ग्रेटर रेडिङ नेपलिज कम्युनिटीमा भांडभैलो

grnca_logo

लन्डन । च्यारिटेवल संस्था ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनमा भांडभैलो शुरु भएको छ । अध्यक्ष मानबहादुर गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउंदै कार्यसमिति पदाधिकारीहरुले राजीनामा दिने क्रम बढेपछि नेतृत्व नै संकटमा पर्ने स्थिति देखा परेको छ । संस्थामा आर्थिक पारदर्शीताको अभाव र अध्यक्षले मनोमानी ढंगले संस्था चलाएको पदाधिकारीहरुले आरोप लगाएका छन् । भूकम्प पीडितलाई उठाइएको आर्थिक रकममा अनियमितता भएको दावी समेत पदाधिकारीको छ ।
यही शनिबार हुने संस्थाको वार्षिक साधारण सभामा विवादबारे तार्किक वहस हुने अपेक्षा कार्यसमिति सदस्यहरुले गरेका छन् ।

पछिल्लो समय एसोसिएसनकी उपाध्यक्ष उषा गुरुङ, महासचिव नवराज न्यौपाने र सदस्य युवराज गुरुङले पदबाट राजीनामा दिएका छन् ।

च्यारिटीबाट संकलित १६ हजार पाउण्ड (करिब २३ लाख रुपैयां) च्यारिटी प्रक्रिया बिना नेपाल पठाएको र संस्थाको आन्तरिक लेखापरिक्षण नगरेको आरोप अध्यक्षमाथि छ ।

गत महिना संस्थाकी उपाध्यक्ष श्रीमती उषा गुरुङले अध्यक्ष समक्ष विमति राख्दै यूके च्यारिटी कानुन अनुसार संस्थाको हरहिसाव वर्षेनी लेखा परीक्षण गर्नुपर्ने र समाजका पूर्व लेखापरीक्षकद्वारा बारम्बार लेखा परिक्षणका लागि आव्हान भएपनि सम्वन्धित निकायवाट यस सम्वन्धि प्रगतिबारे जानकारी नआएको, भूकम्प पीडितको राहतका लागि उठाइएको रकम अध्यक्ष स्वयं संलग्न भएर पुनर्निर्माण सम्वन्धि प्रोजेक्टको पक्षमा निर्णय गराउन सफल भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनको विमतिमा रेडिङ कप फुटबल सम्पन्न भएर ७ महिना बितिसक्दा पनि तिर्नुपर्ने बिल आइरहेको, एम्बुलेन्सको पैसा तिरे नतिरेकोबारे अझै अनविज्ञ रहेको, कुनै पनि कार्यसमितिका सदस्यले स्वेच्छाले राजीनामा दिएमा स्वतः स्वीकृति हुने विधानको वेवास्ता गरेको जस्ता असन्तुष्टि पोखेकी थिइन् ।

कार्यसमितिभित्र गत वर्ष अध्यक्षको रेडिङ लन्डन रोडस्थित जक्सन ग्रोसर्सले अन्डर एजलाई अल्कोहल बेचेर काउन्सिलले जरिवाना गरेकोबारे स्मरण गराउंदै त्यस्तो व्यक्तिबाट समाजले के आशा गर्ने भन्ने प्रश्न पनि उठाएका छन् ।

आठसय जना भन्दा बढि सदस्यहरु भएको संस्थाले रेडिङमा बस्ने करिब ६, ७ हजार नेपालीको प्रतिनिधित्व गर्ने भएकाले यसको आफ्नै महत्व भएको सदस्यहरु बताउंछन् । संस्थाले भूकम्प पीडितका लागि राहत, रेडिङमा नेपाली भाषा कक्षा र लाइफ इन यूके कार्यक्रम सञ्चालन, स्वास्थ्य सचेतना, स्वास्थ्य परिक्षण, दशैं कार्यक्रम, रेडिङ कप फुटबल जस्ता प्रभावकारी काम गरेको छ ।

विवादबारे टेलिफोन गर्दा अध्यक्ष सम्पर्कमा आएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री