
रौतहट, २८ जेठ । केही वर्षअघिसम्म यस जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ ।
जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर खड्का भन्नुहुन्छ, “गोरु पाल्ने कृषकका गोठ रित्तिएका छन्, हलो बनाउने सिकर्मीहरु कहाँ कता गए होलान ? के गर्दै होलान ?”
विगत २० वर्ष अघिको सम्झना गर्दै चन्द्रपुर नगरपालिका–१२ का कृषक एकराज पोखरेल भन्नुहुन्छ, “अब त्यस्तो जमाना नै कहाँ रह्यो र ? कृषक सबै सुविधामुखी भए । अब हुँदा हुँदा त दुःखीले गर्ने भनिएको कृषि व्यवसाय तराईमा सुखीले गर्ने व्यवसाय पो भएको छ ।”
उहाँले भन्नुभयो, “जिल्लाका अधिकांश खेती गोरुले जोतेर भ्याउँथ्यो तर कृषिमा आध्ुनिक प्रविधि भित्रिएपछि पुराना चलन सबै हराए ।” बर्खा सुरु हुनैलाग्दा यहाँका खेत खाली हुने क्रममा रहेका छन् र कतिपय जमिन खाली भइसकेका छन् । तराईका जिल्लामा केही वर्षदेखि कृषि यान्त्रिकीकरणको प्रयोग गर्ने क्रम बढेको छ । जोत्ने, माटो सम्याउने, फसल ओसार–पसार गर्ने, मकै झार्ने, गहुँ, मुसुरो काट्ने र भित्र्याउने काम सबै कृषि यान्त्रिकीकरणले गर्ने गरेको छ जसका कारण कृषकलाई सुविधा पुगेको छ ।
त्यति मात्र होइन एकदमै कम समयमा खेतमै पाक्न लागेको गहुँ एकैपटक थ्रेसिङ गरेर कृषकको बोरामा हाल्ने हार्भेस्टर मेसिन पनि यस क्षेत्रका कृषकले केही वर्षदेखि प्रयोग गरिरहेका छन् । अब त मुलुकमा धान रोप्ने मेसिनसमेत भित्रिसकेको छ । धान रोप्ने मेसिनको प्रयोगले खर्चमा पनि कमी आउने अपेक्षा गरिएको छ । करिब रु १४ लाख पर्ने ट्र्याक्टर किनेर कतिपयले आवश्यकताअनुसार रोटाभेटर, टे«लर, थ्रेसर, कल्टी, तावाको प्रयोग गरी कृषकलाई सहजता प्रदान गर्दै आएका छन् ।
कृषिमा यान्त्रिकीकरणको प्रयोगमा वृद्धि भइरहे तापनि कृषकमा आवश्यक प्राविधिक ज्ञानको भने अभाव छ । कृषिमा यान्त्रिकीकरणका आधुनिक प्रविधि भित्रिएसँगै एकै दिनमा खेत खाली गरेर रोप्न सकिने अवस्था आएको एक जना कृषक रामबहादुर कार्की बताउनुहुन्छ ।
उहाँका अनुसार कृषि यान्त्रिकीकरणको प्रयोग र विस्तारलाई प्रोत्साहन दिन सरकारले यान्त्रिक आयातमा विशेष सहुलियत दिने हो भने तराईको अन्न उत्पादनमा नसोचेको कायापलट हुन सक्दछ ।
एक तथ्याङ्क अनुसार नेपालमा कृषि यान्त्रिकीकरण दर ४० प्रतिशत पुगेको छ । कृषि यान्त्रिकीकरणमा भएको वृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग्गामध्ये १० लाख ३० हजार हेक्टर जग्गा ट्र्याक्टरबाट जोत्ने गरिएको छ ।
यसैगरी, कृषि यान्त्रिकीकरणको प्रयोगदर तराई क्षेत्रमा ६१ प्रतिशत, पहाडमा १५ प्रतिशत र हिमालमा दुई प्रतिशत छ । कृषिमा यान्त्रिकीकरण बिना फसल उत्पादनमा वृद्धि हुन नसक्ने भन्दै कृषकले विशेष अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते