नाकाबन्दी खुलेपनि जलविद्युत् आयोजनालाई सास्ती उस्तै

171120150856506-copy-1000x0

काठमाडौँ, १८ फागुन । सरकारले पूर्णरूपमा जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने बताएपनि मागअनुसार इन्धन उपलब्ध नभएपछि सहजरूपमा काम अगाडि बढ्न सकेको छैन । भारतको अघोषित नाकाबन्दी खुलेको एक महिना भएपनि जलविद्युत् आयोजनाले मागअनुसार इन्धन प्राप्त गर्न सकेका छैनन् । ऊर्जा मन्त्रालयले आपूर्ति मन्त्रालयलाई इन्धन उपलब्ध गराइदिन गरेको आग्रहअनुसार नेपाल आयल निगमको थानकोट डिपोले कूल मागको ५० प्रतिशत मात्रै इन्धन उपलब्ध गराउँदा निर्माणकार्य प्रभावकारी हुन सकेको छैन ।

रसुवामा आयोजनास्थल रहेका साञ्जेन, माथिल्लो सान्जेन, रसुवागढी जलविद्युत् आयोजनाले मागअनुसार इन्धन प्राप्त गर्न नसक्दा सोचेअनुसार निर्माणमा प्रगति हुन सकेको छैन । सरकारले सान्जेन र माथिल्लो सान्जेनलाई सातामा १२ हजार लिटर इन्धन उपलब्ध गराउने बताएपनि आयोजनाले लामो प्रतिक्षापछि मात्रै उक्त परिमाणमा इन्धन पाउने गरेका छन् । पूर्णरूपमा काम गर्ने हो भने प्राप्त भएको इन्धनले तीनदेखि चारदिन मात्रै पुग्ने अवस्था छ ।

नाकाबन्दीका कारण भन्सारमा रोकिएका सिमेन्ट, रडलगायतका सामग्री अझै सहजरूपमा आयोजनास्थल पुग्न सकेका छैनन् । प्राप्त भएको इन्धन सुरुङ निर्माण तथा अन्य भौतिक निर्माणको काममा प्रयोग भएको आयोजना प्रमुख गिरिराज अधिकारीले जानकारी दिए । भूकम्पपछि गत असार १९ गतेबाट निर्माण सुरु भएको माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको काम गत असोज २६ गतेदेखि ठप्प भएको थियो ।

“गत माघ २० गतेबाट सामान्यरूपमा काम सुरु गरिएको छ, इन्धन अभावका कारण लामो समय काम रोक्नुपरयो,” आयोजना प्रमुख अधिकारीले रासससँग भने  । भूकम्पपछि थोरै समय मात्र रोकिएको आयोजनाको काम इन्धन सङ्कटका कारण रोकिदा थप समस्या भयो । प्रमुख जिल्ला अधिकारीको तोकआदेशका भरमा प्राप्त हुने इन्धनले काम गर्न असहज भएको उनको भनाइ छ ।
सान्जेनका दुई वटा आयोजना निर्माणको क्रममा छन् । माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट रहेको छ भने सान्जेनको क्षमता ४२.५ मेगावाट रहेको छ । विसं २०७४ को साउन भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती दुई आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएको आयोजना प्रमुख अधिकारीले बताए ।

तीमध्ये माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ । दुई आयोजनाको कुल लागत रु सात अर्ब २४ करोड रहेको छ । इन्धन अभाव र भूकम्पका कारण लागतसमेत बढ्ने देखिएको छ । तर कति लागत बढ्छ भन्नेमा अहिल्यै यसै भन्न नसकिने आयोजना प्रमुख अधिकारी बताउंछन् ।

रसुवाको चिलिमे गाविसमा निर्माणाधीन ती दुई आयोजनामा चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको छ । हाल आयोजनाको काम लगभग पचास प्रतिशत सम्पन्न भएको छ । दुई आयोजनाको गरी कुल ५७.३ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीले नै निर्माण गरिरहेको अर्को महत्वपूर्ण आयोजना रसुवागढीको काम भूकम्पपछि ठप्प छ । कुल १११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नै निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ ।

रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोशी नदीमा बाँध बाँधी चार हजार २०० मिटर लामो हेडरेस सुरुङ र ३१३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण भइसकेको थियो ।

आयोजनाका प्रबन्ध सञ्चालक माधवप्रसाद कोइरालाले सातामा १२ हजार लिटर इन्धन पाउने भनिएपनि छ हजार लिटर मात्रै प्राप्त हुने गरेकाले हाल भूकम्पले ध्वस्त पारेको आवास, पहुँचमार्ग निर्माणको काम भइरहेको जानकारी दिए ।

यस्तै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पनि इन्धन अभावकै कारण सोचेजति प्रगति हुनसकेको छैन । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले हाल भूकम्पले ध्वस्त पारेको पशुँचमार्ग निर्माणको काम भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री