बेलायतमा बिशालको लोभलाग्दो गायन

257966_217756308245404_5846120_o

लन्डन । बिशाल रेग्मी (२६) विद्यार्थी भिजामा छन् यूकेमा । विद्यार्थी स्टाटस सुन्ने बित्तिकै अधिकांशको मानसपटलमा अध्यागमन समस्या, दुःख कष्ट र पीडाले आक्रान्त छन् भन्ने लाग्छ । तर, अपवाद छन् विगत ७ वर्षदेखि यूकेमा अध्ययनरत बिशाल । ट्राभल एण्ड टुरिजम विषय पढेपनि गायन आफ्नो पेशा बनाएका उनको डिमान्ड यहां लोभलाग्दो छ । नेपाली भन्दा भारतीय समुदायबाट चम्किएका छन् उनी ।

भारतीय समुदायका बिहे, कर्पोरेट एवं च्यारिटी इभेन्ट, टिकेट्स इभेन्ट र म्यूजिकल नाइट्समा नियमित गाउंछन् बिशाल । साउण्ड क्लाउडमा गीत अपडेट गरेपछि उनलाई अफर आउने क्रम बढेको रहेछ । गायनका लागि उनलाई ह्यालिफ्याक्स, डन्डी, म्यानचेष्टर, बोल्टन, ब्राटफोर्ड, लेस्टर, बर्मिङहम, लन्डन, सरे उल्भरह्याम्पटन आदि शहरमा अफर आइसके । रेष्टुरेन्ट देखि सानो स्केल र ठूलो रेष्टुरेन्टमा गएर समेत गाए बिशालले । उनले पारिश्रमिक २५० देखि एक हजार पाउण्डसम्म लिने गरेको गर्वका साथ सुनाए । ‘एकपटक मेरो प्रस्तुतिबाट खुशी भएर ५ हजार पाउण्ड टिप्स पाएको छु’, उनी खुशीको क्षण सम्झन्छन् ।

उनी ५ वर्षको उमेरदेखि नै भजन गाउंथे तर अहिले जसरी 
हजारौं दर्शक सामु व्यवसायिक रुपमा गाइएला, आत्मविश्वास बढ्ला भन्ने उनले कहिल्यै सोचेनन् । लेस्टरमा दीवाली रोड शो गर्दा करिब ३० हजार दर्शकका अगाडि गाएको सम्झने बिशाल एकदम हाइ, मध्यम र लो बीट सबै खाले गीत गाउन सक्ने बताउंछन् । ‘एकै दिन ५० वटा सम्म गीत गाएको छु’, उनले भने, एक पटक मैले गाएको च्यारिटी कार्यक्रममा एकै पटक डेढ लाख पाउण्ड उठेको छ ।’ हप्तामा सातै दिन गाएको समेत उनले बताए । दुई वर्ष यता उनको व्यस्तता बढेको हो ।

704722_502697019751330_345456234_o

भारतीय नयां र पुराना पाश्र्व गीत उनको रोजाइमा पर्छन् । शुरुमा उनले सोनु निगमका गीतबाट आफ्नो गायन यात्रा थालेका हुन् ।
‘मलाई परर्फेक्सनिष्ट भएर काम गर्न मन लाग्छ,’ उनी भन्छन् । अहिले गायनमा उच्च प्रतिष्पर्धा भएपनि आफ्नो सुमधुर स्वरले दर्शक श्रोताको मन जितिरहेको उनले दावी गरे ।

ब्रिटेन गट ट्यालेन्टको तेश्रो राउण्डसम्म पुगेका उनी ब्रिट आइडल २०१२ को सेमिफाइनलिष्ट हुन् ।

बाबा रुद्रनाथ रेग्मी भजन गायक भएकाले पनि बिशाल गायनतिर बढि आकर्षित भए । उनले बेलायत आउनुअघि दुई वर्षजति नेपालमै यस क्षेत्रको प्रशिक्षण लिएका थिए ।

 

बिशाल अब छिट्टै नेपाल फर्किएर गीत संगीतमै आफ्नो करिअर बनाउने सुरमा छन् । बायू पंखी…गीत रेकर्ड गराएर सकारात्मक प्रतिक्रिया लिइरहेका उनले छिट्टै एल्बम निकाल्ने योजना समेत सुनाए । कला, परिश्रम र लगाव भए यस क्षेत्रमा सफलता हासिल गर्न सकिने विश्वास उनमा छ ।

बिशालले धेरै सेलिब्रेटीसंग भेट्न र कार्यक्रम गर्ने अवसर पाएका छन् । उनले ब्रिटेनका नामी बक्सर एवं कुनै बेलाका विश्व च्याम्पियन अमिर खानले उनको भतिजको बिहेमा गाउन बोलाएको सम्झिए । उनले स्टार प्लस परिवारलाई गीत सुनाएका छन्, सलिम मर्चेन्टसंग एउटै कार्यक्रममा गाए । नेपाली गायक हेमन्त शर्माबाट प्रभावित उनले रिमा गुरुङ होडा र नबीन के भट्टराईसंग मात्र गाउने अवसर पाएको र नेपाली समुदायमा आफू राम्ररी घुलमिल हुन नसकेको गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री