काँग्रेसको आपत्तिले सदनको बैठक स्थगित

काठमाडौँ, २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आव २०७३, ७४ को बजेटसम्बन्धी भाग १ रातो किताब वितरण नगरिएकामा आपत्ति जनाउँदै उक्त पुस्तक वितरण नभएसम्म सदन चल्न नदिने अडान लिइएपछि सभामुख ओनसरी घर्तीले आधा घन्टाका लागि बैठक स्थगन गर्नुभएको हो ।

प्रमुख प्रतिपक्ष दलका सांसदले बैठकमा बजेटमा समावेश आयोजना र कार्यक्रम रातारात फेरबदल भएको आरोप लगाउँदै आआफनो स्थानबाट उठेर विरोध जनाएका थिए ।  बैठकमा काँग्रेसका वीरबहादुर बलायरले आगामी आवकोे विनियोजन बजेट र योजना समेटिएको भाग १ रातो किताब नबाँडिएकामा आपत्ति व्यक्त गर्दै रातो किताबमा रातारात किताब फेरबदल गर्ने काम भएको भनी आपत्ति व्यक्त गर्नुभएको थियो ।

सांसद बलायरको भनाइपछि योजना आयोगबाट पुस्तिका प्राप्त भए पनि केही कुरा सच्याउनुपर्ने भनेकाले समय लागेको सभामुखले बैठकमा जानकारी दिनुभयो । त्यसको लगत्तै काँग्रेसका सचेत ईश्वरी न्यौपानेले बजेट वितरणपछि तत्कालै रातो किताब सांसदको हात हातमा पुरयाउनुपर्नेमा त्यो व्यवस्था नभएको भनी सरकारको आलोचना गर्नुभएको थियो ।

आफूहरु भोलि(शनिबार)देखि जिल्ला जानुपर्ने भएकाले जनताले कुन कुन आयोजना बजेटमा समेटिएको भनी सोधेमा के उत्तर दिने भनी प्रश्न गर्दै उहाँले तत्काल किताब उपलब्ध गराउन माग गर्नुभयो ।

सभामुखको रातो पुस्तक उपलब्ध गराउन केही समय लाग्ने आशयको जवाफ आए पनि प्रमुख प्रतिपक्षका सांसदले उठेर विरोध जनाइरहनुभएको थियो ।

त्यसपछि सभामुखले बोल्न समय दिएपछि काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अर्थमन्त्रीले बैठकमा सांसदलाई वितरण गर्छु भनेको रातो किताब बाँड्न नसक्ने हो भने कि माफी माग्नुपरयो नत्र भए संसद् चल्न नसक्ने चेतावनी दिनुभयो ।

प्रमुख सचेतक श्रेष्ठले संसदको बैठक एक घन्टालाई स्थगन गरेर भए पनि किताब उपलब्ध गराउन अडान राखेपछि सभामुखले आधा घन्टाका लागि सदन स्थगन गर्नुभयो ।

मोर्चाका तर्फबाट ध्यानाकर्षण 
यसअघि बैठकको प्रारम्भमा मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले लामो समयदेखि मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकार र सदनले पनि कुनै चासो नराखेको गुनासो गर्नुभयो । सदनको बैठकको कार्यसूचीमा समेत आफूहरुका लागि समय छुट्याइएको नदेखिएको बताउँदै उहाँले आफूहरु वार्ताको विरोधी नभएको बताउनुभयो ।

अस्थाका आधारमा आन्दोलनमा रहेका आफ्ना केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तालाई थुनिएको बताउँदै सांसद कर्णले आफूहरुलाई संसद्मा बस्ने चाहना हुँदाहँुदै पनि मधेसी, आदिवासी जनजातिको माग सम्बोधन नगरेसम्म त्यो सम्भव नरहेको प्रतिक्रिया दिनुभयो ।

सरकारले आफ्ना माग र असन्तुष्टिलाई किन सुनिरहेको छैन भन्दै उहाँ सरकारले आन्दोलनरत दलले उठाएका मागलाई सम्बोधन गर्न चासो नदेखाएसम्म संसद्को बैठक बहिष्कार गर्ने घोषणा गर्दै बाहिरिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री