नामिबियाविरुद्ध नेपालको लगातार जित, नेपाल प्रतियोगिताको पाँचौँ स्थानमा

विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विजयीपछि नेपाली खेलाडी । तस्बिर ः रोशन सापकोटा, रासस

विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विजयीपछि नेपाली खेलाडी । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ६ वैशाख । नामिबियालाई लगातार दोस्रो खेलमा पराजित गर्दै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पाँचौ स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटको जित हासिल गरयो । यसअघि लिग चरणको अन्तिम स्थानमा रहेको नेपालले शनिबार भएको खेलमा पनि नामिबियालाई पाँच विकेटले हराएको र अङ्क तालिकामा उसलाई भेट्टाएको थियो । अर्को जितले नेपाललाई पाँचौँ स्थानमा उकालेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले एक बल बाँकी छँदा नामिबियाले दिएको लक्ष्य भेट्टायो । नेपालको जितमा कप्तान पारस खड्का र शरद भेषवाकरको योगदान महत्वपूर्ण रह्यो । खेल सुरुआतमा निकै धर्मराएको नेपालका खड्का र भेषवाकरले १६७ रनको साझेदारी गरेपछि नेपालको जित निकै सहज स्थितिमा पुगेको थियो ।
शतकीय पारी खेलेका पारसले ९४ बल खेल्दै खड्काले सात छक्का र पाँच चौकाको मद्दतमा १०३ रनको पारी खेले । त्यस्तै तेस्रो नं को ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका भेषवाकरले ‘म्याच फिनिसर’को आफ्नो छवि कायम राख्दै अविजित रहेर ७४ रन जोडे । उनले १०७ बल खेलेर छ चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । अन्तिम दुई बलमा एक रन लिनुपर्ने नेपालको स्थितिमा उनैले अन्तिम विजयी रन लिएपछि नेपालले जित हात पारयो । यसअघि शनिबार भएको खेलमा पनि उनैले अन्तिम विजयी रन लिएका थिए ।

सुरुआती ब्याट्सम्यानद्वय उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर क्रमशः २२ र ६ रनमा आउट भए । त्यसैगरी विनोद भण्डारी १२, सागर पुन दुई तथा वसन्त रेग्मी र सोमपाल कामी समान एक एक रन जोड्दै पेभिलियन फर्के ।

यसअघि ब्याटिङ गरेको नामिबियाका कप्तान स्टेफन वार्डले अर्धशतकीय पारी खेल्दै ५१ तथा जेन ग्रिनले ४७ रन बनाएका थिए । त्यस्तै सरेल बर्गरले अविजित ४३ तथा जेपी कोट्जेले ३२ रन जोडे । नामिबियालाई २३९ रनमा समेट्ने क्रममा नेपालका युवा बलर सन्दीप लामिछानेले नामिबियाका कप्तान बार्डलाई पेभिलियन फर्काएपछि नेपालको बलिङतर्फ सुखद सुरुआत गराएका थिए । त्यसपछि पुनः सन्दीपले सातौँ विकेट लिँदै विकेट सङ्ख्या दोब्बर पारेका थिए । त्यस्तै वसन्त र शक्ति गौचनले पनि समान दुई दुई विकेट लिएका थिए ।

त्यसैगरी विकेट किपर भण्डारीले एक क्याच र एक स्टम्पिङ गराए भने शरद, पारस, सुशन भारी र नरेशले एक एक नामिबियाका खेलाडीलाई रन आउट गराएका थिए ।

नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरयो– टमटा 

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले केही कमजोरी भए पनि समग्रमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय टोली मैले सम्हाल्ने अवसर पाएपछि लगातार जित निस्किएकामा खुसी छु ।”

टोली कप्तान खड्काले दुई जितले सन् २०१८ मा हुने विश्वकप क्रिकेट छनोट खेल्ने नेपालको सम्भावना बलियो बनेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “घरेलु भूमिमा भएका यी जितले अत्यन्तै खुसी तुल्याएको छ, अब हाम्रो ध्यान ‘ओडिआइ स्ट्याटस र टी–ट्वन्टी विश्वकप छनोटमा केन्द्रित हुनेछ ।”

सहभागी आठ टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप क्रिकेट छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

मैदानमा प्रधानमन्त्री 

आज बिहान करिब ९.३० बजे खेल सुरु हुँदा प्रधानमन्त्री केपी शर्मा ओली खेलाडीलाई हौसला बढाउन मैदानमै पुग्नुभएको थियो । उहाँका साथमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललगातयको सहभागिता थियो । त्यस्तै करिब २० हजारको सङ्ख्यामा रहेका दर्शकले लगातार नेपाली टोलीको समर्थन गरेर खेलाडीको हौसला बढाएका थिए । जित हासिल गरेपछि दर्शकको सम्मानमा खेलाडीले ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो…’ गीत गाएका थिए ।

खड्का दुई शतक बनाउने पहिलो  

आजको खेलमा शतक हानेका नेपाली कप्तान खड्का दुई अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले एउटा खेलमा नेपालका लागि शतक हानेका थिए । त्यस्तै यसअघि राजु खड्का, शक्ति, शरद, सुवास खकुरेल र अनिल मण्डलले बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री