नयाँँ दिल्ली, २५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तरी भारतीय राज्य पञ्जावको पठानकोटमा अवस्थित पठानकोट हवाई सैन्य शिविरको भ्रमण गर्नुहुने भएको छ ।
प्रधानमन्त्री मोदीले गत हप्ता त्यहाँ भएको आतङ्ककारी हमलाबाट दिवंगत सैनिकलाई श्रद्धान्जली अर्पण गर्न त्यहाँ जान लाग्नुभएको बताइएको छ ।
प्रधानमन्त्री मोदी शनिबार अपरान्ह त्यहाँ पुग्नुहुने कार्यक्रम रहेको भारतीय सैनिक स्रोतले जनाएको हो ।
उक्त सैन्य शिविरमा गत हप्ता पृथकताबादी सशस्त्र बिद्रोहीले आक्रमण गर्दा भएको युद्धमा परी सात जना सैनिकको मृत्यु भएको थियो ।
प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गरी शिविर वरपरको सम्पूर्ण क्षेत्रभरी सुरक्षा ब्यबस्था कडा पारिएको पञ्जाब राज्यको प्रान्तीय राजधानी चन्डिगढका अधिकारीहरुले जनाएका छन् ।
सशस्त्र बिद्रोहीको निशानामा परेको सो पठानकोट सैन्य शिविर पाकिस्तानी सीमाभन्दा करिब ३० किलोमिटर मात्र टाढा पर्दछ । उक्त आक्रमणमा सबैजसो बिद्रोही मारिएका थिए ।
पाकिस्तानलाई आधारभूमि बनाएर आतङ्कबादी गतिबिधि सञ्चालन गर्दै आएको सशस्त्र बिद्रोही समूह जयस ए मुहम्मद ले उक्त आक्रमण गरेको दावीगर्दै भारतले सो आक्रमणकारी समूहलाई सख्त कारबाही गर्न पाकिस्तानसँँग मागगर्दै आएको छ ।
त्यस आतङ्कवादी संस्थाले यसअघि पनि भारतका अरु स्थानमा आक्रमण गर्ने गरेको प्रहरीको भनाई छ ।