यूकेमा गुन्जंदै नेपाली मौलिक बाजा

Night 2

लन्डन । नेपाली व्याण्ड ‘नाइट’ ले अप्रिल महिना बेलायतका मुख्य शहरमा नेपाली धुन प्रस्तुत गर्ने भएको छ । नेपाली मौलिक बाजा प्रयोगलाई केन्द्रमा राखेको उक्त व्याण्ड मेकिङ ट्रयाक्स्ले आयोजना गरेको म्यूजिक टुरमा सहभागी हुन लागेको हो । ब्रिटिश लाइभ म्यूजिक क्षेत्रमा बेग्लै परिकल्पना लिएर सन् २०१० मा स्थापित उक्त संस्थाले विश्वभरका संगीत साधकहरुलाई एकै ठाउंमा उतारेर कन्सर्ट 
गर्ने गर्छ ।

नाइटले आगामी ५ अप्रिलमा ब्राइटन डोम, ६ अप्रिलमा बरी सेन्ट एडमन्ड्स, ९ अप्रिलमा गेट्सहेड, १३ मा मिल्टन किङस्, १४ मा बर्मिङहम, १५ मा म्यानचेस्टर, १६ अप्रिलमा क्यामब्रीज र १७ मा लन्डनको रिच मिक्समा कन्सर्ट गर्ने भएको छ ।

झण्डै ८ वर्षको अथक प्रयासपछि ‘अनि उकाली संगै ओराली…’ नामक पहिलो एल्बम विमोचनसंगै उक्त व्याण्ड जनमानसमा भिज्यो । उक्त एल्बमका गीतमा आप्रवासी कामदारको रोदन, गरिवी र शहरिया अनि ग्रामीण भेगको अन्तर दर्शाइएको छ । सुसेली, पालुवा, तुङना जस्ता २४ परम्परागत बाजा आत्मसात गरेको नाइट बजारमा त्यति धेरै लोकप्रिय भइसकेको छैन् तर उसले नेपाल देखि उजबेकिस्तान अनि यूकेसम्म आफ्नो कला देखाइसकेको छ । व्याण्डले भारतीय संगीत श्रष्टा ए आर रहमानसंग पनि काम गरिसकेको छ ।

नाइटको संगीत यात्राका आ आफ्नै अवरोध छन् । सन् २००६ मा निरज शाक्य, जसोन कुंवर र रनभ अधिकारी एक साथ आए । पछि यसमा नयां व्याण्ड सदस्यहरु थपिने जाने क्रम रहिरह्यो सन् २०१२ सम्म । अब चाहिं व्याण्ड स्थिरसंग अगाडि बढेको छ । यसले हरेक गीतमा नेपाली मौलिक बाजा पस्केर नेपाली संगीतमा नयां आयाम थपिरहेको कतिपयको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री