शनिबार, कार्तिक ८ २०७७ | Sat, October 24, 2020
नेपालको समय: ०९:४१ | UK Time: 04:56

खादा, सम्मान र हामी नेपाली

वीनेपाली
२०७३ वैशाख २२ गते २२:३२

BK Kaini_5

खादा, सम्मान र नेपालीहरुको कार्यक्रम आजकल एक अर्काको परिपूरक बनेका छन् । नेपालमा मात्रै हैन, विदेशका हरेक कार्यक्रमहरुमा खादा एउटा अपरिहार्य वस्तु बनेको छ । नेपालीहरुको कुनै पनि कार्यक्रममा खादा ओढ्ने र ओढाउने कोही भएन भने खल्लो देखिन्छ । केही समय पहिले मैले एउटा  लेख लेखेको थिएँ, ‘युकेका नेपाली : अब त केही सिक्ने कि ?’ उक्त लेखमा नेपालीहरुले संचालन गर्ने भद्दा कार्यक्रमहरुको बारेमा विभिन्न कुरा औल्याएको थिएँ । उक्त लेख प्रकाशित भई सकेपछि कतिपय मित्रहरुले ‘खादाको बारेमा लेख्न छुटाउनु भएछ’ भन्ने प्रतिक्रिया दिनु भएको थियो । खास उक्त लेखमा खादाको बारेमा लेख्न मन हुँदाहुदै पनि छुटाएको थिएँ । यसको मुख्य कारण थियो खादा धार्मिक परम्परा र रितिरिवाजसंग जोडिएको हुनाले यसको बारेमा तर्क बितर्क गरे विवाद आउन सक्छ कि भन्ने लागेको थियो ।

म बेलायतमा  एउटा स्थानिय निकाएको जननिर्वाचित प्रतिनिधि भएको हुनाले नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा मात्रै हैन, विभिन्न बेलायती संघ, संस्था र व्यक्तिहरुले आयोजना गर्ने थुप्रै  कार्यक्रमहरुमा पनि सहभागी हुन्छु । त्यसैले मलाई नेपालीहरुले आयोजना गर्ने कार्यक्रम र बेलायतीहरुले आयोजना गर्ने कार्यक्रमहरुलाई नजिकबाट नियाल्ने, राम्रा-नराम्रा पक्षहरुको विश्लेषण गर्ने र केही सिक्ने मौका पनि मिल्छ । हालै मात्रै नेपालीहरुको नयाँ वर्ष २०७३ को कार्यक्रम देशविदेशमा विभिन्न कार्यक्रमहरु गरि मनाइयो । यो अवसरमा मलाई पनि विभिन्न कार्यक्रमहरुमा  सहभागी हुनका लागि निम्ता आएको थियो र मैले पनि समयले भ्याएअनुसार केही कार्यक्रमहरुमा उपस्थित भएँ । हालसालै नेपालीहरुले आयोजना गरेका यस्ता केही कार्यक्रमहरुमा सहभागी भएपछि मलाई यो लेख लेख्न मन लाग्यो ।

हामी सबैलाई थाहा भएको कुरा हो, खादा मुख्यतय: बौद्ध धर्म र संस्कृतिसंग जोडिएको छ । म बौद्ध धर्मको विज्ञ त हैन, तर मैले थाहा पाएअनुसार बौद्ध धर्म र संस्कृति अनुसार खादा एउटा पवित्र दुपट्टा वा गलबन्दी हो, जसलाई खास कुनै धार्मिक अवसर, सामाजिक वा पारिवारिक महोत्त्सव र अवसर जस्तै, जन्म, विवाह, उत्सव आदिको अवसरमा लगाउने गरिन्छ । यसलाई पवित्रता, माया र प्रेमको चिनोको रुपमा लिने गरिन्छ । तिबेतियन बौद्ध धर्म र संस्कृतिअनुसार खादा खासमा सिल्कबाट बनाउने गरिन्छ र  यो सेतो रंगको हुन्छ । यसलाई खादा दिने मानिसको विशुद्ध माया, प्रेम र सद्भावनाको चिनोको रुपमा लिने गरिन्छ।

अब प्रवेश गरूँ यो लेखको मुख्य चुरोतर्फ ।  नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा आजकल मुख्य अतिथिदेखि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजका भद्रभलाद्मी, मान्यगन र आयोजकहरुले खादा लगाउने कुरा सामान्य भई सक्यो । कतिपय  कार्यक्रमहरुमा त सहभागी अधिकांशहरुले खादा लगाएको पनि देखेको छु मैले । त्यहीमाथि पनि विभिन्न रंगीचंगी खादाले हरेक मानिसलाई रंगीन खादामय बनाएको  पनि देखेको छु ।

अव्यबस्थित खादा संस्कृतिले कार्यक्रमको समय अनावस्यक रुपमा लामो हुने, सहभागीहरुलाई कार्यक्रमप्रति बितृष्णा हुने, खर्च पनि बढी हुने र लगाउने मानिसलाई पनि कता कता नराम्रो महशुस पनि हुनसक्छ ।

