लन्डन मेयर बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रममा आउन नसक्ने

mp_sadiq_khan

लन्डन मेयर सादिक खान

लन्डन । लन्डन पार्लियामेन्ट स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रममा लन्डन मेयर सादिक खान उपस्थित हुन नसक्ने भएका छन् । कार्यक्रम आयोजकबाट तर्फबाट कपिलबस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठ, गणेश खड्का, एभरेष्ट गौतम र गणेश दाहालले कार्यक्रममा उपस्थित भइदिन गरेको निम्तोमा मेयर खान सहभागी हुन नसक्ने मेयर कार्यालयले जानकारी दिएको हो ।

तर, खानले निमन्त्रणा गरेकामा आयोजकप्रति आभार व्यक्त गरेको जनाइएको छ । आयोजकले खान भर्खर मेयर निर्वाचित भएकामा बधाइ समेत दिएका थिए ।

यही शुक्रबार मे २० तारिख सांझ ५.३० देखि ८.३० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

उक्त अवसरमा नेपालबाट आएका नेपाल तामाङ् लामा घेदुङ सँघका अध्यक्ष एवं साँग्दो पालहारी बौद्ध विद्यालय, पोखरा गुम्बाका प्रमुख लामा पाल्देन तामाङ्बाट विश्व शान्तिको लागि प्रवचन तथा दिप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको मिडिया संयोजक एभरेष्ट गौतभले जानकारी दिए ।
कपिलवस्तु समाज यूकेको संयोजकत्वमा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनए यूके र बेलायतका अन्य दर्जनौं नेपाली संघसंस्थाको सहयोग र सहकार्यमा बुद्ध जयन्ती मनाउन लागिएको हो ।
बुद्ध जयन्तीको सफलताका लागि लन्डनस्थित नेपाली दूतावासले शुभकामना दिइसकेको छ । कार्यक्रममा झण्डै ५ दर्जन नेपाली संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।

कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले हालै एक शुभकामना सन्देश दिंदै कार्यक्रमबाट गौतम बुद्धले दिएको शान्तिको सन्देश संसारभर फैलाउन तथा नेपालको पर्यटन प्रवर्धन साथै बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भएको सन्देश विश्वसामु पुर्याउन समेत सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मा, सांसद सिमा मल्होत्रा, इलिङ एण्ड हिलिङडन एसेम्बली मेम्बर डा. ओन्कार सहोतासहित यहांका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री