लन्डन । एउटा गैर सरकारी संस्था टिच फर नेपालका सहसंस्थापक तथा प्रमुख कार्यकारी शिशिर खनालले नेपालमा विद्यालय शिक्षाको स्थिति भयावह रहेको बताएका छन् ।
लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलुकी आयोजित एक अन्तरकृयामा बोल्दै खनालले सरकारले सामुदायिक विद्यालयहरु सञ्चालन गर्न वर्षेनी अरबौं रुपियां खर्च गरिरहेको तर तिनको गुणस्तर सुधारमा भने खासै ध्यान नदिएकाले त्यस्तो स्थिति आएको बताए ।
उनले सन् २००५ मा चौध लाख बालबालिका कक्षा एकमा भर्ना भएका, तर गत वर्ष (सन् २०१५ मा) झण्डै चार लाख मात्रै एसएलसी परीक्षामा सहभागी भएको तथ्यांक प्रस्तुत गरे । ‘एक वर्षमा ती दश लाख विद्यार्थी कता हराए यो हाम्रो शिक्षा प्रणालीकालागि निकै ठूलो चुनौती हो’, उनले भने ।
अहिले पनि देशभरिका झण्डै ८५ प्रतिशत बालबालिका सामुदायिक विद्यालयहरुमा पढिरहेका तर सामुदायकि विद्यालयहरुबाट सहभागी मध्ये झण्डै ३० प्रतिशतमात्रै एसएलसी उत्तीर्ण हुने गरेको उनले बताए ।
सरकारको कुनै लगानी नभएकी निजी तथा आवासीय विद्यालयहरुका झण्डै ९० प्रतिशत विद्यार्थी एसएलसी उत्तीर्ण हुने गरेका छन् ।
यस्तो स्थितिमा सुधार ल्याउन चार वर्ष पहिले स्थापना गरिएको स्वयंसेवी संस्था, टिच फर नेपालले अहिलेसम्म एकसयभन्दा बढि स्नातकहरुलाई सिन्धुपाल्चोक, ललितपुर र धनुषा जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षकको रुपमा पठाइसकेको छ ।
एसएलसी फेल हुने सामुदायिक विद्यालयका विद्यार्थीमध्ये झण्डै ९० प्रतिशत अंग्रेजी, गणित तथा विज्ञान विषयमा अनुत्तीर्ण भएको पाइएकाले स्वयंसेवी शिक्षकहरुलाई तिनै विषय पढाउन विद्यालयहरुमा पठाउने गरिएको खनालले बताए ।
फेलो भनिने ती शिक्षकहरुले दुई वर्षसम्म गाउंमै बसेर पढाउने गरेका छन् ।
नेपालको कूल जनसंख्याको केवल दश प्रतिशतले मात्रै एसएलसी उत्तीर्ण गरेको बताउंदै खनालले विद्यालय शिक्षामा सुधार नगरेसम्म दक्ष जनशक्ति तयार गर्न नसकिने बताए । आफ्ना फेलोहरुले कक्षा कोठामा पढाउने मात्र नभै गाउंघरमा परिवर्तनको संवाहकको रुपमा पनि काम गरिरहेको बताउंदै खनालले सामाजिक न्याय र शिक्षामा समानताकालागि आजीवन काम गर्ने युवाहरु तयार गर्ने आफ्नो संस्थाको लक्ष्य रहेको बताए । उनले संसारभरि फैलिएका नेपालीहरुलाई यो अभियानमा सघाउन अपील पनि गरे।
उक्त कार्यक्रममा बोल्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्य, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ लगायतका वक्ताहरुले शिक्षामा सुधार गर्ने यो अभियानलाई सबैले आआफ्नो ठाउंबाट सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।
आफ्ना सहकर्मी एवं ‘टिच फर नेपाल’ का भर्ना तथा छनोट व्यवस्थापक शैलेन्द्र झाका साथ अमेरिका र युरोपको भ्रमण गरी बेलायत आइपुगेका खनालले आउंदो साता नेपाल फर्कने बताए ।
तस्विरः सुरज पौडेल
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान