ब्रम्हायणी मन्दिरमा हजारौँको भीड

नवदुर्गाका अवसरमा भद्रकाली मन्दिर परिसरमा जीउमा तयार पारेको जमरा र टीका भक्तजनलाई लगाउँदै माता शान्ति श्रेष्ठ । तस्बिर ः रत्न श्रेष्ठ, रासस

नवदुर्गाका अवसरमा भद्रकाली मन्दिर परिसरमा जीउमा तयार पारेको जमरा र टीका भक्तजनलाई लगाउँदै माता शान्ति श्रेष्ठ । तस्बिर ः रत्न श्रेष्ठ, रासस

भक्तपुर, ५ कात्तिक । विजयादशमीको दिन आज भक्तपुर–१ च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय् अर्थात् राँगोलाई नवदुर्गा मन्दिरबाट जाँड खुवाई मत्ताएर लखेट्दै ब्रम्हायणी मन्दिर पुरयाएर बध गरेपछि रातिदेखि नै यो मेला सुरु हुने गर्दछ ।

बुधबारदेखि व्रत बसेका बिहान ३ बजेदेखि नै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास रहेको छ ।

महिषासुर दैत्यको प्रतीक खःमेय् जात्रा सम्पन्न 

विजयादशमीको अवसरमा दशमीको अघिल्लो दिन साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राङ्गो जात्रा गएराति सम्पन्न भएको छ ।

धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राङ्गोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई राति बध गरी मनाइने परम्परा रहिआएको छ ।

महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरुपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ रहेको छ ।

तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा खःमेय् अर्थात् महिषासुर दैत्यको प्रतीक राङ्गोको बध गरिएको हो । बध गरिएको खःमेय् राङ्गोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो ।

सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्युमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीवास हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री