शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: १३:२४ | UK Time: 07:39

नेपाली डायस्पोराका पीडा, चुनौति र अवसरहरु

वीनेपाली
२०७२ चैत २२ गते ०:२५

hemanta jii

जीव विकास सिद्धान्तलाई स्वीकार्ने हो भने मानिस अफ्रिकाको दक्षिण कुनाबाट १.७५ मिलियन वर्ष अगाडि होमो इरेक्ट्स र होमो सेपियन हुंदै सातै महादेशमा फैलिएको हो भन्ने बुझिन्छ । यसले पनि के पुष्टि गर्छ भने बसाई सराई नयां होइन, यो नश्ल संसारमा चलायमान छ । समय अनुसार आफूलाई बदल्न जान्दछ र यहां सम्मको लामो यात्रामा आफूलाई बचाइराखेको छ । जसले आफूलाई समय अनुसार बदलेनन् तिनिहरू डाइनोसर सरह नास भएर गए । जीव विकासको सिद्धान्तले सत्य यही हो भन्छ ।

डायस्पोरा ग्रीक शब्द हो जसले छरिएको वा आफ्नो जन्मथलोबाट अन्तै सरेको भन्ने अर्थ बुझाउंछ । को सरेका छैनन् इतिहासमा बसाई ? हरेक युद्ध पछि, पुरानो साम्राज्यको पतनपछि, उग्र राष्ट्रवादको उन्मादपछि, दुई जातिहरुबीचको द्वन्द्वपछि अथवा भूमण्डलीकरणको तातो रापपछि बसाई सराईले उग्र रुप लिएको देखिन्छ । इतिहासमा कन्स्तान्तिन्पोलको पतन पछि ग्रीकहरु, अफ्रिकन स्लेव ट्रेड, साउथ एसियन कुल्ली ट्रेड, हिटलरको निरंग्कुशता र जिउजहरु । कसलाई थाहा छैन र यूरोपियनहरुको अमेरिका यात्रा, आइरिसहरुको अस्ट्रेलिया र अमेरिका यात्रा, अंगे्रजहरुको नेदरल्यान्डतिरबाट को ब्रिटेन यात्रा, ब्रिटिशहरुको संसार यात्रा । कसैले कसैलाई औंला देखाउने ठाउंनै छैन् । भूमण्डलीकरणको यो तापबाट को पिल्सिएको छैन ? र यसरी समुदायहरू देश छोडेर विदेश गई बस्दा ऊ आफू मात्रै गएको हुंदैन, उ संगै उसले उसका बानी, बेहोरा, आफ्ना रितिरिवाज, भाषा, सीप, ज्ञान, अज्ञान सबै संगै बोकेर आएको हुन्छ । समयक्रम संगै उसले आफ्नो घरजम पनि उतै गर्दै जान्छ । यी यात्राका दौरानमा विभिन्न खाले समस्याहरुसंग जुध्नु पर्छ उसले आफ्नो अस्तित्व रक्षाका लागि । यसरी आफ्नो थलोबाट टाढा बसाइ सरि उतै घरजम गरि बसेको समूहलाई नै डायस्पोरा भन्ने चलन छ ।

भाषाः डायस्पोराको पहिलो पुस्ताको समस्या चाहिं भाषा नै हो । अनौठा अनौठा घट्नाहरु घटिदिन्छन् भाषामा आएको फरकपनले गर्दा । एउटा वास्तविक घट्ना सुनाउंछु ः बैंकमा खाता खोल्न गएका अधवैंसे गोरेनीका हरेक प्रश्नका उत्तर एस एस भनेर दिन्छन् । अर्को महिनाबाट त घरमा बैंकको हरेक महिनाको पांच सयको बिल पो पठाउंछ । भतिजालाई लिएर बुझ्न जांदा त भएको के रहेछ भने, गोरेनीले गाडी छ, घर छ, मोबाइल छ, ट्राभल गर्छस् भन्दै अनेकन् प्रश्न सोधेर इन्सुरेन्स गर्दा राम्रो हुन्छ भनिछे, बाले पनि एस एस भनेछन् । अनि त बिल आउने नै भो । आफूले भोगेको दुःख आफ्नो सन्तानले भोग्न नपरोस् भन्नका खातिर छोरा छोरीसंग जन्मेदेखि नै टुटेफुटेको अंग्रेजी कुरा गर्न सुरु गरिदिन्छन् र अरुलाई फुर्की फुर्की मेरा छोरा छोरीलाई नेपाली आउंदैन भनि गर्वका साथ सुनाउन थाल्छन् ।

सानो छंदा बालकका मुखबाट मिठो सुनिन्छ तर जब उ त्यहांको स्कूल र कलेज लेभलतिर पुग्छ तब आफ्ना बाबु आमासंग उसका आनी बानी, सोच्ने तरिका, जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा आकाश जमिनको अन्तर भइसक्छ । पश्चिमको जीवन दर्शन फरक छ अनि शुरु हुन्छ दुई पुस्ताबीचको टकराव । यही टकरावका कारणले धेरै सुन्दर नेपाली परिवारहरू तनावको पारिवारिक जीवन गुजारिरहेका छन् । यतिसम्म कि छोराछोरीले बोलेको आमा बाबुले नबुझ्ने, आमा बाबुले बोलेको अर्कोले नबुझ्ने सम्मको समस्या आइदिन्छ । जब दुई पुस्ताबीचमा भाषागत खाडल हुन्छ तब सुरु हुन्छ समस्याको जड । सानो छंदा आफ्नो मातृभाषा अन्जानले सिक्न दिइएन, अब ठूलो भएपछि उ आफंै सिक्न चाहंदैन ।

संस्कृति ः बानी व्यहोरा नितान्त व्यक्तिगत कुराहरू हुन् तर मानिसले उमेर बढ्दै गरेपछि कस्तो बानी प्रदर्शन गर्दै जान्छ भन्ने कुरा उ कस्तो संस्कृतिमा हुर्किएको छ, उसले कस्तो शिक्षा पाएको छ र उसको समाज कस्तो छ यिनै कुराहरूबाट निर्देशित भएको हुन्छ ।
आमा बाबु पूर्वीय परम्परागत समाजमा आधा उमेर बिताएर आएका हुन् जहां व्यक्तिको स्वतन्त्रता भन्दा परिवारको जिम्मेवारीलाई धेरै स्थान दिइन्छ, जहाँ गुरुकुल परम्पराको धंग धंगी अझै बांकी छ । हरेक घरमा बाबुको वर्चस्व थियो । छोराछोरीले कस्तो कपडा लगाउने देखि कसरी हिंड्ने र बस्ने सम्मका कुराहरू बाबु आमाबाट निर्देशित थिए । त्यसैले आफू जसरी हुर्केर आयो, आफ्नो जीवन दर्शन जे हो, आफ्ना सन्तान पनि सोही अनुसार हिंड्नु पर्छ भन्नु स्वाभाविक नै हो । बाबु आमाका लागि उनीहरुले गरिआएको वा भोगी आएको परम्परा नै सत्य हो । तर पश्चिमा समाजको स्कुलिंगले केटाकेटीबाट नै हामी हैन, म को विकास गरिदिन्छ । पूर्वीय समाजको परम्परा भन्दा पृथक, भरपुर व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न मात्र सिकाउने हैन, कानुन नै बनाएर सरकारले नै कानुनी रुपमा संरक्षण गरेको छ । पश्चिमा समाजले यही कुरालाई सत्य मान्छ । यीनै दुई सत्य बीचको टकरावले परिवारमा बिग्रह ल्याइदिएको छ ।
जस्तोः एकाबिहानै आफ्नी जवान छोरीलाई गोरे ब्वायफ्रेण्डले भर्खरै बाहिर छोडिदियो र बाई हनी… भन्दै सुइकिंयो । गुड फ्राइडे मनाएर आएका हुन् अरे । सारी लगाएर घण्ट बजाउंदै दियो बालेर बिहानीको पांच बजे पूजा गर्दै गरेकी आमा र मिनी इस्कर्टमा पार्टीबाट सराबले मात्तिएर फर्किएकी छोरीको यो बिहानीको जम्काभेट दुई फरक सभ्यताका बीचको भेट हो । दुई विचारहरूको टकराव हो, इतिहास र वर्तमान बीचको कठोर तर अकाट्य द्वन्द्व हो । बिहे नगरिकन नै सन्तानकी आमा हुन पाइने समाज र बिहे भएको छ महिना पछिमात्रै बोलीचाली खुलेको जोडीका बीच द्वन्द नभएर माया पिरती हुने कुरै भएन । बिस्तारै आउंदो पुस्ता यहांको कर्पोरेट कल्चरका हिमायती हुनेछन् । पूजींवादी अर्थ व्यवस्थामा कसरी बांच्नुपर्छ मजाले जान्नेछन् । अठार वर्षपछि बाबु आमा छाड्नेछन्, जन्मदिनमा एकपटक फुल लिएर उपस्थित हुनेछन् । आफ्नो किरिया खर्च अहिलेबाटै जोहो गर्न शुरु गर्नु 
पर्ने हुन सक्छ । सम्झिंदै कहालीलाग्दो हुनसक्छ पहिलो पुस्ताका लागि यो तीतो तथ्य तर सत्य यही हो । मानिस मर्दा मलामी बोलाउन संख बजाउनु भो भने छिमेकीले पुलिस बोलाइदिन्छ, त्यसपछि मसानघाट हैन पुलिस चौकी तिर लाग्नु पर्ने हुन सक्छ । गजब छ दुई सभ्यताबीचको यो अकाट्य भिन्नता ।

शिक्षाः आकाश जमिनको अन्तर भेटिन्छ पश्चिमा शैक्षिक प्रणाली र हाम्रोमा । व्यवहारिक शिक्षा प्रणालीले आत्मनिर्भर बन्ने दिशातिर त लैजान्छ तर संगसंगै म भन्ने शब्दलाई शक्तिशाली रुपले विकास गरिदिन्छ । मेरो विचार, मेरो प्लेस, मेरो स्वतन्त्रता, मेरो प्राइभेसी, मेरो कोठा, मेरो समय भन्ने कुरा जबरजस्त विकास भैदिन्छ जुन बाबु आमालाई छोरा छोरीको विद्रोह हो जस्तो लाग्न थाल्छ । यो म वादी संस्कारले व्यक्तिगत स्वतन्त्रता उपभोगमा त सहयोग पुर्याउंछ तर आधा उमेर नेपाल बिताएर आएका हरेक बाबु आमालाई चाहिं पीडा भइदिन्छ ।

भेषभुषाः छोटो कपडा लगाउनु छाडा संस्कृतिको उपज हो भन्ने समाजमा हुर्किएका आमा बाबुलाई लामो र ढाकेको नै सत्य हो भन्ने बुझाई हुनु सामान्य हो । तर आफ्ना सन्तानको पोशाक रोजाई नितान्त भिन्न हुन्छ । पुरुष जति नै स्वतन्त्र छन् महिला पनि आफ्नो फेसन रोजाइमा । अचम्म त के छ भने समरको समयमा लामा कपडा खोजेर पनि नभेटिन सक्छ । देश अनुसारको भेष हुने नै भयो ।

द्वन्द्व ः भौतिक रूपले सम्पन्न हुंदा हुंदै पनि नेपाली डायस्पोराको पहिलो पुस्ताको पीडा यही हो । सबै चीज हांसिल गरेको छ उसले । बस्ने घर छ, 
राम्रो गाडी छ, जागिर छ, डाइनिंग टेबुलमा मनले चाहेका परिकार सबै उपलब्ध छन् । शिक्षा र स्वास्थ्यको ग्यारेन्टी छ, परिवार छ । तर पनि यो पहिलो पुस्ता तनावमा हुन्छ । उ आधा पूर्वको आधा पश्चिमको हो । त्यसैले द्वन्द्व छ मनमा । सबै कुरा भएर पनि उसका लागि उसको टोल, पधेंरो, पौवा, पाटी, करेसाबारी, उतै छुटेको भान हुन्छ । उसका आफन्त छुटेका छन् , वनभोज छुटेको छ । लोकगीत र झयाउरे, दोहोरी र देउडा, तिहारको देउसी, सेलरोटी र अनर्षा, तीजको चौथी छुटेको छ । फागुको रंग, छैठको ठेका, सप्तमीको खशी, दशैंको टीका, जमरा र आशीर्वाद, मधेशको मेला, चटपटे, माछा र भुजा, गुन्द्रुक, ढिंडो सबै उतै छुटेका छन् । यी तमाम कुराहरूले उसको मनलाई उतातिर तानिदिन्छ तर यथार्थ फरक छ । यता उसको जागिर छ, परिवार छ, सन्तान छन्, तिनका आफ्नै सपना छन् । माथि उल्लेख गरिएका कुराहरूसंग उसका सन्तानको न परिचय छ न त मतलब नै । न त तिनीहरुले देखेको वा भोगेका छन् । उसलाई त डिस्नेल्याण्ड थाहा छ, स्वीमिंगबाट फर्किदा केएफसी स्टोर थाहा छ । म्याक डोनाल्ड्सको लोगोसंग पिरती छ । अंग्रेजी रयापसंग मितेरी साइनो छ । कतिबेला गर्ल फ्रेण्डले छाडिदिने हो भन्ने चिन्ता छ । पहिलेकी भन्दा अहिलेकी गर्लफ्रेण्ड सेक्सी छे भनेर खुसी छ ।
तर अर्कोतिर बाबु आमाको लत पनि त कम्तीको छैन् । उनीहरूले पनि रक्सी पिउन सिकेका छन् । आजभोली गाडीका ब्रान्डका नाम थाहा पाएका छन् । महंगा कपडा लगाउने बानी बसाएका छन् । एस एस, नो नो भन्न मज्जाले जानेका छन् । फेसबुकमा सकि नसकी अंगालो मारेका फोटा राखेका 
छन् । सारी नै लगाएर भएपनि समुन्द्रको किनार धाएका छन् । अस्ति भर्खर पोल्टोमा मकै र मोही च्यापेर भैंसीका ढाडमा बस्ने साईंली दिदी त अहिले बीएमडब्लु चढेर पवमा बियर खान जाने भएकी छन् । साईंली दिदीको मोहीबाट बियरमा र भैंसीका ढाडबाट बीएमडब्लुका सीटसम्मको अग्रगामी छलांग पनि कम रोचक छैन् । त्यसैले सन्तानलाई मात्र दोस दिने ठाउं कहां छ र । उ चाहेर पनि फर्किन सक्दैन उसको जन्मथलो । भौतिक सुविधा, व्यक्तिगत स्वतन्त्रता, फाइनान्सियल इन्डिपेन्डेन्स् जस्ता सुन्दर हनी ट्रयापमा छ उ । अनि संगसंगै आफ्ना सन्तानका भविष्यसंग बांधिएको छ जिम्मेवारीको सिक्रीमा ।

