शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: १०:१९ | UK Time: 04:34

अल विदा अम्बर गुरुङ

वीनेपाली
२०७३ जेठ २५ गते ०:१७

Amber-Gurung
काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार निधन भएको छ ।

राष्ट्रिय गानका संगीतकार ७९ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।

खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत थिए । उनलाई आइतबार रातीबाट भेन्टिलेटरमा राखिएको थियो ।

गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जिलिङमा भएको थियो ।

भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभएको थियो । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए’, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।

उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

उनको निधनपछि वरिष्ठ सञ्चारकर्मी सुमन खरेलले फेसबुकमा लेखेका छन्, अब बाँकी रहे केवल उहाँका अमर सृजनाहरु, जो धेरैले बर्षौं बर्ष गुनगुनाइ रहनेछन् । नेपालको समय अनुसार आज मंगलबार बिहान २.३७ मा बरिष्ठ संगीतसाधक अम्बर गुरुङको ग्रान्डी अस्पतालमा निधन भएको छ ।

अर्का पत्रकार राजकुमार दिक्पाल लेख्छन्, नेपाली संगीतको एउटा युगको अवसान । हार्दिक श्रद्धासुमन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक