काठमाडौँ, ३ फागुन । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा मङ्गलबारदेखि ८० मेगावाट विद्युत् थप हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगम लिमिटेड(एनभिभिएन)बीच आज भएको द्विपक्षीय सम्झौतापछि प्राधिकरणको प्रसारण लाइनमा विद्युत् थप हुन लागेको हो ।
ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभिभिएनका महाप्रबन्धक ए के मग्गुबीच विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको हो ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् आयात गर्न लागिएको हो । भारत सरकारको ऊर्जा व्यापारसम्बन्धी संस्था एनभिभिएनले प्रतियुनिट भारतीय रुपैयाँ ३.४४ पैसा (रु ५.५० पैसा) र प्रसारण लाइन प्रयोग, चुहावट शुल्क रु १.५३ पैसा गरी रु ७.०३४ पैसामा विद्युत् उपलब्ध हुनेछ ।
गत माघ १५ गते यहाँ सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयन्त्रको दोस्रो बैठकको निर्णयअनुसार नै नेपालले थप विद्युत् आयात गर्न लागेको हो । प्राधिकरण र एनभिभिएनका उच्च अधिकारीबीच आइतबार र आज भएको द्विपक्षीय छलफलपछि विगतमा आयात भएको भन्दा सस्तो दरमा विद्युत् उपलब्ध हुन लागेको हो ।
पावर ट्रान्समिसन कम्पनीले अन्तरदेशीय प्रसारण लाइनको निर्माण यही फागुन १ गते सम्पन्न गरेपछि भारतबाट थप विद्यत् आयात गर्न सहज भएको हो । ढल्केबरमा रहेको प्राधिकरणको क्षमता कम भएका कारण तत्काल थप विद्युत् आयात गर्न नसकिएको हो ।
अन्तरदेशीय प्रसारण लाइनको क्षमता ४४० केभीको भए पनि सवस्टेसनको क्षमता १३२ केभीको मात्रै भएकाले तत्काल ८० मेगावाट मात्रै विद्युत् आयात गर्न लागिएको हो ।
पावर ट्रान्समिसन कम्पनीले गत माघ २७ गते नै सार्वजनिक सूचना प्रकाशित गरी नेपाल खण्डको प्रसारण लाइन आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको थियो । विद्युत् आयातका लागि ढल्केबरमा १०० एमभीए क्षमताको ट्रान्समिटर जडान गरिएको छ ।
यसअघि भारतको पिटिसि इन्डियाबाट विद्युत् खरिद गर्ने सहमति भएको थियो तर पछिल्लो पटक भारतीय पक्षले सो कम्पनीबाट नभई एनभिभिएनबाट विद्युत् खरिद गर्न आग्रह गरेको थियो ।
द्विपक्षीय हस्ताक्षरपछि ऊर्जा सचिव शर्माले मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “लामो प्रयासपछि हामीले अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् आयात गर्न सफल भएका छौँ । आगामी दिनमा थप विद्युत् निर्यात गर्न पनि सोही मार्ग प्रयोग गर्न सकिन्छ”, उनले भने । आगामी डेढ वर्षभित्र भारतबाट थप २०० मेगावाट ल्याउन पनि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सहायक सिद्ध हुने उनको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले नेपाल र भारतबीच २०७१ कात्तिक ४ गते भएको विद्युत् व्यापार सम्झौताका आधारमा नै विद्युत् आयात गरिएको जानकारी दिए ।
भारतबाट थप हुने विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएपछि के कति घन्टा विद्युत् भार कटौती घटाउन सकिन्छ भनेर सार्वजनिक गरिने भएको छ । सामान्यतया ८० मेगावाट थप हुँदा डेढ घन्टा विद्युत् भार कटौती कम हुन सक्छ ।
प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीका अनुसार हाल विद्युत्को दैनिक माग एक हजार ३२५ मेगावाट रहेको छ । कुलेखानी र अन्य नदी प्रवाहमा आधारित आयोजनाबाट ३०० मेगावाट तथा भारतबाट २३५ मेगावाट विद्युत् प्रवाहित भइरहेको छ । केन्द्रीय प्रणालीमा ७८५ मेगावाट विद्युत् अपुग हुँदै आएको छ ।
एभिभिएनका महाप्रबन्धक मग्गुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको सहमतिअनुसार नै आफूले बजारमूल्यका आधारमा विद्युत् उपलब्ध गराएको बताए । हाल भएको द्विपक्षीय सहमति २०७३ असार १६ गतेसम्म मात्रै कायम हुनेछ । “प्राधिकरणको चाहना र बजारले निर्धारण गर्ने अवस्थालाई आधार मानेर थप विद्युत् उपलब्ध गराइने छ” – मग्गुले भने ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?