एनआरएनए यूके बैठकका ११ मुख्य निर्णय

12887452_1683378641921645_956072190_o
लन्डन । एनआरएनए यूके कार्यसमितिको पांचौ बैठक विभिन्न निर्णयसहित शनिवार सम्पन्न भएको छ । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा चौतारी रेष्टुरेन्ट, प्लमस्टिडमा बैठक सम्पन्न भएको हो । बैठकले ११ मुख्य निर्णय गरेको छ, जसमा विभाग विस्तार गर्दै कयौं परियोजना ‘हुने’ र ‘गरिने’ उल्लेख छ ।

बैठकमा अध्यक्ष गुरुङले संस्थाका गतिविधि तथा आगामी परियोजनाबारे अवगत गराए भने एनआरएनए यूके महिला संयोजक सुशिला राईले महिला फोरमको आयोजनामा नारी दिवस गरिएको र उक्त च्यारिटीबाट ११, ६८०.९५ पाउण्ड संकलन भएकोमा ३७९२ पाउण्ड खर्च कटाइ बांकी द्वन्द्व पीडित बालवालिकाको सहयोगार्थ नेपालमा प्रदान गरिने जनाइन् ।

उपमहासचिव अर्जुन कटुवालले एनआरएनए यूकेले आफ्ना सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्दै जाने योजना मुताविक नेपाली व्यवसायीलाई डिस्काउन्ट स्किममा सहभागी गराइरहेकोबारे अपडेट गराएका थिए । बैठकले यसलाई अझ प्रभावकारी बनाउने निर्णय गर्यो ।

बैठकमा एनआरएनए यूकेको संशोधित विधान २०१५ को मातहतमा रहेर महासचिव विजयविक्रम लिंग्देनद्वारा प्रस्तुत बैठक सञ्चालन कार्यविधि नियमावलीमाथि छलफल र परिमार्जन गरियो ।

अध्यक्ष मुछेत्र गुरुङले नेपाल हाउस परियोजनाको सफल कार्यान्वयनका लागि स्टेरिंग कमिटीको गठन सम्वन्धि प्रस्ताव छलफलमा ल्याएपछि उक्त समितिको गठन, यसको दायित्व तथा जिम्मेवारी तथा कार्यविधि सम्वन्धमा कार्यसमिति सदस्यहरुबाट विभिन्न रचनात्मक सुझाव तथा अवधारणा प्रस्तुत प्राप्त भए । नेपाल हाउस प्रोजेक्टको सफल कार्यान्वयनका लागि विभिन्न समिति, उपसमिति गठन साथै ति समितिहरुको काम कर्तव्य तथा अधिकार तोक्ने गरि नेपाल हाउस प्रोजेट संयोजक तथा उपाध्यक्ष योगकुमार फगामीको संयोजनमा पदाधिकारीसहितको बैठक बस्ने निर्णय भएको छ । उक्त बैठक अप्रिल ३ तारिखका दिन बस्ने छ ।

नेपाल हाउस बोर्ड गठन गर्नका लागि कार्यसमितिको सचिवालय अन्तर्गत रहनका लागि च्यारिटी दर्ता संयोजक संगको पेशागत परामर्श पश्चात औपचारिक निर्णय गर्ने निर्णय भयो । नेपाल हाउसको बोर्ड अफ ट्रष्टीमा सचिवालय सदस्य तथा आवश्यकता बमोजिम अध्यक्षले पदभार नियुक्ति गर्ने निर्णय भयो ।

बैठकमा एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठले हालसम्मका परियोजनाहरुबारे अपडेट गराए । बैठकमा कुनै च्यारिटी कार्यक्रम गर्दा व्यवस्थापकीय खर्चका लागि २० प्रतिशत रकम छुट्याउने निर्णय भएको छ ।