अन्त्यमा, हरेक समस्याहरू संगै समाधान पनि आएका हुन्छन् । धेरै परिवारहरुले दुवैतिरका राम्रा कुरालाई आत्मसाथ गर्दै नराम्रा कुराहरू त्याग्दै गएका पनि छन् । आमा बाबुहरुले यी दुई सभ्यताका बीचमा पुलको काम गरेका छन् । आफ्ना सन्तानबाट यहांको इन्फर्मेशन लिएका छन् । हरेक निर्णयहरूमा उनीहरूलाई पनि सहभागी बनाएर आत्म सम्मान दिएका छन् । केही दिने र केही लिने परम्पराको विकास गरेर नयां पुस्ता मार्फत पश्चिमी विज्ञान र प्रविधिको भरपुर उपयोग गरेर सन्तानलाई यहांको उत्कृष्ट शिक्षा दिएका छन् । अनि आफूले बोकी ल्याएको परिवारप्रतिको दायित्व, माया प्रेम, चाडपर्व, समाजप्रति उत्तरदायी, अध्यात्मप्रतिको झुकाव जस्ता कुराहरूलाई सन्तानमा ट्रान्सफर गर्ने प्रयास गर्दै धेरै परिवारका बाबु आमा खुशी जीवन बांचिरहेछन् र उनीहरुका नयां पुस्ताले अचम्म लाग्दा उपलब्धिहरू पनि हासिल गरेका छन् यहां । तिनिहरू आफ्ना परिवार, मातृभूमि र समाजप्रति पनि त्यतिकै जिम्मेवार छन् । आफूले सिकेका ज्ञान र आफूसंग भएको सिप, अर्थ अलि कति मौका पर्ने बित्तिकै मातृभूमिको सेवामा लगाइदिन तयार भइदिन्छ यो नयां पुस्ता । त्यसैले त आफ्नो मातृभूमिमा बाढी आउंदा उ यहां कपडा किन्न पैसा जम्मा गर्न थाल्छ । भुईंचालो आउंदा जवान डाक्टर र नर्स छोरा छोरीहरु दबाई बोकेर निस्फिक्री आफ्नो मातृभूमि फर्कन्छन् । उता देश दुख्दा यता रुन्छन् यिनीहरु । देख्नु भएन अस्ति भर्खरै देशमा छिमेकीले अन्यायपूर्ण नाकाबन्दी गरिदिंदा कसरी लन्डनका सडकमा नेपाली युवाले छिमेकी प्रधानमन्त्री विरुद्ध न्यायका पक्षमा आगो ओकलेर संसारको ध्यान आफूतिर खिच्न सफल भए । त्यसैले यो पुस्ता दारुमा मात्तिन र अंगालोमा बांधिन मात्र जान्दछ भन्ने हैन, खोलाको पानीमा जति धेरै रफ्तार हुन्छ तेत्तिनै धेरै करेन्ट निकाल्न सकिने सम्भावना पनि हुन्छ । अस्तु

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक