पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन हुने

buddha4

लन्डन । बेलायतवासी नेपाली युवाले यहांको संसद अगाडि बुद्ध जयन्ती मनाउने तयारी गरेका छन् । यही मे २० तारिख सांझ ५.३० देखि ८.३० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको आयोजक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मबारे भ्रम उत्पन्न भइरहंदा उनी नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्व सामु फैलाउन कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रमका अवसरमा गत वर्ष भूकम्पमा परि आफ्नो अमूल्य जीवन गुमाउने सम्पूर्ण दिवंगतको सम्झना तथा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको कार्यक्रम संयोजक गणेश खड्काले जनाए ।

कार्यक्रमबाट नेपालको पर्यटन प्रवर्धन समेत हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मासहित यहांका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

मिडिया कोअर्डिनेटर एभरेष्ट गौतमले कार्यक्रम सफल बनाउन नेपाल सरकार, पर्यटन मन्त्रालय, बेलायतस्थित कुटनीतिक नियोग, बिभिन्न संघसंस्था तथा सर्वसाधारणलाई आग्रह गरिएको बताए । उक्त कार्यक्रमको व्यवस्थापन संयोजक छन् गणेश दाहाल ।

आयोजकले बेलायतवासी समस्त नेपालीमा त्यस सांझ सहभागी भइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री