भार्सेली समाज युकेको वार्षिक साधारणसभामा आगलागी पीडितलाई सहयोग

Bharse

लन्डन । बेलायतबासी भार्सेलीहरूको साझा संस्था (भार्सेली समाज युके) को नवौं साधारण सभा तथा वार्षिक भेटघाट कार्यक्रम टनब्रिजमा सम्पन्न भएको छ । गत २८ मेका दिन कार्यक्रम भएको हो । सचिव छत्र श्रीसले सञ्चालन गरेको उक्त कार्यक्रम अध्यक्ष क्याप्टेन रिटायर्ड मेख गलामीको अध्यक्षतामा भएको थियो ।

समाजका जेष्ठ व्यक्तिहरु सल्लाहकार क्याप्टेन रिटायर्ड रुमबहादुर पुन र दिलबहादुर रानाको हातबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रम शुरु गरिएको थियो भने समाजको आर्थिक प्रतिवेदन प्रेम बुराथोकीले पेश गरे । स्वागत मन्तब्य उपाध्यक्ष क्याप्टेन रिटायर्ड कुलबहादुर थापाले दिएका थिए ।

करिब ३ सय सहभागी उक्त कार्यक्रमको प्रमुख अतिथि थिए गुल्मी जिल्ला समाज युकेका नवनियुक्त अध्यक्ष राम गलामी । अतिथिहरुमा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार एवं प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक ओमप्रसाद थापा, टनब्रिज नेपाली कम्युनिटीका अध्यक्ष ले.रि मोहन राना, सचिव भेष थापा, टनब्रिज लेडिज नेपाली कम्युनिटीकी अध्यक्ष शिला राना लगायत थिए ।

मन्तव्य दिने क्रममा संस्थाका सक्रिय सदस्य मोती पुनले भार्सेलीहरूको सक्रियता र ऐक्यवद्धता गुल्मी जिल्ला समाज युकेमा पनि उत्तिकै रहनुपर्ने बताए । उनले आफ्नो गाविसमा भइपरी आउने आपत विपतमा एकजुट हुन अति आवश्यक रहेको पनि बताए ।

सो दिन भेटघाट मात्र नभएर आफ्नो जन्मगाउं र भूमिका निम्ति के कसरी सहयोग र विकास गर्न सकिन्छ भनि वृहत छलफल भएको थियो । यसै क्रममा गत वैशाख २१ गते भार्से गाविस १, भैंसे गाउंका गंगाबहादुर थापा मगरको घरमा आगलागी हुंदा अन्नपात, लत्ता कपडा जलेर नष्ट भएको र लगाएको कपडाबाहेक सबै नष्ट भएपछि थापा अहिले अर्कैको गोठमा शरण लिएर बसेकामा पीडित गंगाबहादुरको पुनर्बासका लागि भार्सेली समाज युकेको पहलमा आर्थिक सहयोग भएको छ । गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको प्रस्तावमा भार्सेली समाज युकेले चार लाख पैंतीस हजार रूपैयां बराबरको आर्थिक सहयोग संकलन गरेको हो । सोका लागि ओम थापाको सक्रियतामा १ हजार ४० पाउण्ड, भार्सेली समाज युकेबाट ८५० पाउण्ड, गुल्मी जिल्ला समाज युकेबाट ३२२ पाउण्ड, ग्वाघाली समाज युकेका अध्यक्ष देब पुनको सक्रियतामा २७० पाउण्ड, मोति पुनको सक्रियतामा २०० पाउण्ड, प्लमस्टिड मगर महिला समूहबाट लक्ष्मी गलामी पुनबाट १०० पाउण्ड संकलन गरिएको थियो । त्यस्तै गुल्मी भार्सेको पोस्ट अफिसको निम्ति सोलार पावर र नयां इन्भर्टरका लागि ५५० पाउण्ड, थाप्ले युवा क्लबका लागि ५०५ पाउण्ड संकलन गरिएको थियो ।

शुभकामना दिने क्रममा थापाले गुल्मी दर्जाकोटमा भएको भीषण आगलागी पीडितहरुको दुःखमा मलम लगाउन बेलायतका गुल्मेलीहरूको साझा संस्था गुल्मी जिल्ला समाज युके, प्रथम नौमती बाजा युके समूह, क्षेत्री समाज युके, मेडिस्टोन नेपाली कम्युनिटी लगायत अन्य विभिन्न संस्थाको पहलमा लगभग १४ लाख रूपैयां संकलन गरी १२ लाख १० हजार रूपैयां एकमुष्ट हस्तान्तरण गरिएको जनाए । थापाले भार्सेली समाज युकेका अध्यक्ष तथा पदाधिकारीहरू र सक्रिय सदस्यहरूको समेत ठूलो सहयोग रहेको भन्दै धन्यवाद प्रकट गरेका थिए ।

गुल्मीको अन्य गाविसहरुमा पनि आगलागीबाट ठूलो क्षति पुगेकोमा गुल्मी जिल्ला समाज युकेले २ लाख 
रुपैयां र भार्से गाबिसका गंगाबहादुरको विपन्न परिवारलाई ३२२ पाउण्ड सहयोग दिने घोषणा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष राम गलामी गरेका थिए । सहयोग रकम उनले भार्सेली समाज युकेका अध्यक्ष मेख गलामीलाई हस्तान्तरण गरे ।
समाजका सदस्यहरू गंगा राना, दुर्गा बुराथोकी, रत्न काउचा, लाल काउचा, भीम पुन, गिरी पुन, राम राना, मोति श्रीसको सक्रियतामा कार्यक्रम भएको थियो । ओमप्रसाद थापा

प्रतिक्रिया

सम्बन्धित सामाग्री