दुईसय वर्षअघिको लाहुरेको तलब

RK Dikpal

राजकुमार दिक्पाल

अहिले ब्रिटिश र भारतीय गोर्खा सैनिक पल्टनमा राई, लिम्बू, मगर र गुरुङको संख्या अधिक देखिदा यस्तो लाग्न सक्छ, ब्रिटिश तथा भारतीय गोर्खा सैनिक पल्टन यी चार जातका नेपालीहरुका लागि मात्र खोलिएको हो कि ? तर इतिहास हेर्दा पल्टनको सुरुआतमा क्षेत्रीहरुलाई भर्ना लिइएको देखिन्छ । खासगरी नालापानीको युद्धमा बाध्यतावश किल्ला छाडेका कप्तान बलभद्र कुँवर पञ्जावकेशरी रणजीत सिंहको फौजमा भर्ना भएपछि नेपालीहरु विदेशी सेनामा भर्ना हुन थालेको इतिहास सुरु हुन्छ । त्यसबेला कुँवर, थापा, पन्त, खत्री, भण्डारी, खवास, ठाकुरजस्ता क्षेत्रीहरु लाहोरमा भर्ती हुन थालेपछि लाहोर शब्दको उच्चारण गर्दा गोर्खाली जिब्रोले ‘लाहुर’ भन्न थाल्यो । त्यसपछि त्यहाँ अर्थात् लाहोर पुगेर सैनिक बन्नेहरु लाहुरे कहलाए । पछि सुरो र लडाकु जातिको रुपमा राई, लिम्बू, मगर र गुरुङहरुको लडाकु प्रतिभाको परख अँग्रेजहरुले गरेपछि उनीहरुलाई पनि सैनिकका रुपमा भर्ना गर्न थालियो ।

नेपाल–अँग्रेज युद्ध (विक्रम सम्वत १८७१–७२)
ब्यापारको शिलशिलामा भारत आइपुगेको आग्रेजले अधिकाँश एसियाली मूलुकलाई आफ्नो उपनिवेशमा पारिसकेको थियो । भारतको गर्मी छल्ने ठाउाको खोजी र चीन तथा तिब्बतसँग ब्यापार बढाउने मनसुवा बोकेको अँग्रेजले नेपाली भूभागमा आँखा लगाइरहेको थियो । नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा काँगडा पुगिसकेको अवस्थामा पहाडी नाका हुँदै तिब्बत र चीनतर्फ बढ्ने आफ्नो पहाडी मार्ग अवरुद्ध भइरहेको थियो महसुस भइरहेको थियो अंग्रेजलाई । त्यसै कारण बुटवलको स्यूराजमा उसले सानो निहुँमा बखेडा झिक्दै गयो । विवाद बढ्दै जाँदा अँग्रेजले नेपालविरुद्ध युद्धकै घोषणा गर्‍यो । इस्ट इण्डिया कम्पनीका गर्भनर जनरल लर्ड हेस्टिङ्सले नेपालविरुद्ध लखनउबाट युद्धको घोषणा गरे । हेस्टिङ्सका तर्फबाट युद्धको घोषणा गर्ने इस्ट इन्डिया कम्पनीका सचिव जे. एडमले हस्ताक्षर गरेको युद्ध घोषणामा ‘नेपाल सरकारले वुटवल, स्युराज र रौतहटमा अतिक्रमण गरेको, कम्पनी सरकारलाई अनादर गरेको र आपसी सद्भावको वेवास्ता गरेको कारण युद्ध निर्विकल्प भएको’ उल्लेख छ । (हिमाल खबरपत्रिका पुस ७, २०७०)

युद्ध घोषणाको ४७ वर्षअघि मात्रै पौवागढीमा गोर्खाली सेनाबाट कप्तान किनलकको नेतृत्वको फौजले धुलो चाटेको थियो । इतिहास शिरोमणि बाबुराम आचार्य (पूर्णिमा पूर्णाङ्क २७:१६६)का अनुसार विक्रम सम्वत १८२४ असोज ९ गते पौवागढीमा नेपालतर्फ अगाडि बढिरहेको कप्तान किनलकको नेतृत्वको अंग्रेज फौजलाई पृथ्वीनारायण शाहको सेनालाई नराम्ररी पराजित गरेर लखेटेको थियो । यसको बदला लिने ताकमा पनि थियो, त्यसबेला अंग्रेज । युद्ध घमासान भयो । ठूलो संख्या र आधुनिक हातहतियारसहितको आग्रेज फौजविरुद्ध परम्परागत हतियार र सानो संख्यामा रहेको नेपाली फौजले आफ्नो बुाताले भ्याएसम्म लडे । अंग्रेज पक्षको निक्कै ठूलो क्षति पनि गराए । विक्रम सम्वत १८७२ फागुन २४ गतेको सुगौली सन्धिसम्म आइपुग्दा नेपालले एक तिहाई लोभलाग्दो भूभाग अंग्रेजलाई सुम्पन पर्‍यो ।

