नेपाल बन्दबाट कष्टै कष्ट

नेकपा माओवादीले बिहीबार आह्वान गरेको नेपाल बन्दको कारण काठमाडौँको चावहिलमा सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन् । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

नेकपा माओवादीले बिहीबार आह्वान गरेको नेपाल बन्दको कारण काठमाडौँको चावहिलमा सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन् । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

काठमाडाँै, २७ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा बन्दकर्ताले राजधानीका विभिन्न स्थानमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् ।

बन्दकर्ताले आज बिहान तीनकुनेमा बा१ज २२०६ नंको ट्याक्सीमा आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै बन्दमा चलाएको भन्दै बन्दकर्ताले मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् ।

प्रहरीले जबर्जस्ती बन्द गराउँदै हिँडेका काठमाडौँमा ३४, ललितपुरमा १४ र भक्तपुरमा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

राजधानीमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सार्वजनिक यातायातका साधन कम चलेका भए पनि निजी सवारी साधन र मोटरसाइकल भने उल्लेख्य मात्रामा चलेका छन् ।

रोकिएका सात सय गाडी स्कर्टिङ गरेर पठाइयो

नेपाल बन्दका क्रममा चितवनमा रोकिएका सात सयभन्दा बढी गाडीलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ ।

चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले रोकिएका गाडीलाई जिल्लाबाट विभिन्न क्षेत्रको गन्तव्यमा पठाइएको र अहिले जिल्लामा कुनै पनि गाडी नरहेको जानकारी दिनुभयो ।
सो क्रममा बिहान चितवनको खैरहनीमा दुई वटा बस र गणेशस्थान नजिकै एउटा बसमा बन्दकर्ताले तोडफोड गरेका छन् ।

मे१ख २२२२, ना५ख १८२९ र ना५ख ६३८८ नंको बसमा तोडफोड हुँदा गाडीका सिसा फुटेको उहाँले बताउनुभयो । सो क्रममा बन्द गर्ने र गाडीमा ढुङ्गाहान्ने छ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।

पक्राउ पर्नेमा हिजो साँझ मसाल जुलुस निकाल्ने तीन जना छन्, माडीबाट एक जना तथा भरतपुरबाट दुई जना रहेको प्रहरीले जनाएको छ ।

बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ भने सवारी साधन यथेष्ट रुपमा चल्न सकेका छैनन् । पसल तथा उद्योग कलकारखानामा आंशिक प्रभाव परेको छ । बन्दमा मोटरसाइकल र रिक्सा भने चलेका छन् ।

प्रहरीबाट बन्दमा निःशुल्क बस सेवा सञ्चालन

नेपाल प्रहरीले बिहीबारको नेपालबन्दलाई मध्यनजर गर्दै उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

नेकपा माओवादीले गरेको बन्दले यात्रुलाई सास्ती भएपछि प्रहरीले दुई वटा बस निःशुल्क सञ्ंचालन गरी सेवा प्रदान गरेको हो । बस बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

उक्त बसहरु नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्साल र अर्को बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुन्ना, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्सालसम्म सञ्चालन गरिएको बताइएको छ ।

बन्दमा ६७ पक्राउ 

यसैबीच बन्दका क्रममा तोडफोड तथा आगजनी गर्ने र बन्द गराउँदै हिँड्ने काठमाडौँबाट २८, ललितपुरबाट १४, भक्तपुरबाट तीन, कास्कीबाट आठ, चितवनबाट एक, कालीकोटबाट १० र सुनसरीमा तीन गरी ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको तीनकुने मुनिभैरव नजिक बा१ज ८२०६ नंको ट्याक्सीमा कलङ्की जान्छु भनी चढेका दुई जना अपरिचित व्यक्तिले ट्याक्सी रोकी पेट्रोल छर्केर आगजनी गर्दा ट्याक्सीको भित्रिभाग पूर्णरुपमा जल्नुका साथै सबै सिसा फुटेर क्षति भएको छ भने तार्केश्वर नगरपालिका–२० मनमैजुमा बा१ज ८१३० नंको माइक्रोबसमा ढुङ्गा प्रहार गर्दा अगाडि र साइडको सिसा क्षति भएको छ ।

बन्दकर्ताले त्रिपुरेश्वरमा बा३ख २२२७ नंको साझा बसमा ढुङ्गा प्रहार गर्दा अगाडिको शिशा फुटेर क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीमा ना५ख २७१२ र ना४ख ७४०६ नंको रात्रि बस, चितवनमा ना५ख १८२९, ना५ख ६२८८ र मे१ख २२२२ नंको बस, झापा शान्तिनगर–१ स्थित मेची राजमार्गमा ना३ख ४६७१ नंको गोलिया बोकेको ट्रकमा र पोखराबाट इलाम पशुपतिनगरतर्फ पर्यटक बोकी जाँदै गरेको ग१प १७२ नंको बसमा ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री