बैठकले उपाध्यक्ष दासुराम पाण्डेले काउन्सिल बैठक सेप्टेम्बरमा गर्न गरेको प्रस्ताव पारित गर्दै सेप्टेम्बर ११ तारिख आइतबार काउन्सिल मिटिङ गर्ने निर्णय भएको छ ।

उपाध्यक्ष राष्ट्र राईले खेल संयोजकका रुपमा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसनले यसै वर्ष अमेरिकाको पोर्टल्याण्डमा गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा यूके टिमको सहभागिताका लागि सहयोग र समर्थनको याचना गरेपछि बैठकले राईकै संयोजनमा एक च्यारिटी गरि सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले एनआरएन स्पोर्टस् विभागको प्रयोजनका लागि नेपाल सरकारले उपलव्ध गराएको काठमाण्डौंको २० रोपनी जग्गा प्राप्तिका लागि उपाध्यक्ष राष्ट्र राईको पहल र नेपाल सरकारको सदासयताप्रति बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ ।

प्रवक्ता खुशी लिम्बुले पांचथरको सिरिसे विद्यालय पुनर्निर्माण परियोजना सम्वन्धि जानकारी दिंदै त्यो सम्पन्न गर्न संस्थाको च्यारिटी कार्यक्रम अन्तर्गत राख्न अनुरोध गरेका थिए । छलफलपछि विद्यालय पुनर्निर्माण सहयोगार्थ हुने च्यारिटीमा संघका तर्फबाट भरपुर सहयोग गर्ने निर्णय भएको छ । सिरिसे स्कूल पुनर्निमाण अभियान एनआरएनए यूकेको ‘एक कार्यकाल एक योजना’ अन्तर्गत परेको छ ।

उपमहासचिव अर्जुन कटुवाल संयोजक रहेको आर्थिक समिति विस्तार 
गर्ने उनकै प्रस्ताव बैठकले पारित गर्दै आर्थिक समितिको सदस्यहरुमा केशव पुडासैनी, सचिन श्रेष्ठ र सेविका केसीलाई चुनेको छ ।

बैठकले एनआरएनए यूके विजनेश विभाग संयोजक तथा सहकोषाध्यक्ष ललित न्यौपाने, क्षमता अभिवृद्धि विभाग संयोजक कृष्ण तिवारी, भाषा साहित्य विभाग संयोजक नारायण गाउंलेले ल्याएको सदस्यहरु विस्तार प्रस्ताव पारित गरेको छ जसमा एनआरएनए यूके विजनेश विभाग संयोजक ललित न्यौपाने, सहसंयोजक मोहन गुरुङ, सचिव सुरज मास्के, सदस्यहरु हरिस ज्ञवाली, यादव भण्डारी, सुरज केसी, जीवन अधिकारी, शंकर दाहाल र रन्जिता मल्ल छन् । त्यसैगरि, क्षमता अभिवृद्धि संयोजक कृष्ण तिवारी, हेल्थ प्रसुना कंडेल र इन्जिनियरिङतर्फ बेद भट्टराईलाई चुनिएको छ ।
भाषा साहित्य विभाग संयोजक नारायण पौडेल (गाउंले) र सदस्यहरुमा मन्जु भण्डारी, विजय हितान मगर, नृपेश उप्रेती र ज्ञानेन्द्र राउत छन् ।

बैठकले जेष्ठ सगरमाथा आरोही मिनबहादुर शेरचनको फेरि सगरमाथा चढ्ने अभियानमा मोना यूकेलाई साथ दिंदै सघाउने निर्णय गरेको छ । बैठकले प्रेस एण्ड पब्लिकेसन्स् विभाग प्रमुख खुशी लिम्बुले पारित गरेको एनआरएनए यूकेको मुखपत्र प्रकाशन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

अर्थक्वेक रिलिफ फण्डको लागि ग्रेटर रेडिङ नेपाली समाजद्वारा झन्डै सात हजार पाउण्ड एनआरएनए यूकेलाई प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री