अल्ट्रा धाविका मिरा राई बेलायतमा अभिनन्दित

Mira Rai
लन्डन । अल्ट्रा धाविका मिरा राईलाई बेलायतका विभिन्न पांच संघसंस्थाले अभिनन्दन गरेका छन् । केन्ट, फोक्सटनस्थित ग्रामर स्कुल सभाहलमा सगरमाथा तेक्वान्दो डोजाङ, नेपाली युवा समूह बेलायत, किरांत राई यायोक्खा, जेन मार्सल आर्ट र भोजपुर वेलफेयर सोसाइटी यूकेले अभिनन्दन गरेका हुन् ।
ति संघसंस्थाले धाविका राईको सहयोगार्थ झण्डै २० हजार पाउण्ड संकलन समेत गरेका छन् । विशेष सम्मानसहित आर्थिक सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाली युवा समूह यूकेका कार्यक्रम संयोजक कुमार थापाले बताए ।
सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष मास्टर राष्ट्र राईको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा वक्ताहरुले धाविका मिरा राईले देशको नाम उंचो राख्नु गौरवको विषय भएको बताए । वक्ताहरुले उनलाई आफ्नो लक्ष्यमा दृढता पूर्वक अविचलित भएर विश्वसामु नेपाललाई चिनाइरहन कामना गरे ।

कार्यक्रमकी प्रमुख अतिथि मिराले संसारभर छरिएर रहेका नेपालीको माया, प्रोत्साहन र प्रेरणाले नै सफलता हासिल गरिरहेको र आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता जनाइन् ।
विश्व च्याम्पियन बन्ने यात्रामा हिंडेकी मिराले यस वर्षको अल्ट्रा सिरिजको नयां सिजन २०१६ बेलायती भूमिबाट सुरुवात गरेकी छन् । बेलायतमा गत ३० अप्रिलमा सम्पन्न ३७ किलोमिटरको ‘थ्रि पिक्स’ दौडमा हजारौं प्रतिस्पर्धीलाई उछिन्दै उनले दोस्रो स्थान हात पारेकी छिन् । उनले ७ मेमा ७५ किमिको ट्रान्स भुल्कानिया स्पेन, ४ जुनमा ५५ किमिको अल्ट्रा स्काइ म्याराथन पोर्चुगल र २४ सेप्टेम्बरमा १ सय १० किमिको अल्ट्रा पिरिनेउ स्पेनमा प्रतिस्पर्धा 
गर्ने तालिका छ ।
नेपाली र बेलायती राष्ट्रिय धुनबाट सुरु गरिएको पहिलो चरणको कार्यक्रममा नेपाली युवा समूह यूकेका प्रवक्ता धिरज राईले स्वागत मन्तव्य दिए । उक्त कार्यक्रम नेपाली युवा समूह यूके महिला संयोजक सरला थापा र सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक डिल्लीराम राईले सञ्चालन गरेका थिए ।

कार्यक्रमको मध्यतिर नेपाली युवा समूहका तर्फबाट अस्मिता आले, निशा पुन र सानु रानाले नेपाली फिल्मी प्रेमपिण्डको ‘गैरी खेतको’ गीतमा नृत्य प्रस्तुत गरे भने निस्ता पुनले नेपाली फिल्म ‘नाई नभन्नु ल ३’ को चर्चित गीत ‘कम्मर माथि पटुकी’ मा एकल नृत्य गरिन् । गायक किरण गुरुङ कान्छाले ‘फैलियो माया दुबो सरी’ र ‘दर्शन नमस्ते’ प्रस्तुत गरे । साथै गायक गुमानसिंह माखिम र मनी (छेनु) राईले दर्शकहरुलाई नचाए । सगरमाथा तेक्वान्दो डोजाङले तेक्वान्दो कला प्रदर्शन गरेको थियो ।
कार्यक्रममा प्रमुख संयोजक तथा एनआरएनए बेलायतका उपाध्यक्ष मास्टर राष्ट्र राई र नेपाली युवा समूह यूकेका अध्यक्ष रिचर्ड गुरुङले सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री