एनआरएन देखिएजस्तो बलियो छैन्ः शेष घले

12440525_1164513243576811_7764234363096828633_o

कार्यक्रममा बायांबाट क्रमशः कार्यवहाक राजदूत क्षेत्री, अध्यक्ष घले र श्रीमति जमुना घले । तस्विरः मिलन तमु

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेले आफ्नो संस्था बाहिर देखिएजस्तो बलियो नभएको बताएका छन् । उनले नयां भिजन र रोडम्यापका साथ अगाडि नबढ्ने हो भने संघ भविष्यमा गौरव गर्न लायक संस्था नहुने समेत दावी गरे । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले सोमबार सांझ अल्डरसटस्थित किङस् सेन्टरमा एनआरएन भवन निर्माण सहयोगार्थ गरेको कोष अभिवृद्धि कार्यक्रममा घलेले उक्त धारणा व्यक्त गरेका हुन् । ‘तपाईंहरुले बाहिरबाट जति बलियो देख्नुहुन्छ वास्तवमा यो संस्था त्यति नै बढि कमजोर छ’, घलेले भने, ‘अबको २०, ३० वर्षमा नेपालको सामाजिक, आर्थिक क्षेत्रमा योगदान दिन सक्ने गौरवपूर्ण संस्था बन्न अहिलेदेखि नै एक्सन प्लान, रोडम्याप र न्यू भिजन बनाउन आवश्यक छ ।’

कुनै पनि संस्था वा कम्पनी एउटै हिसावले १२, १४ वर्ष भन्दा अगाडि जान नसक्ने जनाउंदै घलेले बलियो र देशको विकास साझेदार बन्न सक्ने गरि अगाडि बढ्न आवश्यक रहेको औंल्याए । संघको काठमाण्डौंमा आफ्नै भवन निर्माण संस्थाको क्षमता विस्तारकै लागि भएको उनले जनाए । ‘भवन निर्माणका लागि रकम संकलन गर्ने क्रममा डेढ वर्षअघि धेरै साथीहरुले घर बनाउनु पनि के इनोभेटिभ आइडिया हो र भने । नेताजीहरुले तपाईंको अफिस त झोलामै हो भनेर प्रश्न गरे । कोही पत्रकारले एउटा अफिस पनि बनाउन नसक्ने एनआरएनहरु त सुकुम्वासी हुन् भने’, घलेले थपे, ‘भवन निर्माण त्यस हिसावले पनि महत्वपूर्ण भयो ।’

मन्तव्यका क्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले एनआरएनले गर्ने थ्रुपै कार्यमा सहकार्य गर्न दूतावास तयार रहेको जनाउंदै नेपालको कला संस्कृति, विकास र लगानीमा एनआरएनसंगै हात मिलाएर अगाडि बढ्न जरुरी रहेको औंल्याए । क्षेत्रीले देश अहिले अप्ठेरो मोडमा रहेको चर्चा गर्दै देशको प्रधान शत्रु गरिवी र अशिक्षा रहेको जनाए । देशमा आर्थिक, सामाजिक क्रान्ति ल्याउन विदेश बस्ने नेपालीले सघाउन सक्ने उल्लेख गर्दै क्षेत्रीले विशेषगरि भूकम्पपछि र नाकाबन्दीका बेला एनआरएनले मातृभूमिप्रति धेरै सहयोग गरेकामा नेपाल सरकारबाट धन्यवाद दिएका थिए ।

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव विजयविक्रम लिङ्देनले सञ्चालन गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष हिराधन राईले हेल्थ एण्ड सेफ्टीबारे र महिला उपाध्यक्ष शान्ति थापा कुंवरले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र विशेष अतिथी एनआरएनए आइसीसी अध्यक्ष घलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा आइसीसी संरक्षक दिल गुरुङ, आइसीसी सल्लाहकार तथा विधान संयोजक डा. हेमराज शर्मा, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, पिजी शेर्पा, आइसीसी सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए युरोप संयोजक कुल आचार्य, अमेरिका संयोजक सोनम लामा, एनआरएनए युरोप उपसंयोजक प्रेम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, डमर घले र महेन्द्र कंडेल, डेनमार्कबाट आइसीसी सदस्य सोम सापकोटा, यूकेबाट आइसीसी सदस्य कृष्ण तिमिल्सिना, नेपालबाट आएका युवा नेता सिजन 
गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

घले र क्षेत्रीसहितका अतिथीलाई प्रवेशद्वार छिर्ने बित्तिकै पाइपर धुन र पञ्चकन्याको पुष्पपुच्छाले स्वागत गरिएको थियो । घलेले एकतर्फी हिसावले सदस्यहरु मनोनयन गरेपछि आइसीसी केन्द्रभित्रै आलोचित भइरहंदा घलेको सम्मानलाई कतिपयले लोकप्रियताकै लागि नियोजित गरिएको ठानेका थिए ।

कार्यक्रम संयोजन एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामीले गरेका हुन् । उक्त अवसरमा स्नेहा श्रेष्ठले गाएको एनआरएन गीत, विभिन्न कलाकारहरुको नृत्य तथा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

एनआरएनए यूकेले भवन निर्माणका लागि बेलायतबाट एक करोड रुपैयां पठाउने लक्ष्य राखेर रकम संकलन गरिरहेको छ । यही प्रयोजनका लागि हालसम्म संघले आइसीसीमा ३७ लाख, १५ हजार ८ सय रुपैयां पठाइसकेको छ ।

10636890_1164514060243396_6570689665443795972_o

 

12401795_1164514080243394_4637749008766322215_o

 

12419188_1164516090243193_5164547592690214432_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री