भारतसंग सम्बन्ध सुदृढीकरण ओली भ्रमणको मूल उद्देश्य

प्रधानमन्त्री केपी शर्मा ओली फाइल तस्विर । तस्बिरः रासस

प्रधानमन्त्री केपी शर्मा ओली फाइल तस्विर । तस्बिरः रासस

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक समानता र लाभका आधारमा नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन तथा आपसी समझदारी अभिवृद्धि गर्न आफू यसै साता भारतको राजकीय भ्रमणमा जान लागेको बताएका छन् ।

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा सार्वजनिक महत्वको विषयमा मन्तव्य दिँदै उनले मुलुकको राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई केन्द्रमा राखेर आपसी सम्बन्धलाई अझ सुमधुर तुल्याउन भारत भ्रमण केन्द्रित हुने स्पष्ट गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही फागुन ७ गते अपराह्नदेखि १२ गतेसम्म भारतको राजकीय भ्रमणमा जान लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको असमझदारी हटाउने तथा एक्काइसौँ शताब्दीको आवश्यकतानुरुप सम्बन्धलाई सम्पूर्ण रुपमा पारस्परिक लाभका दिशामा अघि बढाउने सन्दर्भमा आफ्नो भारत भ्रमण हुन लागेको बताए । “हामीले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय हितलाई सर्वोपरि महत्व दिँदै आएका छौँ र दुई देशबीच कुनै किसिमको असमझदारी नहोस् लामो इतिहासदेखिको घनिष्ठ सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन मेरो भ्रमण केन्द्रित हुनेछ”– प्रधानमन्त्रीले भने ।

नेपाल सदैव विश्वव्यापी रुपमा शान्ति, एकता, पारस्परिक लाभ, सम्मानका पक्षमा रहेको बताउँदै उहाँले संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलनबाट मुलुकको परराष्ट्र नीति निर्देशित भएको उल्लेख गरे । दुई देशबीचको सम्बन्धलाई समयानुसार सच्च्याउनुपर्ने विषयलाई अघि बढाइने तथा विकास निर्माण र पुनःनिर्माणका प्रयासमा सहयोग जुटाउन आफ्नो भ्रमण फलदायी हुने उनले बताए ।

भ्रमणका क्रममा आफूले उच्च राजनीतिक नेतृत्वका साथै बौद्धिक एवम् व्यापारिक समुदायसँग देशको आर्थिक विकासका निम्ति वैदेशिक लगानी आकर्षित गर्न प्रयास गरिने तथा टेहरी बाँधको निरीक्षण र भूकम्पपछि गुजरातको भुजमा गरिएको पुनःनिर्माणका कामको अवलोकन गरिने प्रधानमन्त्रीले जानकारी दिए ।
भूकम्पपछि विदेशी मुलुक र सङ्घसंस्थाबाट नेपालले पर्याप्त सहयोग पाएको र पुनःनिर्माणका लागि पनि सहायताको वचनबद्धता प्राप्त भएको सदनलाई जानकारी गराउँदै उनले पुनःनिर्माणको महाअभियान थालिएको र नयाँ ढङ्गले पुनःनिर्माण गर्नैपर्नेमा जोड दिए ।

वैशाख १२ र त्यसपछिका परकम्पका धक्काले विकास निर्माण नराम्ररी प्रभावित भएकाले सारा मुलुक पुनःनिर्माणमा जुटेको र पुनःनिर्माण प्राधिकरणले पनि योजनाबद्ध रुपमा काम गरिरहेका सन्दर्भमा बाह्य सहयोग जुटाउन भ्रमण फलदायी हुने उनको कथन थियो ।

“तीव्रगतिमा मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउन वर्तमान सरकारले चाहेको छ, शिक्षा, स्वास्थ्य, विकासका पूर्वाधार निर्माण, कृषिको व्यावसायिकीकरण, औद्योगिक उन्नयन, सेवाका क्षेत्रलाई सबल तुल्याउँदै भारतसँगको व्यापार असन्तुलन घटाउनेतर्फ हामी केन्द्रित हुनेछौँ”– भ्रमणको मूल कार्यसूची सुनाउँदै प्रधामन्त्रीले भने ।

मित्रसँग मिलेर गरिने प्रयास तथा कुनै पनि लगानीकर्तालाई अनुकूल वातावरण दिने, बिना प्रशासनिक उल्झन प्रतिफल पाउने गरी लगानीकर्तालाई आकर्षित गर्ने आफ्नो मनसुवा सुनाउँदै उनले भारतसँग मित्रतापूर्ण सम्बन्ध अघि बढाउन चाहेको तथा विगतमा भएका अप्रिय विषयलाई चिर्दै नयाँ ढङ्गले सम्बन्ध अघि बढाउनु नै आफ्नो भ्रमणको प्रमुख उद्देश्य भएको बताए ।

संविधान निर्माण र जारी गर्ने प्रक्रियासँगै केही कठिनाइ उत्पन्न भएको र दलबीचको असमझदारी हटाउनका लागि वर्तमान सरकार लागिपरेको छ भन्दै उनले अबको लक्ष्य लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि नै भएको बताए ।

सीमाङ्कन विषयमा राजनीतिक समिति बन्ने

नेपालको राष्ट्रिय हित प्रवद्र्धन, नेपाल–भारत मैत्रीलाई अझ सुदृढ बनाउन समझदारी विकास गर्न तथा अपेक्षित उपलब्धि हासिल गर्न भ्रमण सफल हुने विश्वास उहाँले व्यक्त गर्नुुभयो । बाह्य सम्बन्ध सुदृढ गर्न सरकार लागिपरेको जानकारी दिँदै उनले समग्रमा आफ्नो भारत भ्रमण सकारात्मक, फलदायी एवम् नेपालको हितमा हुने विश्वास व्यक्त गरे ।

भारत भ्रमणअघि नै सीमाङ्कन लगायत विषयमा सिफारिस गर्न राजनीतिक समिति निर्माण गरिने जानकारी दिँदै प्रधानमन्त्रीले सहमतिका आधारमा तीन महिनाको अवधिमा नमिलेका विषय मिल्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने– “संविधान अपरिवर्तनीय होइन, तथ्यका आधारमा संशोधन गर्नुपर्ने हुन्छ, हामीबीच खासै समस्या छैन, नेपालको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ, विकास निर्माणका निम्ति राष्ट्रिय एकताको प्रयास भएको छ र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि सघन छलफल हुन्छ” उनको कथन थियो ।

संविधान जारी भएसँगै जनताका सङ्घर्षका प्रतिफल संस्थागत भएका, विकासनिर्माणका काम अघि बढाउने मार्गप्रशस्त भएको र सामाजिक न्यायका क्षेत्रमा उपलब्धि हासिल भएको उल्लेख गर्दै राष्ट्रलाई समृद्धिको बाटामा अघि बढाउने महायज्ञमा सबै नेपाली एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुक सम्मिलित दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष फुटबल खेलाडीले प्रथम स्थान हासिल गरेर मुलुकको गौरव र प्रतिष्ठा बढाएकामा सम्पूर्ण खेलाडी एवम् प्रशिक्षकप्रति बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले महिलातर्फको फुटबलमा पनि दोस्रो स्थान हासिल गरेकामा सबै खेलाडीमा हार्दिक बधाई ज्ञापन गरे ।
साथै उनले सागमा पदक जित्ने अन्य खेलाडीमा पनि बधाई दिए । बैठकमा गृहमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले तराई–मधेसमा कुनै किसिमको दमन नभएको स्पष्ट गर्दै सरकार मानवअधिकार रक्षाका निम्ति पूर्ण प्रतिबद्ध रहेको बताए ।

मधेसवादी दलले बारा र महोत्तरीमा आन्दोलनकारीमाथि यातना, दमन र धरपकड गरेको आरोप लगाएपछि सरकारले त्यस्ता गतिविधि नभएको उनले स्पष्ट गर्नुभएको हो । मुद्दा फिर्ता, घाइतेको उपचार लगायत राज्यले वाचा गरेको प्रतिबद्धता पूरा भइरहेको उनले बताए । व्यवस्थापिका–संसद्को अर्को बैठक यही फागुन ५ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री