
काठमाडौँ, १९ चैत । मन्त्रिपरिषद्को आजको बैठकले भारत र युरोपेली सङ्घबीच ब्रसेल्समा हालै भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा नेपालका बारेमा गरिएको टिप्पणीलाई ‘सर्वथा अनुचित’ भएको ठहर गरेको छ ।
मन्त्रिपरिषद्को बैठकमा सो वक्तव्यबारे गम्भीर ध्यानाकर्षणसहित सरकारको औपचारिक धारणा सार्वजनिक गरिएको छ ।
यसअघि बिहीबार परराष्ट्र मन्त्रालयले पनि वक्तव्य जारी गरी नेपालको सार्वभौमसत्ता विपरीत रहेको भनी आधिकारिक प्रतिक्रिया दिएको थियो । भारत र युरोपेली सङ्घबीच १३औँ ब्रसेल्स सम्मेलनपछि जारी संयुक्त वक्तव्यको एक बुँदामा नेपालमा निश्चित समयभित्र संवैधानिक समस्या समाधान भई थाती रहेका विषय संविधानमा सम्बोधन हुने टिप्पणी समावेश थियो ।
‘‘नेपालको आन्तरिक मामिलाका बारेमा सार्वभौसत्तासम्पन्न संविधानसभाबाट जारी भएको संविधानका बारेमा जारी गरिएको सो वक्तव्यप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सार्वभौसत्तासम्पन्न एक स्वतन्त्र राष्ट्र हो । नेपालमा कुनै संवैधानिक समस्या र अशान्तिको अवस्थासमेत नरहेको र संविधानको कार्यान्वयनमा रहेका बेला यस्तो वक्तव्य आउनु सर्वथा अनुचित रहेको ठहर गरिएको छ’’ – मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो वक्तव्यबारे बैठकमा गम्भीर ध्यानाकर्षणसहित सो निर्णय भएको बताउनुभयो ।
मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीको गत साता सम्पन्न चीन भ्रमण युगान्तकारी रहेको ठहर पनि गरिएको जानकारी दिनुभयो । उहाँले चीनसँग गरिएको पारवहन तथा यातायात, जलविद्युत्, लगानी विस्तार, प्रसारण लाइन, विमानस्थल निर्माण सहयोगजस्ता सम्झौता ऐतिहासिक महत्वको रहेको निष्कर्ष निकालिएको बताउनुभयो ।
बैठकले ‘स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन, २०४८ लाई संशोधित गर्न बनेको विधेयक २०७२’ लाई व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न मन्त्रिपरिषद्को सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।
यस्तै नेपालको संविधानबमोजिम आदिवासी जनजाति आयोग, दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोगलगायत संवैधानिक आयोग गठनसम्बन्धी छुट्टाछुट्टै विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक सहमति दिइएको पनि मन्त्री राईले जानकारी दिनुभयो ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी