
काठमाडौँ, ११ वैशाख । ‘गोरखा भूकम्प’का कारण समस्यामा परेका मुलुकका विभिन्न जलविद्युत् आयोजनाले हालसम्म पनि पूर्ण रुपमा त्राण पाउन सकेका छैनन् ।
ऊर्जा मन्त्रालयका अनुसार साना ठूला गरी २० भन्दा बढी जलविद्युत् आयोजना भूकम्पका कारण समस्या परे र तिनको अझै पूर्ण रुपमा मर्मतसम्भार हुन सकेको छैन । निजी क्षेत्रका केही आयोजनाले सामान्य रुपमा मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि महत्वपूर्ण र ठूला आयोजनाको एक वर्ष बित्दा समेत मर्मतसम्भारमा ठोस प्रगति हुन सकेको छैन ।
आगामी आव सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना भूकम्पका कारण दुई वर्ष पछाडि धकेलिएको छ । पहुँचमार्ग नै पहिरामा परेपछि दोलखाको काभ्रे भिरमा करिब ५०० मि सुरुङ बनाउनुपर्ने र बाँधस्थलमा १७ सिमी तल धसिएका कारण त्यसलाई पुनः निर्माण गर्ने विषयमा हालसम्म ठोस उपाय अपनाउन सकिएको छैन ।
कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल पहुँच मार्ग निर्माण जारी छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार पहुँचमार्गको अभावमा अन्य काम अगाडि बढ्न सकेको छैन ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेका अनुसार मुलुकलाई आवश्यक परेको बेला चलाउन सकिने कुलेखानी पहिलो र दोस्रो आयोजना समेत भूकम्पले समस्यामा पारयो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशयुक्त बाँध चर्केकाले त्यसको मर्मतसम्भार गर्ने काम हालसम्म पनि सुरु हुन सकेको छैन । चिनियाँ तथा जापानी प्राविधिकले सम्पूर्ण अध्ययन गरेपछि मात्रै चर्केको बाँधलाई कसरी मर्मत गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइने सरकारको तयारी छ ।
यस्तै माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको पनि पहुँचमार्ग भूकम्पले ध्वस्त पारेपछि पछिल्लो दिनमा सामान्य रुपमा काम सुरु भएको छ । आगामी असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजना दुई वर्ष पछाडि धकेलिएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार ६० मेगावाट क्षमताको सो आयोजनाको काम अगाडि बढाउन पहुँचमार्ग नै समस्याका रुपमा देखिएका कारण ठेकेदार आयोजनास्थलमा पुग्न सकेको छैन ।
यस्तै प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी र मध्य भोटेकोसी पनि समस्यामा फसिरहेका छन् । भूकम्पबाट तवाही भएको ती आयोजना पछिल्लो दिनमा भारतको अघोषित नाकाबन्दीको समेत सिकार बन्न पुगे । सान्जेन आयोजनाका प्रमुख गिरिराज अधिकारीका अनुसार आयोजनाको काम प्रारम्भिक रुपमा मात्रै सुरु गरिएको छ । भूकम्पले ध्वस्त पारेका संरचनाको निर्माण सुरु गरिएको जानकारी दिँदै उहाँले आयोजना सामान्यतः डेढ वर्ष पर धकेलिएको बताउनुभयो ।
रसुवागढी आयोजनामा दुई नेपाली सहित चिनियाँ कामदारको पनि निधन भएका कारण हालसम्म काम अगाडि बढ्न सकेको छैन । प्राधिकरणको अर्को आयोजना कुलेखानी तेस्रो पनि भूकम्पले अगाडि बढ्न नसकेको प्राधिकरणको जिकिर छ । प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरेको आयोजनामा भूकम्पले कति क्षति पुरयायो भन्नेबारेमा ऊर्जा मन्त्रालय, प्राधिकरण र सम्बद्ध आयोजनाले हालसम्म सार्वजनिक रुपमा जानकारी समेत दिएका छैनन् । सम्बद्ध पदाधिकारीले ‘फोर्स मेजर’ गर्नुपर्ने र त्यसको प्रतिवेदन आउन लामो समय लागेका कारण जानकारी दिन नसकिएको बताउँदै आएका छन् ।
उस्तै छ निजी क्षेत्र
निजी ऊर्जा उत्पादकहरुको संस्था इपानका अनुसार कुल ११६ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना भूकम्पका कारण प्रभावित बन्न पुगे । तीमध्ये एकाध आयोजना मात्रै मर्मतसम्भारपछि सञ्चालनमा आएका छन् भने केही आयोजना अझै मर्मतको क्रममा रहेका छन् । इपानका उपाध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार सुनकोसी साना जलविद्युत् आयोजना २.६ मेगावाट मात्रै भूकम्पपछि सञ्चालनमा आएको छ । निजी क्षेत्रको ठूलो आयोजना भोटेकोसी ४५ मेगावाटको पेनस्टक पाइपमा पुगेको क्षतिका कारण आगामी २०७३ साउनसम्म मात्रै सञ्चालनमा आउने जनाइएको छ ।
कुल १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजना यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको छ भने मैलुङ खोला ५ मेगावाट, भैरवकुण्ड ३ मेगावाट र बरम्ची खोला ४.२ मेगावाटको मर्मत कार्य जारी छ । प्राधिकरणका कार्यकारी प्रमुख काफ्लेका अनुसार भूकम्पबाट क्षतिग्रस्त सुनकोसी, मस्र्याङ्दी र देवीघाट जलविद्युत् केन्द्रको कार्यालय एवम् आवासीय भवनको निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । जुनस्तरमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरिनुपर्ने हो त्यो भने हुन नसकेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]