सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: १३:५६ | UK Time: 08:11

भूकम्पको एकवर्ष ः पीडितले अझै पाएनन् राहत

वीनेपाली
२०७३ वैशाख ८ गते १०:१३

भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि एउटा पुरानो घर छ । त्यही घरको साँघुरो कोठाको एउटा कुनामा भान्सा छ भने बाँकी रहेको ठाउँमा दराज, ड्रम, खाट राखिएका छन् । त्यहीभित्र रश्मिला अवालको चार जनाको परिवार बस्दै आएको छ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले घर भत्किँदा नौ वर्षकी छोरी सोनिया र पाँच महिनाको छोरा सोनिस पुरिएका थिए । सोनियाको स्थानीयवासीले दुई घन्टापछि तथा सोनिसको २२ घन्टापछि सेनाको टोलीले जीवितै उद्धार गरेको थियो । उक्त घटनाले सर्वत्र चर्चा पायो ।

भूकम्पपीडित अवाल परिवारले घरको लालपुर्जा नहँुदा रातो परिचयपत्र पाउन सकेको छैन । भूकम्पले विध्वंस गरेपछिको एक वर्ष उहाँहरुको पीडामा बित्यो । “लालपुर्जा नभएकै कारण हामीले परिचयपत्र र राहत पाएनौँ, हामी सुकुम्वासी भएका छौँ” रश्मिलाले भन्नुभयो ।

भक्तपुर नगरपालिकाको मूलढोकामा रहेको घरमा रश्मिलाले लुगा सिलाउने काम गर्नुहुन्थ्यो । उहाँका श्रीमान् श्याम सवारी चालक हुनुहुन्थ्यो । भूकम्पले मेसिन टुक्राटुक्रा भएपछि उहाँको रोजगारी खोसियो । “मेसिन किन्न नसक्दा आफूसँग भएको सीप प्रयोग गर्न पाइन, अब बालबालिकालाई कसरी हुर्काउने भन्ने पिर परेको छ” उहाँले भन्नुभयो ।

भूकम्पले जेठाजु दुई छोरीको ज्यान गयो । सरकारले घर पूर्ण क्षति हुनेलाई रातो कार्ड दियो, टहरा निर्माण गर्न रु १५ हजार तथा न्यानो कपडा किन्न रु १० हजार दिए पनि अवाल परिवारलाई कुनै सुविधा दिइएन । “सुकुम्वासी हुँदा समेत हामी सरकारको नजरमा भूकम्पपीडित भएनौँ” उहाँले पीडा सुनाउनुभयो । रश्मिलासँग अहिले न त सिलाई मेसिन किन्ने पैसा छ न छोराछोरीको इच्छाअनुसार पढाउने क्षमता नै छ ।

वास्तविक मूल्याङ्कन गरेर भूकम्पपीडितलाई परिचयपत्र र राहत दिनुपर्ने तथा पीडितका सन्तानलाई पढाउन छात्रवृत्ति उपलब्ध गराउन अवाल परिवारले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक