नेपालीलाई पनि लन्डन मेयरको चुनाव लाग्यो

UK NEPALI

तस्विरः एभरेष्ट गौतम

लन्डन । मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बांकी रहंदा यहांका नेपाली समेत अभियानमा सक्रिय भएका छन् । आगामी ५ मेमा हुने लन्डन मेयरको चुनावमा नेपालीले प्रतिपक्षी लेबोरका तर्फबाट प्रतिष्पर्धी सदिक खानलाई खुलेर समर्थन गरेका छन् । प्रधानमन्त्रीपछि शक्तिशाली मानिने महानगर चुनावमा सदिक र कन्जरभेटिभका तर्फबाट ज्याक गोल्डस्मिथको कडा प्रतिष्पर्धा छ ।

लेबोर पार्टी आप्रवासीका लागि अलिक उदार मानिन्छ । विशेष गरि लन्डनको यातायात र सवारी चाप व्यवस्थापन, सुरक्षा एवं समग्र आर्थिक विकास खानका अजेन्डामा रहेकाले पनि उनलाई समर्थन गरिएको नेपालीको धारणा छ । लेबर र सदिक दुवै लन्डनका आप्रवासीहरुको समस्यासंग परिचित भएका र त्यो समस्या समाधान गर्न पहल गर्ने खानको अठोटबाट प्रभावित देखिएका छन् नेपाली ।

बेलायतका सफल व्यवसायी एनआरएनए युरोप संयोजक कुल आचार्यले चुनावी अभियानका क्रममा बेलायती नेता तथा नेपाली जनप्रतिनिधिमाझ एउटा भेला नै राखे । भेलामा सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मा, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता एवं नेपाली समुदायका अगुवाहरु रामशरण सिम्खडा, चिरन्जीवी ढकाल, सोलिसिटर राजु थापा, बिजय थापा, बिराज भट्ट, बिजन भट्ट, कृष्ण भट्ट, हरिसिंह थापा, कृष्ण तिमल्सिना लगायतले सदिकलाई जिताउन चुनावी रणनीतिबारे छलफल गरेका थिए ।

नेपाल पत्रकार महासंघ, बेलायत शाखाका अध्यक्ष नरेश खपांगीमगर सदिक खानको परिवार केही दशकअघि पाकिस्तानबाट बेलायत आएकाले खान जस्तो आम आप्रवासी पृष्ठभूमिबाट आएका व्यक्ति मेयर बने यो नेपाली र आम आप्रवासीका लागि ठूलो प्रेरणा मिल्ने बताउंछन् ।

नरेश खपांगी

नरेश खपांगी

‘सदिक शुरुमा अहिले नेपालीले यूकेमा गरिरहेजस्तै सामान्य पेशा गर्थे । त्यसको अर्थ यूकेको प्रधानमन्त्री पछिको दोस्रो महत्वपूर्ण पद लन्डन महानगरको मेयर पदमा यदि सदिकले जितेमा नेपाली समुदायमा भोलि हाम्रा छोरा नातिले पनि बेलायतको महत्वपूर्ण निकायहरुमा अवसर पाउन सक्छन् भन्ने सकारात्मक सन्देश गई उत्प्रेरित गर्ने मेरो विश्वास छ’, खपांगीले भने ।

लेबोर पार्टी आप्रवासीहरुको सवालमा तुलनात्मक रुपमा लचिलो र उदार देखिएको बुझाइ प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय परोपकारी तथा मानवीय समितिका सदस्य सचिव रामशरण सिम्खडाको छ ।

कन्जरभेटिभले ९० को दशकमा आप्रवासीहरुप्रति देखाएको असहिष्णुता अझै पनि कतिपय मानिसहरु सहजै स्मरण गर्ने टिप्पणी गर्दै सिम्खडाले भने, ‘६ वर्ष अघि टोरीका डेभिड क्यामरुनले जब राज्य सत्ताको बागडोर सम्हाले झण्डै विगतकै हालतमा पुर्याए । यस बीचमा हामी जस्ता ३० औं हजार नेपालीहरुलाई रित्तोहात नेपाल फर्कन बाध्य पारियो । त्यसैले पनि आम नेपाली लेबर पार्टी र यसको लन्डन मेयर उम्मेदवार सदिक खानलाई भोट हाल्न आतुर छन् ।’

खानले उठाएका कतियप अजेन्डा मध्यम आयश्रोत भएका लन्डनबासीका लागि मनै छुने खालेको रहेको बताउंछन् सिम्खडा । खानको लाखौं नयां घर बनाउने योजना, सरल ब्याजदर र सरकारको घर किन्न सहजीकरण 
गर्ने नीति, आगामी ४ वर्ष सम्म सार्वजनिक यातयात मुल्य नबढाउने संकल्प, लन्डनलाई सुरक्षित शहरको रुपमा अघि बढाउने र साना ब्यवसायलाई समेत प्रोत्साहित गर्ने योजनाले गर्दा प्रभावित रहेछन् सिम्खडा ।

रामशरण सिम्खडा

रामशरण सिम्खडा

बहुभाषी, बहुसंस्कृति भएको शहर हो लन्डन । लन्डनको जनसंख्याको करिब ३७ प्रतिशत मानिस बिदेशमा जन्मेका छन् भने लन्डनमा ३ सय भन्दा बढि प्रकारका भाषा बोलिन्छन् । सदिकले उक्त जनसंख्याको प्रतिनिधितित्व गर्ने धारणा राख्छन् काउन्सिलर डा. बच्चु कैलाश कैनी । सदिकका मुख्य प्राथमिकता लन्डन यातायात र सवारी चाप व्यवस्थापन, सुरक्षा एवं समग्र आर्थिक विकास भएकाले पनि उनी आफ्नो छनौटको उम्मेदवार रहेको काउन्सिलर कैनीले बताए ।

डा. बच्चु कैलाश कैनी

डा. बच्चु कैलाश कैनी

रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ सदिकको उत्कृष्ट र फराकिलो दुरदर्शीताका कारण उनलाई समर्थन गरेको बताउंछन् । आफ्नो बरो उलवीच र प्लमस्टिड क्षेत्रमा सक्रिय भएरै चुनावी अभियानमा लागे उनी । श्रेष्ठको बरोमा अंग्रेजी पछि धेरै बोलिने भाषा नेपाली रहेकाले उनीहरुको मत पनि निर्णायक छ ।

५ मे का दिन १२ प्रतिष्पर्धीहरु आफू लन्डन मेयर बन्ने आत्मविश्वासका साथ लागिरहेका छन् । उनीहरु मध्ये एकले हालका मेयर बोरिस जोन्सनको जिम्मेवारी लिनेछन् ।

सन् २०१४ को मध्यतिर गरिएको जनगणनामा लन्डनको जनसंख्या करिब ८६ लाख थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री