कोलकाता, १८ चैत । भारतीय उत्तरी राज्य कोलकाताको मध्यभागमा बिहीबार फ्लाइओभर (आकाशेपुल) भत्किँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ ।
व्यस्त सडकमा भएको यस दुर्घटनामा अन्य दर्जनौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
पुल भत्किएको सो स्थानमा कैयौँ व्यक्ति अझै पनि पुरिएर रहेको आशङ्का भएकाले उद्धारकर्ताहरू उद्धारकार्यमा व्यस्त रहेका बताइएको छ ।
भारतीय उत्तरी राज्य कोलकातामा निर्माणाधीन सो आकाशेपुल बिहीबार भत्किएको हो । पुल भत्किँदा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
सो घटनामा परी अन्य १०० भन्दा बढी घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता अनुराग गुप्ताले एएफपी समाचार समितिलाई टेलिफोनमार्फत बताउनुभएको छ ।
सुरुमा यस दुर्घटनामा ५ व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो । तर पछि सो स्थानबाट अरु शव पनि निकालिएपछि दुर्घटनामा मारिएका व्यक्तिको सङ्ख्या २० पुगेको हो ।
पुल भत्किएको भग्नावशेषमा अझै कति जना व्यक्ति पुरिएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको बताइएको छ । बिहीबार बिहान सो दुर्घटना भएको हो ।
कैयौँ व्यक्तिलाई उद्वार गरी नजिकैको अस्पतालमा पुरयाइएको छ । अस्पतालमा भर्ना भएका व्यक्तिको अवस्था पनि निकै नै गम्भीर रहेको बताइएको छ ।
पुरिएकामा उक्त पुल निर्माण कार्यमा सम्लग्न मजदुरहरू नै बढी मात्रामा रहेका देखिएको छ । स्थानीय टेलिभिजन च्यानलहरूले उक्त निर्माण कार्यमा सम्लग्न व्यक्तिहरू धेरै चेपुवामा परेका बताएका छन् ।
अहिले पनि उक्त स्थानमा उद्वारको कार्य जारी रहेको छ । टिभी च्यानलहरूले घटनास्थलमा धुवाँ उडेको र ठूलो सङ्ख्याका नागरिक उद्धार कार्यमा सम्लग्न भएका देखाएका छन् ।