नालापानी युद्ध र बलभद्रको पलायन
नेपालको इतिहासमा नालापानीको युद्ध निक्कै महत्वपूर्ण र चर्चित रहेको छ । नालापानी किल्ला त्यहीँ किल्ला हो, जहाँ नेपाली फौजले आग्रेज सेनापति जिलेस्पीको ज्यान लिएको थियो । जिलेस्पीले नालापानीको युद्धमा विक्रम सम्वत १८७१ कात्तिक १७ गते वीरगति पाए । (पूर्णिमा पूर्णाङ्क ३:५९)
नालापानी किल्लामा बाहिरबाट पानी जान्थ्यो । आग्रेजहरुले त्यो पानी जाने ठाउँ बन्द गराए । त्यहाँ सवा सय जति घ्याम्पामा पानी सञ्चित गरिएको थियो । त्यो पनि आग्रेजहरुले गोलाले हानी घ्याम्पा फुटाई पानी पोखाइ दिए । नेपाली सेना भात पकाएरसमेत खान नपाई कााचै चामल खान बाध्य भयो । पानीको समेत हाहाकार भएपछि उनीहरुले विक्रम सम्वत १८७१ मंसिर १६ गते राती बलभद्र कुँवरहरु नालापानी किल्ला छाडी बाहिर निस्के । (पूर्णिमा पूर्णाङ्क ३:६३–६४)
यसरी किल्ला छाडेपछि अन्य मोर्चाहरुमा पुगेर लड्दा लड्दै सुगौली सन्धिपछि बलभद्र कुँवर पञ्जावकेशरी रणजीत सिंहको सेनामा भर्ना भए । पञ्जाव र अफगानिस्तानबीच पेशावरमा भएको युद्धमा लड्दालड्दै सुवेदार बमसिंह खड्का, जमदार ऐमान खवास, जमदार रुपसिंह खड्का, जमदार जिउनसिंह दुरासहित कप्तान बलभद्र कुँवरले विक्रम सम्वत १८७९ चैत ३ गते वीरगति पाए । (पूर्णिमा पूर्णाङ्क ५:६८–६९)

अमरसिंह थापाका छोरा नाती पनि लाहुरे
नेपाल–अंग्रेज बीचको युद्धमा बहादुरी देखाउने बलभद्र कुँवरजस्तै अर्का वीर योद्धा अमरसिंह थापालाई पनि राष्ट्रिय विभूति हुन् । अमरसिंह थापाले मलाउको किल्लाबाट नेपाली योद्धाहरुको कमाण्ड सम्हालेका थिए । अमरसिंह थापा त्यस्ता दूरदर्शी योद्धा हुनु्, जसले अहिलेको अवस्थामा अंग्रेजसँग युद्ध जित्न नसकिने हुँदा युद्ध रोक्न भीमसेन थापासमक्ष आग्रह गरेका थिए भने शान्ति कायम गर्न सकिन्छ कि भनी कुटनीतिक भूमिका निर्वाह गर्दै अंग्रेज सेना कमाण्डर अक्टरलोनीका छोरासँग आफ्नो छोरा रामदासको मित लगाइदिएका थिए । यो कुरा बुढाकाजी अमरसिंहले अर्का जनरल अमरसिंह थापा (भीमसेन थापाका बाबु)लाई सतजल इलाकाको बघाटबाट १८७० मंसिर १० गते लेखेको पत्रमा उल्लेख छ । (पूर्णिमा पूर्णाङ्क ९:४८–४९)
तर अमरसिंहको कुराको कुनै सुनुवाई गरेनन्, भीमसेन थापाले । आफ्नो कुरा सुनुवाई नभए पनि उनी अन्तिम समयसम्म लडिरहे ।
युद्ध हारिएको, सुगौली सन्धिपछि आफ्नो कुनै भूमिका नभएको अवस्थामा अमरसिंह नेपाल फर्के । उनी सिधै राजधानी काठमाडौं आएनन्, बरु दशहरा मेला भर्न भनी उनी गोसाइकुण्डतिर गए । उनी विक्रम सम्वत १८७३ साल जेठ महिनामा गोसाइकुण्ड पुगी पूजापाठ गरेर बसेका र जनैपूर्णिमाको १० दिनअघि अर्थात् साउन १२ गते आइतबार राति पौने १२ बजे ६५ वर्षको उमेरमा परलोक भए । (पूर्णिमा पूर्णाङ्क ५८:४६)
युद्ध हारेर अमरसिंह फर्के पनि उनका छोरा नाति भने पञ्जावकेशरीकै पल्टनमा लाहुरे बनेर बसे । उनका छोरा अर्जुन, भुपाल र अर्जुनका छोरा लाहुर लागेको देखिन्छ । (पूर्णिमा पूर्णाङ्क ५:६५–६८)
अमरसिंह थापाका चार जना श्रीमती थिए । तीमध्ये अक्टरलोनीका छोरासँग मित लगाउने रामदास साहिँली श्रीमती धर्मदेवीका तर्फबाट जन्मेका ठाहिँला छोरा तथा अर्जुन र भुपाल चाहिँ कान्छी श्रीमती लालवतीकातर्फबाट जन्मेका क्रमश जेठा र कान्छा छोरा हुन् । (पूर्णिमा पूर्णाङ्क ५८:४७)

त्यसबेलाको लाहुरेको तलब
त्यसबेला रणजीत सिंहले गोर्खालीहरु र त्यसमा पनि उपल्ला दर्जाका सैन्य अधिकृतलाई आकर्षक तलब दिएको देखिन्छ । उनीहरुको कामको आधारमा खुसी हुँदा रणजीतले तलब बढाइदिएको पनि देखिन्छ ।
इतिहास प्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णाङ्क ५ (पृष्ठ ६५–६९) मा नेपाली इतिहासका महत्वपूर्ण स्रोतका रुपमा लाहोरबाट आएका केही पत्रहरु छापिएका छन् ।
तीमध्ये सबैभन्दा बढी अमरसिंह थापाका छोरा भुपालको तलब देखिएको छ । उनको तलब पहिले दिनको १८ रुपैयाँ रहेको र पछि जुवाको लतमा ऋण परेको अनि काममा पनि लापरवाही गरेकोले उनको तलब घटेर दैनिक ११ रुपैयाँमा झरेको देखिएको छ । यस्तै जुवा खेल्ने गोर्खालीहरुलाई ‘सधैँ कति जुवा खेल्छौ’ भन्दै अर्जुन थापाले थप्पडले हिर्काउँदा त्योदेखि खुसी भई रणजीत सिंहले उनलाई कप्तान दर्जा दिएका पनि पत्रबाट बुझिन्छ । पहिले दैनिक ७ रुपैयाँ तलब बुझ्दै आएका उनको तलब बढाइदिएर दैनिक १० रुपैयाँ पुर्‍याइएको थियो । यस्तै अर्जुनका छोराको तलब दैनिक ७ रुपैयाँ रहेको पत्रमा खुलेको छ ।
यसैगरी कप्तान बलभद्र कुँवरको तलब पहिले दैनिक १० रुपैयाँ रहेको र पछि ५ रुपैयाँ थपेर दैनिक १५ रुपैयाँ पुगेको देखिन्छ । उनलाई पुरानो गोर्खाली पल्टन पनि जिम्मा दिइएको थियो ।
लाहोरबाट भीमसेन थापालाई माघ सुदि १३ रोज ६ मा सुवेदार बलमाली पन्त, सुवेदार उमेदसिंह ठाकुर, सुवेदार म्वानासिंह खत्री, सुवेदार दलसिंह भण्डारी र अन्य जमदारहरुसहितले लेखेको पत्रमा सुवेदारको तलब दैनिक २ रुपैयाँ, जमदारको मासिक २५ रुपैयाा र सिपाहिँको मासिक ८ रुपैयाँ रहेको उल्लेख छ ।
अर्को एक पत्रअनुसार अमरसिंह थापाको छोरा कप्तान भुपाल थापामार्फत गोर्खाली सेना भर्ना हुने गरेको बुझिन्छ । रणजित सिंहले भुपालको नाममा जारी गरेको पर्वानामा लेखिएको छ,‘…वर्सात सक्यापछि उम्दा उम्दा सिपाहीहरु दस्तुर बमोजिम जस्मा केही सन्देह छैन साथ लि ता हाम्रा हजुरमा हाजिर हो ।’
यसबाट अहिलेको गल्लावालाको भूमिकामा भुपाल थिए भन्ने बुझिन्छ । उनीमार्फत रणजित सिंहले गोर्खाली सेना भर्ना गर्ने गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री