
काठमाडौँ, १ वैशाख । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । यो नै विक्रम सम्बतको पहिलो दिन हो ।
आज विक्रम संवत् दुई हजार त्रिहत्तर (२०७३) वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन पनि हो ।
प्रत्येक व्यक्तिले गत वर्ष गरेका कामको सफलता, असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने गर्दछन् ।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् इतिहासकार प्रा डा दिनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउनुहुन्छ ।
“नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भएपनि व्यवहारमा इस्वी संवत चलेको छ”–उहाँले भन्नुभयो ।
विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उहाँले दिनुभयो । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताउनुभयो ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउनुहुन्छ । “सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो”–उहाँले भन्नुभयो ।
काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने वाग्द्वार (बागमती नदीको उद्गमस्थल), टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा आज विशेष मेला लाग्छ । काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । भक्तपुरमा बिस्केट जात्राको रौनकता वैशाख १ गतेकै दिन बढ्ने गर्दछ ।
नयाँ वर्षका दिन स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास पनि छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो