वासिङ्गटन डिसी, ५ बैशाख । अमेरिकाको राष्ट्रपति निर्वाचनको प्राथमिक तहको निर्वाचन जारी रहदा डेमोक्रयाट पार्टी र रिपव्लिकन पार्टीका प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी रहेको छ ।
डेमोक्रयाट पार्टीको तर्फवाट पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन र भरमण्डका सिनेटर वर्नी स्याण्डर्स मैदानमा रहेका छन भने रिपव्लिकन पार्टीको तर्फवाट अझै तीन जना मैदानमा रहेका छन् । अर्वपति धनाढय डोनाल्ड ट्रम्प,टेड क्रुज र जोन कासिक रहेका छन् ।
डेमोक्रयाट पार्टीको हिलारी क्लिन्टनको अग्रता कायमै छ । उनले यो समाचार तयार पार्दा सम्म कूल ४७६५ मध्ये १७९० प्रतिनिधी मत (डेलिगेटस) पाएकी छन् । उनको पार्टीका अर्का प्रत्यासी बर्नी स्याण्डर्सले १११३ मत पाएर पछयाईरहेका छन् ।
अव बाँकी रहेको मत मध्ये बर्नीले आफूलाई मनोनयनमा पार्नका लागि ६५ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । हिलारी भने ५९३ मत ल्याएको खण्डमा उनी मनोनयनमा पर्नेछिन् । आगामी १९ तारिखमा हुने न्यूयोर्कको प्राथमिक निर्वाचनले एउटा स्पष्ट खाका आउने संभावना रहेको छ ।
न्यूयोर्कको कूल २४६ र पेन्सलभेनियाको १८९ डेलिगेटस भोटले हिलारी अग्रस्थानमा वस्न सफल भईन भने उनको मनोनयनको लागि मार्ग प्रशस्त हुनेछ ।
न्यूयोर्क किन पनि यी दुई उम्मेदवारका लागि महत्वपूर्ण रहेको छ भने वर्नी न्यूयोर्कमा जन्मिएका हुन भने क्लिन्टनको कर्मथलो न्यूयोर्क हो । त्यसैले दुवैको मजवुत आधारशिला भएको स्थानको रुपमा न्यूयोर्कलाई लिइएको छ ।
मंगलवार मात्रै मोमाउथ युनिभर्सिटीले गरेको एक सर्वेक्षणमा क्लिन्टनले ५१ प्रतिशत र वर्नी स्याण्डर्सले ३९ मत प्राप्त गरेका थिए । यसले क्लिन्टनको अग्रता कायम रहने अनुमान सञ्चारमाध्यमहरुको रहेको छ ।
बिहीवार भएको सिएनएनको सार्वजनिक वहश कार्यक्रममा दुवै प्रत्यासीले ईराक युद्ध,वाल स्ट्रेटको मुद्दा लगायतका विषयमा रक्षात्मक टिप्पणी गरेका थिए ।
बिहीवारको वहसमा वर्नी स्याण्डर्सले हिलारी माथि प्रश्न गर्दे उनको निर्णय माथि प्रश्न भनेका थिए, वर्नीको भनाई थियो–ईराक युद्ध, धनी वर्गका व्यक्तिहरुसँगको सम्वन्ध जस्ता विषयले उनको योग्यता माथि प्रश्न उठेको छ ।
त्यसको प्रत्युत्तरमा हिलारी क्लिन्टनले मलाई दुई पटक सिनेटमा जिताएर विदेश मन्त्रीको रुपमा जनताले अनुमोदन गरिसकेका छन् । अमेरिकामा सञ्चारमाध्यमहरुले बिहीवारको क्लिन्टनको प्रस्तुतिलाई अव्वल मानेका छन् ।
उनले नीतिगत विषयमा मजवुततर्क पेश गरेकी थिईन् । यद्यपी क्लिन्टनलाई वर्नीको सुधारात्मक अवधारणाको लागि रोक्ने एउटा प्रयास आगामी अप्रिल १९ तारिख नै हुनेछ । न्यूयोर्कका डेलिगेटसहरुले सहयोग गरेर हिलारीलाई फराकिलो अन्तरले वर्नीलाई हराए भने वर्नी राष्ट्रपतिको दौडवाट घर फर्किनु पर्ने हुन्छ ।
उता रिपव्लिकन पार्टीमा पनि चुनावी दौड जारी रहेको धनाढय डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धा दिदै टेड क्रुजले पछाएका छन् । यो समाचार तयार पार्दा सम्म ट्रम्पले ७३८ डेलिगेटस भोट पाएका छन भने क्रुजले ५३८ मतका साथ पछयाईरहेका छन् ।
एक पछि अर्को विवादस्पद अभिव्यक्ति दिदै आएका ट्रम्पको लोकप्रियता पछिल्लो समयमा केही खस्किएको छ । रिपव्लिकन पार्टीको पनि आगामी अप्रिल १९ तारिखमा न्यूयोर्कमा ९५ डेलिगेटस र अप्रिल २६ मा पेन्सलभेनियामा ७१ मत सहितको प्राथमिक निर्वाचन हुने भएको छ ।
रिपव्लिकन पार्टीको जुन महिनामा मात्रै कसको मनोनयन हुन्छ भन्ने खाका आउने संभावना छ । किनकि जुन महिनामा उक्त पार्टीको क्यालिफोर्नियासहित पाँच राज्यमा ३०३ डेलिगेटसले मतदान गर्नेछन् ।
आगामी नोभेम्वर ८ तारिखमा हुने निर्वाचनमा यी दुई पार्टीको तर्फवाट कसले मनोनयन पाउने छ भन्ने जान्नका लागि अरु केही समय कुर्नुपर्ने भएको छ ।