खादा लगाउदा  सबैले राम्रो नै ठान्छन भन्ने पनि हैन । मैले पनि विगतमा धेरै कार्यक्रमहरुमा खादा लगाएको छु । मलाई खादा लगाउँदा न त मैले आफू ठूलो भन्ने ठान्छु, न त अरु भन्दा कुनै फरक नै महशुस गर्छु । यति मात्रै हैन न त म यसको बारेमा मुख खोलेर कार्यक्रममा बोल्न वा विद्रोह नै गर्न सक्छु ।  चुपचाप खादा ओडेर मुसुक्क हाँस्नु र कार्यक्रम संचालकको नियम मान्दै वक्ताहरुको लामो भाषण सुन्नुभन्दा अरु कुनै विकल्प नै छैन । त्यसैले त यो लेखमार्फत आफ्नो मनको कुरा व्यक्त गर्ने जमर्को गरेको छु ।

मेरो विचारमा कार्यक्रममा मुख्य अतिथि भनेको जम्मा एक जना हुन्छ । अरु सबै जना अतिथिहरु हुन् र कसैलाई निम्ता गरेपछि कोही अतिथि र कोही गैर अतिथि हुने कुरै भएन । त्यसैले, खादा लगाइदिने मन नै छ भने कार्यक्रमको एक जना मुख्य अतिथिलाई मात्रै खादा लगाउँदा समयको पनि वचत हुने, खर्च पनि जोगिने र कार्यक्रम पनि  व्यवस्थित हुन्छ जस्तो लाग्छ मलाई ।

खादालाई न त पुन: प्रयोग गर्न सकिन्छ, न त यसलाई अरु कुनै कुरामा उपयोग नै गर्न सकिन्छ । मलाई थाहा छैन,  एकपटक प्रयोग भई सकेको खादाको विसर्जन कसरी  गरिन्छ । यसलाई खालि एकपटक प्रयोग गर्ने र रद्धिको टोकरीमा फाल्ने हो भने कसरी होला धर्म र संस्कृतिको सम्मान, अनि खादा खरिद गर्ने रकमको उपयोग । हुन त सबै कुरालाई पैसासंग तुलना गर्न हुन्न, तर पैसाको सही उपयोग कसरी र कुन तरिकाले  गर्ने भन्ने कुरा पनि एउटा विचारनीय पक्ष हो । मलाई लाग्छ नेपालीहरुले विभिन्न कार्यक्रमहरुमा खादा खरिद गर्न जति रकम खर्च गर्छन, त्यो रकमलाई मात्रै बचत गर्ने हो भने एउटा कुनै राम्रो जनहितकारी वा उपकारी सामाजिक कार्यक्रम संचालन गर्न सकिन्छ ।

आजकल खादालाई सामान्य खादाको रुपमा मात्रै हैन, खादामा नै आयोजक संघ, संस्थाको नाम नै छपाउने र यसलाई व्यापारीकरण पनि गर्ने गरिन्छ । अनि त्यसमाथि आजकल त विभिन्न रंग (जस्तै रातो, हरियो, निलो, आदि), रुप र प्रकार (जस्तै ढाका, रंगिन स्कार्फ आदि) का खादाहरुको  पनि प्रयोग भएको पाएको छु । म यसलाई धर्म र संस्कृतिको सम्मान हैन कि एउटा विकृतिको रुपमा लिन्छु ।

हामी नेपालीहरु सम्मान खोज्ने  र  दिने कुरामा अरुभन्दा अलि बढी नै छौं भन्ने महसुस गरेको छु । त्यसैले पनि यो खादा संस्कृतिले बढावा पाएको हो कि ? कतिपय कार्यक्रमहरुमा त आयोजक आफैंले आफ्नो समिति वा आफ्नो समूहलाई नै सम्मान गरेको पनि देखेको छु । अरु कुनै समूह, समिति वा व्यक्तिले आफुलाई सम्मान गर्नु त ठिकै हो, तर आफैंले कार्यक्रम आयोजना गर्ने अनि आफै मंचमा खादा ओडेर वा अरु कोहीलाई बोलाएर खादा ओडाउन लगाउनु भनेको कुन्नि के उखान छ नि ‘ देख्नेलाई भन्दा …. ‘ जस्तै हो जस्तो  लाग्छ मलाई ।

मेरो यो लेखको मुख्य आशय भनेको खादा लगाउने कुरा नराम्रो भन्ने हैन,  यसलाई ब्यवस्थित र सम्मानजनक बनाउनु पर्छ भन्ने हो । त्यसो भए मात्रै खादा लगाउने र लगाइदिने सबैलाई सम्मान गरेको, धर्म र संस्कृतिको मान राखेको र कार्यक्रम पनि ब्यवस्थित भएको महशुस होस् ।

(यस लेखको लेखक डा. कैनी क्वीन एलिजाबेथ अस्पताल, उलविच, लण्डनमा बरिष्ठ ब्यबस्थापक; डार्टफोर्ड   बरो काउन्सिलको काउन्सिलर; ग्रीनवीच स्कूल अफ म्यानेजमेन्टको असोशियट लेक्चरर र एन. आर. एन. युके को सल्लाहकार हुनुहुन्छ ।)

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक