकलन गरि निर्णय लिनु आवश्यक हुने उनले सुझाए । एकल सामरिक शक्ति क्षीण भएको संयुक्त अधिराज्य फेरि पुरानो अवस्थामा फर्कने सम्भावना नभएको उल्लेख गर्दै उनी अलग अलग बाटो हिंडेर एकापसमा महासंग्राम लडेका युरोपका राष्ट्रहरु एक प्रगतिशील बाटोबाट सहिष्णुता, मानव अधिकार र सहकार्यको बाटोमा हिंड्नु युरोपियन युनियनको एउटा महत्वपूर्ण सफलता मान्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री