चीनले दिने ३२ हजार थान सौर्य बत्ती भूकम्प प्रभावित जिल्लामा

 Flag_of_the_People's_Republic_of_China

काठमाडौँ, ९ चैत । भूकम्प प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई खुसीको खबर । छिमेकी चीन सरकारले नेपाललाई उपलब्ध गराउने ३२ हजार थान सौर्य बत्ती भूकम्पबाट अति प्रभावित ती जिल्लामा निःशुल्क वितरण हुनेछ ।

प्रधानमन्त्री केपी ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा सौर्य प्रणाली उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । गत वैशाखमा गएको भूकम्पका कारण घरबार भत्किएका १४ जिल्लाका भूकम्पपीडितलाई उक्त सौर्य बत्ती निःशुल्क रुपमा प्रदान गरिनेछ ।

भूकम्प गएलगत्तै आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्ने लक्ष्यका साथ सौर्य प्रणाली उपलब्ध गराउने र उज्यालो वितरण गर्ने वचन दिएअनुसार नै ३२ हजार थान घरायसी सौर्य प्रणाली उपलब्ध गराउन लागिएको हो । भूकम्पका कारण घरबारविहीन भएका जनतालाई उपलब्ध गराउने लक्ष्यका साथ चिनियाँ पक्षले राखेको चासो र सहयोगलाई व्यवस्थापन र अनुगमन गर्ने काम गर्ने जनसङ्ख्या तथा वातावरण मन्त्रालय र उक्त मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नेछ ।

यस्तै चीनले ३२५ थान ठूलो खालको सौर्य प्रणाली पनि उपलब्ध गराउने भएको छ । कुल ३२ हजार थान सौर्य प्रणाली भने कुल १० वाटको हुनेछ । त्यसमा सँगै तीन थान बल्ब पनि प्राप्त हुनेछ । कुल ९६ हजार बल्ब सहयोगमा नै प्राप्त हुनेछ भने ३२५ थान ठूलो सौर्य प्रणाली भने एक हजार २०० वाटको हुनेछ । विद्यालय, सामुदायिक संस्था, अस्पतालमा ठूलो प्रणाली जडान गरिनेछ ।

ठूला प्रणाली विद्यालय, अस्पताललाई कसरी वितरण गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक निर्णय हुन बाँकी रहेको छ । जनसङ्ख्या र वातावरण मन्त्रालयका जलवायु परिवर्तन शाखा प्रमुख रामहरि पन्तले ‘इकोसिस्टम बेस्ड एडप्टेस्न’अन्तर्गत ग्लोबल इन्भारमेन्ट फन्डले गरिरहेको कामलाई सार्थक बनाउने लक्ष्यका साथ चीन सकरारको तर्फबाट ती प्रणाली प्राप्त हुन लागेका हुन् । सो परियोजनाको चीन सहलगानीकर्ता हो ।

यसअघि उक्त परियोजनाले नेपालको लमजुङमा सौर्य प्रणाली जडान गर्ने कार्य गर्दै आएको थियो । सौर्य प्रणाली जडान गर्न आवश्यक जनशक्तिलाई तालिम दिने तथा प्रविधि हस्तान्तरणमा समेत चीन सरकारले नै सहयोग गर्ने छ । त्यसमा चिनियाँ पक्षले उपलब्ध गराउने तालिम र प्राविधिक सहयोगका लागि आवश्यक व्यवस्थापन र अनुगमन गर्ने काम भने जनसङ्ख्या तथा वातावरण मन्त्रालयले गर्नेछ ।

कुन स्थानमा कसरी जडान गर्ने भन्ने विषयमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै गर्ने पन्तले जानकारी दिनुभयो । चिनियाँ पक्षले रु ३० करोड बराबरको सहयोग गरेको उहाँको भनाइ छ । चीनले उपलब्ध गराएको सौर्य प्रणालीको गुणस्तरमा कुनै समस्या नहुने र त्यसको आवश्यक जाँच पड्तालसमेत गरिनेछ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा शाखाका प्रमुख महेश घिमिरेले आफूहरुले गरेकै प्रस्तावअनुसार चिनियाँ पक्षले सौर्य प्रणाली उपलब्ध गराएको जानकारी दिनुभयो । विशेष गरी भूकम्प प्रभावित क्षेत्रलाई नै केन्द्रमा राखेर ती प्रणाली वितरण गरिने जानकारी दिँदै उहाँले भूकम्पबाट घरबारविहीन भएकालाई सौर्य प्रणालीले केही न केही रुपमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन र नवीकरणीय ऊर्जाको विकासमा चिनियाँ सहयोगले उल्लेख्य काम गर्ने भन्दै उहाँले ३२ हजार घरपरिवार उक्त प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । नेपालमा सौर्य प्रणालीको क्षेत्रमा काम गर्ने चासो राख्दै आएको चिनियाँ पक्षले नेपाललाई उपलब्ध गराएको सहयोग हालसम्मकै बढी हो ।

चीन सरकारकै सहयोगमा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा समेत एक मेगावाट बराबरको सौर्य प्रणाली निटक भविष्यमा नै जडान गरिनेछ । चिनियाँ पक्षले सो सम्बन्धी एकसरो अध्ययन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री